गृहपृष्ठ सरकार धान दिवस मनाउँदै, किसान आकाशको पानी कुर्दै

सरकार धान दिवस मनाउँदै, किसान आकाशको पानी कुर्दै

कृषक भन्छन्- न सिँचाइको प्रबन्ध छ न त मलको नै, यो तामझामले हामी किसानको आँखामा रमाइलो भए पनि मन पोलेको छ ।

करिब पाँचवटा खेतका गरा रोपाइँका लागि तयार पारिएको थियो । वरिपरिका खेतहरुमा भने बुकी उम्रिएको थियो । तामझामका साथ कर्णाली प्रदेश सरकारकोे उपस्थिति देख्दा लाग्थ्यो, कसैको लगन गाँठो कसिँदैछ ।

टेन्ट, बाजागाजा र सनैको धुन, अनी लस्कर सवारी साधन । सरकारका मन्त्रीहरु तथा राजनितीक दलका नेता र कर्मचारी अथितिको रुपमा फूलमालामा सजिएर मञ्चमा आसन गरेको दृश्य, खेतका आलीबाट किसान भने पुर्पुरोमा हात राखेर अवलोकन गरिरहेका थिए ।

सरकारका लागि असार १५ धान दिवस अनि दही चिउरा खाने दिन । तर, किसानका लागि असार १५ मानो रोपेर मुरी उब्जाउने दिन । आकाशे पानीको भरमा बसेका किसानको मुहारमा रत्ति पनि खुसी देखिँदैनथ्यो । यो दृश्यात्मक वर्णन हो– वीरेन्द्रनगर-१० मनिकापुरमा मनाइएको धान दिवसको । भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयको आयोजनामा मनिकापुरमा १६औं धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको थियो ।

अघिल्लो वर्ष पनि यसैगरी असार १५ गतेलाई उत्सवका रुपमा मनाउँदै आएको सरकारले किसानका लागि भने केही गर्न नसकेको गुनासो ४२ वर्षीय ज्ञानबहादुर चौधरीले गरे । ‘अहिले जेनतेन बीउ राखेका छौं,’ उनले भने, ‘न सिँचाइको प्रबन्ध छ न त मलको नै, यो तामझामले हामी किसानको आँखामा रमाइलो भए पनि मन पोलेको छ ।’ कहिले आकाशको पानी आउला र रोपाइँ गरौंला भन्दा-भन्दै असार जानै लागेको गुनासो चौधरीले गरे ।

५५ वर्षीय धनसरा बुढाले समेत उस्तै दुखेसो गरिन् । ‘धान रोप्नका लागि सिँचाइको प्रबन्ध छैन,’ उनले भनिन्, ‘एउटा मोटर सहकारीले दिएको छ । त्यसको पालो कुर्ने बेलासम्म साउनमा पनि रोपाइँ हुन्न कि भन्ने चिन्ता छ । मोटरकै लागि किसान–किसानबीच हानाहानको स्थिति आएको छ ।’

सुर्खेतमा राम्रो सिँचाइको प्रबन्ध नहुँदा आकाशे पानीको भर पर्नुपरेको बुढाले बताइन् । ‘सरकार दिवस मनाउनमै व्यस्त छ,’ उनले थपिन्, ‘किसानको पीडा कसले बुझ्छ र ? आकाशबाट पानी नपर्दा राखेको बीउ पनि सुक्न लागिसक्यो ।’ उनीहरु त प्रतिनिधि पात्रमात्रै हुन् । कर्णाली प्रदेशका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

कर्णाली प्रदेशमा सिँचाइको अभावमा हालसम्म ३३ प्रतिशतमात्रै धान रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले बताए । जसमध्ये सुर्खेतमा ७ प्रतिशतमात्रै रोपाइँ भएको उनले जानकारी दिए । त्यस्तै सल्यानमा ५० प्रतिशत, रुकुम पश्चिममा २५ प्रतिशत, दैलेखमा १९ प्रतिशत र जाजरकोटमा ८० प्रतिशत रोपाइँ भएको छ । हिमाली जिल्लाहरु मुगुमा ४० प्रतिशत, जुम्लामा ९२ प्रतिशत, हुम्लामा ९५ प्रतिशत, डोल्पामा ९४ प्रतिशत र कालीकोटमा ७२ प्रतिशत रोपाइँ भएको उनले जानकारी दिए ।

कर्णाली प्रदेशको कुल क्षेत्रफल २५ लाख २५ हजार २ सय ७५ हेक्टरमध्ये खेतीयोग्य जमिन २ लाख ९९ हजार ३ सय ३९ हेक्टरमात्रै छ । जुन कुल क्षेत्रफलको ११.८५ प्रतिशत हो । कुल खेतीयोग्य जमिनको ७२.४५ प्रतिशत अर्थात् २ लाख १६ हजार ८८० हेक्टर जमिनमा खेती गरिँदै आएको छ । खेती गरिएको जमिनमध्ये ६५ हजार ३३५ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा छ ।

प्रकाशित समय २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु