गृहपृष्ठ असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन
असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन
बर्दियामा विशेष कार्यक्रम
आज असार १५ । नेपाली समाजमा एउटा भनाइ छ– असारको १५ दही चिउरा खानू, साउने १५ खिर । आज दही चिउरा खाएर घरघरमा असार १५ मनाइँदैछ ।
यही पर्वको अवसर पारेर सरकारले असार १५ लाई २०६२ सालमा राष्ट्रिय धान दिवस घोषणा गरेको छ । त्यसयता हरेक वर्ष धान दिवस मनाइँदै आएको छ । आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरी मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएको ज्यानलाई दही चिउराले शक्ति र शीतलता प्रदान गर्ने जनविश्वास छ । कृषिबाहेक अन्य पेसा व्यवसाय भएकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउने गर्छन् ।
‘धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आज १६औं राष्ट्रिय धान दिवस मनाइँदै छ । यो वर्षको धान दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८ बर्दियामा आयोजना गरिएको छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङलगायत सांसदहरूको टोली बर्दिया पुगिसकेको छ ।
धान दिवसका अवसरमा पोखरामा पनि विशेष रोपाइँ महोत्सव आयोजना हुने गर्छ । महोत्सवमा विदेशी पर्यटकसमेतको ठूलो संख्यामा सहभागिता रहने गरेको छ ।
सरकारले हरेक वर्ष धुमधामका साथ धान दिवस मनाइरहे पनि उत्पादन वृद्धिको ठोस योजना भने अघि सार्न सकेको छैन । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को तथ्यांकअनुसार सन् २०१८ मा ५३ लाख ४० हजार टन धान उत्पादन भएको थियो । यो वर्ष धान उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । तर, युवाशक्तिको विदेश पलायनका बीच सिँचाइ र मलको अभावमा हरेक वर्ष सोचेजस्तो उत्पादन वृद्धि हुन सकेको छैन ।
कृषकहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । यो वर्ष असार १५ सम्म ११.६४ प्रतिशत पनि धान रोपाइँ नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष यो अविधमा १५.०९ प्रतिशत धान रोपाइँ भएको थियो ।
प्रकाशित समय ०७:२४ बजे

















