गृहपृष्ठ नेपालकै उत्कृष्ट तरकारी बिऊ उत्पादन रुकुममा
नेपालकै उत्कृष्ट तरकारी बिऊ उत्पादन रुकुममा
कर्णाली प्रदेश कृषीको क्षेत्रमा अब्बल छ । स्वास्थ्यका हिसाबले एकदमै प्रभाबकारी हुने कोदो, फापर, ओखर, आलु, मार्सी धानलगायतका थुप्रै अन्न तथा तरकारी उत्पादन कर्णालीमै हुन्छन् । कर्णाली प्रदेश सरकारले समेत प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । यसको गतिलो उदाहरण रुकुम पश्चिम जिल्लाको तरकारी मूल बिऊ उत्पादन केन्द्र हो ।
तरकारी बिऊ उत्पादन केन्द्र चोपा रुकुम पश्चिमले नेपालकै उत्कृष्ट मूल तरकारी बिऊ उत्पादन गर्दै आएको छ । नेपाल सरकार कृषी तथा पशुपंक्षी विकास मन्त्रालय कृषी बिभाग राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्र मातहतको तरकारी बिऊ उत्पादन केन्द्र चोपाले १ सय १७ रोपनी जग्गामा बिऊ उत्पादन गर्दै आएको छ । वि.स २०३५ सालमा स्थापना भएको उक्त केन्द्रले वर्षमा १७ लाख बराबरको बिऊ उत्पादन गर्दै आएको कार्यालयका प्रमुख रबिन्द्र चौबेले बताए ।
केन्द्रले वर्षमा लाखौको राजश्व तरकारीको मुल बिऊ उत्पादन गरेरै संकलन गर्ने गरेको उनले बताए । उनले भने ‘हामीले वर्षमा १७ लाखभन्दा बढीको तरकारी बिऊ उत्पादन गरी बिक्री गर्ने गर्दछौ । त्यो बिभिन्न तरकारी बिऊ उत्पादन गर्ने कृषक समुह, सहकारीलाई दिने गर्दछौ ।’ स्थानिय काठमाडौं जातको काउली, मिनाअर्ली जातको मुला, रायो, प्याज, केराऊ, सिमी, चम्सुर, सलगम, धनियाँ लगायतका तरकारीको बिऊ केन्द्रले उत्पादन गर्दै आएको प्रमुख चौबेले बताए ।
वर्षमा दुईदेखि साढे दुई मेट्रिक टन तरकारीको बिऊ उत्पादन गर्ने गरे पनि अझै बजार धान्न नसकेको उनको भनाई छ । ‘साबिकको राप्ती अञ्चलबाहेक सुर्खेत, जाजरकोट, गुल्मी, अर्घाखाँची, चितवन, काठमाडौंसम्म पनि तरकारीको बिऊ वितरण गर्ने गरेका छौं’, चौबेले थपे, ‘बजार धान्न सकेका छैनौ । माग बढी छ तर उत्पादन पर्याप्त छैन ।’
कर्णाली प्रदेश सरकारले कर्णालीलाई अर्गानिक कृषी क्षेत्रका रुपमा विकास गर्ने परिकल्पना गरेको बेलामा यो केन्द्र खम्बाको रुपमा रहन सक्ने प्रमुख चौबेको भनाई छ । संघ सरकारको मातहतमा रहेको कार्यालय प्रदेश सरकारमा हस्तान्तरण भए अझै काम गर्न सहज हुने उनको भनाई छ । आफूहरुलाई संघ सरकारले नहेरेको र गराहरु साना भएका कारण कृषिमा प्रविधि प्रयोग गर्न नसकेको प्रमुख चौबेले बताए ।
हामीलाई प्रदेशमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउनुस्
तरकारी बिऊ उत्पादन केन्द्र रुकुम परिश्चमको कर्णाली प्रदेश सरकारकी प्रवक्ता तथा भुमी, कृषी व्यवस्था तथा सहकारी मन्त्री बिमला केसीले अवलोकन गरेकी छन् । मन्त्रीको अवलोकनका क्रममा कार्यालयका कर्मचारीहरुले नेपालमै उत्कृष्ट तरकारी बिऊ उत्पादन गर्ने गरेको भएपनि संघले बेवास्ता गरेकोले कार्यालयलाई प्रदेशकै मातहतमा राख्न पहल गर्न व्यवस्था मिलाउन आग्रह गरे ।
अवलोकनका क्रममा मन्त्री केसीले कर्णाली सरकारले चाहेअनुसारको अर्गानिक प्रदेश बनाउने कुरामा बिऊ उत्पादन केन्द्र रुकुमले सहयोग गर्नु पर्ने बताईन् । उनले भनिन्, ‘तपाईहरुलाई चाहिएको सहयोग गर्न कर्णाली प्रदेश सरकार तयार छ । अब कर्णालीले प्रदेशलाई चाहिने तरकारीको बिऊ आंफै उत्पादन गर्नुपर्दछ ।’
प्रकाशित समय १६:५५ बजे

















