गृहपृष्ठ अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारको पहल

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारको पहल

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीय स्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा ताप्लेजुङमा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गर्नसके जिल्लाबासीलाई फाइदा पुग्ने उनको भनाइ छ ।

गृह जिल्ला ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणमा रहेका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीसमेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिने आश्वासन दिए । ओलाङचुङगोलाबाहेक जिल्लाका सबै क्षेत्रमा अलैँचीखेती गरिन्छ भने प्रायः किसान यसैको भरमा छन् । तर, अलैँचीले राम्रो मूल्य नपाँउदा उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन ।

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई दुई वर्षमा कालोपत्रे गर्ने बताए । सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने प्रतिबद्धता उनले जनाए । यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

मन्त्री भट्टराईले सोमबार नेकपाको मेरिङ्देन गाउँपालिका कमिटीको पार्टी कार्यालय र राष्ट्रिय युवा संघ नेपालको पालिका कमिटी कार्यालयको उद्घाटन गरे । उनि कात्तिक २८ सम्म गृह जिल्लामै रहनेछन् । (रासस)

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु