गृहपृष्ठ कृषिमा प्रदेश १ सरकारको ४५ करोडको राहत प्याकेज

कृषिमा प्रदेश १ सरकारको ४५ करोडको राहत प्याकेज

agriculture in nepal- newskarobar

प्रदेश १ सरकारले कोरोनाभाइरस (कोभिड १९) का कारण क्षति व्यहोर्न बाध्य कृषकलाई लक्षित गरी ४५ करोड रूपैयाँबराबरको राहत प्याकेज ल्याउने भएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत कोभिड-१९ को महामारीका कारण नोक्सानी व्यहोर्नुपरेका किसान परिवारलाई पर्न गएको नोक्सानीका आधारमा तथा राहतस्वरुप ४५ करोड रुपैयाँबराबरको राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो ।

प्रदेश १ मा सञ्चालित उद्योगधन्दा एवं कलकारखानाहरु र व्यापार वाणिज्य क्षेत्रमा कोभिड-१९ का कारण परेको नकारात्मक प्रभाव, असहज अवस्थालाई ध्यानमा राखी करका दायरा, दर तथा अन्य बाधा अड्चनलगायतका क्षेत्रमा पुनरुत्थान र आवश्यक प्रोत्साहनका प्याकेज ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रममार्फत कार्यविधि तयार गरी तालिम, ऋणलगायतका प्रोत्साहन प्याकेजसहित व्यावसायिक योजनामा आधारित उद्यमका लागि सम्बन्धित पालिकाको सिफारिसमा निर्व्याजी कृषि उद्यम कर्जा उपलब्ध गराइने,’ नीति तथा कार्यक्रम सार्वनजिक गर्दै शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले भने, ‘साना किसानलाई उनीहरुको व्यावसायिक योजनामा आधारित भएर पाँच लाख रुपैयाँसम्मको कृषि कर्जामा लाग्ने ब्याजमा तीन वर्षसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’

त्यस्तै मुख्य खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत प्रविधि तथा कृषि प्रसार सेवामा विस्तार गरिने र चैते धान, हाइब्रिड मकै तथा अत्यधिक रुपमा आयात हुने लसुन, प्याज, आलु उत्पादनमा आत्मनिर्भरताका लागि उत्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।

कोभिड-१९ को महामारीका कारण वैदेशिक रोजगारी गुमेका तथा स्वदेशमा बेरोजगार रहेका उत्साहित युवाहरु अधिकांश कृषि, उद्योग र स्वरोजगारमा आबद्ध भएको हुने अनुमान एवं बिश्लेषण गरी उनीहरुको सीप र अनुभवयुक्त मानवपुँजीलाई उत्पादनशील क्षेत्रसँग जोड्न, उनीहरुमा भएको आत्मविश्वासलाई पुनर्ताजगीकृत गर्न र व्यवसायिकताद्वारा कृषिक्षेत्रको आत्मनिर्भरतालाई कायम राख्दै अझ समृद्ध बनाउन स्थानीय तह, सहकारी एवं निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र र स्विस विकास नियोग समेतसँगको सहकार्यमा कार्यान्वयन हुने गरी ‘एक कोरोना पुनरुत्थान कोष’ खडा गरिने र मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र ‘मेरो कृषि, मेरो पौरख’ भन्ने नाराका साथ प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।

प्रकाशित समय २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु