गृहपृष्ठ कफी सर्वेक्षण : गुल्मी होइन, काभ्रे र स्याङ्जामा बढी उत्पादन
कफी सर्वेक्षण : गुल्मी होइन, काभ्रे र स्याङ्जामा बढी उत्पादन
नेपालमा कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी भनिरहँदा काभ्रे र स्याङ्जामा धेरै कफी उत्पादन हुने गरेको अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले नेपालमा व्यावसायिक कफीखेती सर्वेक्षण २०७५/७६ को शुक्रबार पोखरामा नतिजा सार्वजनिक गर्दै काभ्रे, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका जिल्लामा बढी कफी उत्पादन हुने गरेको जानकारी गराएको हो ।
प्रदेश १, ३, ५ र गण्डकी प्रदेशमा बढी कफी उत्पादन हुने गरेको तथ्यांक विभागका निर्देशक डा. महेशकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै काभ्रेमा १०४.३ हेक्टरमा कफीखेती हुने गरिएको छ । त्यसैगरी ललितपुरमा ९६.३ हेक्टर र स्याङ्जामा ९४.१ हेक्टरमा कफीखेती गरिन्छ । गत वर्ष काभ्रेमा २२१ टन, स्याङ्जामा १५८ टन र सिन्धुपाल्चोकमा १४१ टन कफी उत्पादन भएको छ । काभ्रेमा ९४३ जना, सिन्धुपाल्चोकमा ७५३ जना र स्याङ्जामा ७०८ जना कृषकले व्यावसायिक कफीखेती गरिरहेको निर्देशक डा. सुवेदीले जानकारी दिए ।
विभागले २०७४ सालको कफीखेतीसँग सम्बन्धित आर्थिक क्रियाकलापका आधारमा नमुना छनौट विधि प्रयोग गरी सर्वेक्षण गरेको हो । नेपालका ३२ जिल्लामा व्यावसायिक कफीखेती हुने गरेको विभागले जनाएको छ । ८ सय मिटरदेखि १६ सय मिटर उचाइमा नेपालका मध्यपहाडी जिल्लामा कफीखेती गर्न सकिन्छ ।
सर्वेक्षणअनुसार व्यावसायिक कफीखेती गर्ने कृषक/व्यवसायीमध्ये १६ प्रतिशतले १ रोपनीभन्दा कममा कफीखेती गरेका छन् । त्यस्तै, ७१ प्रतिशतले १ देखि ५ रोपनीमा, ९ प्रतिशतले ५ देखि १० रोपनीमा र ४ प्रतिशतले १० रोपनी वा सोभन्दा बढी क्षेत्रफलमा कफीखेती गरेको पाइएको छ । नेपालमा ९६ प्रतिशत प्रांगारिक पद्धतिमा कफीखेती भइरहेको पाइएको छ । त्यस्तै, ९ प्रतिशत कृषकले फार्म प्रमाणीकरण, ३४ प्रतिशतले सहकारी/कम्पनी प्रमाणीकरण र ५७ प्रतिशतले प्रमाणीकरण नै नगरी कफीखेती गर्दै आएको विभागले जनाएको छ ।
मध्यपहाडी भेगका गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोरखा, स्याङ्जालगायत ३२ जिल्लामा व्यावसायिक कफीखेती गरिएको छ । मुख्यतः अरविका वर्णको टिपिका र वर्वन जातका कफीको खेती भइरहेको विभागको अध्ययनले देखाएको छ ।
देशभरका ३२ जिल्लामा ६ हजार ३४६ कृषक/व्यवसायीले व्यावसायिक कफीखेती गरेका छन् भने देशभर ९७३ हेक्टरमा कफीखेती गरिएको छ । २०७४ सालमा १५७३.६ टन कफी (फ्रेस चेरी) उत्पादन भएको विभागका निर्देशक डा. सुवेदीले जानकारी दिए । व्यावसायिक कफीखेतीमा १३ हजार ८७९ जना आबद्ध भएका छन् भने जसमध्ये ६ हजार ७११ पुरुष र ७ हजार १६९ जना महिला छन् । कास्कीमा ९८५ जनाले कफीखेती गर्ने गरेका छन् । व्यावसायिक कफीखेती सर्वेक्षणले तलब ज्याला लिने (स्थायी कामदार) जम्मा ११३ जना रहेको देखाएको छ ।
व्यावसायिक कफीखेतीबाट कृषकले करिब चार गुणा अर्थात् ५ करोड लगानीबाट २० करोडसम्म आम्दानी गरेको पाइएको छ । कृषकले उत्पादन गरेको कफी बजारसम्म पुग्दा करिब ५० करोडको कारोबार हुने गर्छ । कास्कीमा मात्र फ्रेस चेरी बिक्रीबाट १ करोड २३ लाख ९९ हजार भित्रिएको छ ।
कफीखेतीसँग एकीकृत रुपमा लगाइएका अन्य बालीबाट कृषकले ४ करोड ५५ लाख ४ हजार आम्दानी गरेका छन् । छहारी बोटबाट २ करोड ९४ लाख २९ हजार तथा घुसुवा बालीबाट १ करोड ६० लाख ७५ हजार आम्दानी भएको विभागले जनाएको छ । काभ्रेका कृषकले कफीखेतीसँग एकीकृत रुपमा लगाइएको छाहारी बोटबाट १७ लाख ९९ हजार तथा घुसुवा बालीबाट ८ लाख ५ हजार आम्दानी गरेका छन् ।
व्यावसायिक कफीखेतीमा १ करोड ४६ लाख १३ हजार खर्च भएको देखिन्छ । बिरुवा खरिदमा २५ लाख ६३ हजार, मल खरिदमा २८ लाख ७२ हजार र अन्य खर्च ९१ लाख ७७ हजार भएको विभागले जनाएको छ । त्यस्तै, तलब ज्यालामा २ करोड ७९ लाख ३७ हजार खर्च गरिएको छ । कफीखेतीमा आबद्ध भएकामध्ये २.८ प्रतिशतले ऋण लिएको पाइएको छ । त्यस्तै, ११ प्रतिशतको मुख्य आयस्रोत नै कफीखेती छ ।
नेपालमा जम्मा ५५ वटा कफी नर्सरी रहेको सर्वेक्षणले देखाएको छ । कफी नर्सरीबाट २०७४ सालमा ७ लाख २० हजार ११० बिरुवा उत्पादन तथा ३ लाख ९८ हजार ५ सय बिरुवा बिक्री भएको छ । नर्सरीका लागि कृषकले १५ लाख रुपैयाँ खर्च गरेका छन् ।
कफीखेतीका लागि कृषकको सुझाव
सर्वेक्षणमा कफीखेती गर्ने कृषक/व्यवसायीले कफीखेती प्रवर्धनका लागि सरकारलाई विभिन्न सुझाव दिएका छन् । सरकारले गुणस्तरीय प्राविधिक सेवा, सिँचाइ, व्यवसाय प्रवर्धनका लागि तालिम तथा अध्ययन भ्रमण, उत्पादित कफीको सहज बजार, अनुदान तथा सहयोग, सहज तथा सहुलियतपूर्ण ऋण, बीउ, बिरुवा, मल, छहारी बोट, गुणस्तरीय औषधी, आधुनिक मेसिन तथा औजार, उचित मूल्य र बिमाको व्यवस्था गरिदिनुपर्ने सुझाव कृषकले दिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
‘कफीमा बढी सम्भावना’
पहाडी क्षेत्रमा धन, मकै, कोदोलगायतका बालीभन्दा कफीखेतीबाट दोब्बर तथा तेब्बर नाफा लिन सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक चन्द्र पुरीले बताए । त्यस्तै, जिल्ला कफी संघ कास्कीका अध्यक्ष विन्दुचन्द्र बरालले कास्कीमा कफीखेतीतर्फ कृषक विस्तारै आकर्षित हुन थालेको जानकारी गराए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बराल, कृषि निर्देशनालयका महानिर्देशक डा. शान्ता कार्की, विभागका अधिकृत निराजन शर्मा, तथ्यांक कार्यालय पोखराका निमित्त प्रमुख शिवराज बराललगायतले नेपालको पहाडी क्षेत्रमा उत्पादित कफी गुणस्तरीय भएकाले बजारको कुनै अभाव नहुने विश्वास व्यक्त गरे ।
व्यावसायिक कफीखेती सर्वेक्षण २०७५ ले व्यावसायिक कफीखेती भन्नाले कृषक/व्यवसायीले अर्थोपार्जनका उद्देश्यले बगैंचाको रूपमा वा छरिएर रहेका कम्तीमा ५० बोट (फलदिने वा फल नदिने) कफीका बोटबिरुवा लगाई उत्पादन गरी बिक्री गर्ने गरी सञ्चालित कृषि कार्यलाई जनाएको छ ।
प्रकाशित समय ०७:१८ बजे

















