गृहपृष्ठ नेपालगन्जमा नेपालकै तरकारीको माग उच्च

नेपालगन्जमा नेपालकै तरकारीको माग उच्च

आर्गनिक र ताजा तरकारी उपलब्ध भएपछि पछिल्लो समय नेपालगन्जमा नेपालमै उत्पादन हुने तरकारीको माग बढेको छ । माग बढेसँगै नेपालगन्जमा दाङ, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा र सल्यानलगायत जिल्लाबाट तरकारी आउने गरेको छ ।

प्रदेश ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी आउन थालेपछि भारतबाट आउने तरकारीको मात्रा पनि घटेको नेपालगन्ज तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

नेपालगन्जमा विशेष गरी सल्यानको कपुरकोट र अन्य पहाडी जिल्लाको तरकारीले राम्रो बजार लिने गरेको अकरम थोक तरकारी पसलका व्यवस्थापक मोबिन सल्मानी बताउँछन् । उनका अनुसार बर्सेनि सयौं क्विन्टल तरकारी सल्यान कपुरकोटलगायत रोल्पा, दैलेख, बाँके, बर्दिया, दाङ, सुर्खेतबाट नेपालगन्जमा आयात हुने गरेको छ ।

उपभोक्ताको पहिलो रोजाइ नेपालकै तरकारी हुने गरेकाले आयात हुने गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-१३ की सीता पौडेलले भारतको तरकारीभन्दा पहाडको तरकारी अर्गानिक हुने र विषादीको मात्रा पनि कम हुने भएकाले आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताइन् ।

आम उपभोक्ताको मागका आधारमा नेपालगन्जका व्यापारीले अहिले भारतको भन्दा नेपालमै उत्पादित विभिन्न जिल्लाको तरकारी बढी ल्याउने गरेको सल्मानी बताउँछन् । (रासस)

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु