गृहपृष्ठ नेपाली कफीको अन्तर्राष्ट्रिय बजार

नेपाली कफीको अन्तर्राष्ट्रिय बजार

coffee-newskarobar

बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्षअघि १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी संघका कोषाध्यक्ष पुष्करनाथ बञ्जाडेले बताए ।

विश्वमै उत्कृष्ट ब्रान्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी आएको हो । विसं २०७० देखि कफी उत्पादनमा झन्डै १२ टन कमी आएको हो । सो वर्षभन्दा अगाडि १६ टन उत्पादन हुँदै आएको थियो । गबारोले कफीका बोट ध्वस्त पारेपछि पकेट क्षेत्रका रूपमा रहेका सन्धिखर्क नगरपालिकाका अर्घा, किमडाँडा र बाङ्ला, छत्रदेव गाउँपालिकाका ठूलापोखरा र बल्कोट, भूमिकास्थान नगरपालिकाका धारापानी र ढाकाबाङ, सितगंगा नगरपालिकाका ठाडा र सीतापुरलगायत ठाउँमा उत्पादन घटेको हो ।

यहाँ विसं २०५८ देखि कफी व्यवसायी संघ स्थापना गरी व्यावसायिक रूपमा व्यवसाय सुरु गरिएको हो । विसं २०६०/६१ मा जिल्लाका विभिन्न स्थानमा ४१ समूह गठन गरी एक हजार १६५ सदस्य रहेका बजाञ्जाले बताए । जिल्लामा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ । जिल्ला कफी व्यवसायी संघले सघाउँदै संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुँदै आएको हो ।

नेपालमा सात वर्ष पहिले भएको ३२ देशका कफी व्यवसायीको तालिममा कप टेस्ट गर्दा पनि नेपालकै अर्घाखाँची र गुल्मीको कफी स्वादिलो भएको प्रमाणित भएको तालिममा सहभागी बञ्जाडेको भनाइ छ । विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले, कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न, कफी कृषक लागेका छन् । करिब १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृषि ज्ञान केन्दले जनाएको छ । गवारो नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थीरलाल गैरेले बताए ।

यस वर्ष पनि गएको वर्षको हाराहारीमै कफी उत्पादन हुने अपेक्षा गरिएको छ । पूर्ण रूपमा गबारो नियन्त्रण नभए पनि भाउ राम्रो र बजारका लागि कतै धाउनै नपर्ने भएपछि कृषक झन् उत्साहित बनेका उनको भनाइ छ । कफीका लागि छहारी व्यवस्थापन र गबारो नियन्त्रणसम्बन्धी सीप सिकाउन सरकार तथा कुनै संघ संस्थाले पहल गरेमा कृषकलाई ठूलो राहत हुने ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए ।

कफी उत्पादन दुई वर्षदेखि घट्दै गएको छ । कफीका बिरुवा लगाउँदा कृषकले छहारीमा लगाउनुको सट्टा नाङ्गो र सुक्खा जमिनमा लगाउँदा गबारो लाग्ने सम्भावना बढी हुन्छ । समुद्री सतहदेखि ८ सय मिटरको उचाइमा हुने कफी बढी स्वादिलो हुने भएपछि यहाँको कफीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । (रासस)

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु