गृहपृष्ठ ढकाल र प्रधान प्यानलसहित जिल्ला दौडाहामा, सहमति खोज्दै पूर्वअध्यक्ष

ढकाल र प्रधान प्यानलसहित जिल्ला दौडाहामा, सहमति खोज्दै पूर्वअध्यक्ष

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि प्यानलसहित मैदान उत्रिएका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू मतदाता फकाउन व्यस्त देखिएका छन् । मंसिर दोस्रो साता हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान मतदातालाई आफूतिर आकर्षित गर्न कम्मर कसेर लागेका हुन् ।

पश्चिमतर्फका व्यवसायीसँगको भेटघाट सकेर प्रधान पूर्वतिरको यात्रामा निस्किएका छन् । उनले पश्चिमका व्यवसायीलाई महासंघको चुनावमा सहयोग गर्न र आफूलाई जिताउन आग्रह गरेका छन् । ‘तपाईंहरूका समस्यालाई लामो समयदेखि नजिकबाट नियालिरहेको छु,’ उनले व्यवसायीलाई भन्ने गरेका छन्, ‘मैले नेतृत्व पाएँ भने महासंघ नयाँ स्तरमा प्रवेश गर्नेछ ।’

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान केही दिनदेखि प्रदेश १ र २ का व्यवसायीसमक्ष भोट माग्न व्यस्त छन् । चुनावी अभियानका क्रममा सोमबार जनकपुर पुगेका उनलाई प्रदेश २ का व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधान जनकपुरपछि बुटवल गएर काठमाडौँ आउने कार्यक्रम छ ।

अर्का उम्मेदवार ढकाल बुधबारदेखि पश्चिमतर्फको यात्रामा निस्किएका छन् । उनी धनगढी, बर्दिया, नेपालगन्ज, दाङ, बुटवल, नवलपरासी, चितवन र पोखरा हुँदै सोमबार काठमाडौँ आइपुगेका छन् । गण्डकी प्रदेश र सुदूरपश्चिमका व्यवसायीले ढकाललाई प्यानलसहित भोट दिएर जिताउने आश्वासन दिएका छन् ।

आइतबार पोखरा पुगेका ढकाललाई गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले १६ वटै जिल्ला, नगरका अध्यक्षले प्यानलै भोट गर्न कार्यसमितिबाटै सर्वसम्मत निर्णय भएको जानकारी गराएका थिए । उम्मेदवार ढकालले महासंघलाई गतिशील नेतृत्व आवश्यक रहेको र आफू त्यसका लागि योग्य रहेको बताउने गरेका छन् । पश्चिमतर्फको यात्राबाट उत्साहित बनेका ढकाल तिहारअगावै पूर्वतिरका व्यवसायीसँगको भेटघाटमा निस्किँदै छन् ।

सहमतिको प्रयास

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू चुनावी माहोल आफ्नो पक्षमा बनाउन दिनरात नभनी लागिरहेका बेला पूर्वअध्यक्षहरू भने सहमतिको वातावरण बनाउन जुटेका छन् । ‘प्रेसिडेन्ट इन वेटिङ’ शेखर गोल्छा खुलेरै एक जना उम्मेदवारको पछाडि लागेपछि महासंघमा राजनीतिक तिक्तता थप गहिरिने संकेत देखिएका बेला केही पूर्वअध्यक्षहरू सहमतिको प्रयासमा जुटेका हुन् ।

पूर्वअध्यक्ष कुशकुमार जोशी महासंघमा राजनीति बढ्न नदिन सहमतिको प्रयास भइरहेको बताउँछन् । ‘गुटबन्दीले उद्योगी व्यवसायीहरूको साझा संस्थालाई फाइदा गर्दैन, बरु उल्टै क्षति पुर्‍याउँछ,’ उनी भन्छन्, ‘उम्मेदवारहरू स्वयंले पनि सहमतिको प्रयास गर्नुपर्छ, हामीले गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ, अहिलेको प्रतिकूल अवस्थामा महासंघ एकढिक्का भएर अघि बढेमात्र व्यवसायीको हितमा अघि बढ्न सक्छ ।’

त्यस्तै अर्का पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि अहिलेको प्रतिकूल अवस्थामा महासंघभित्र गुटबन्दी हुनु भनेको एकदमै गलत हुने बताए । ‘कोभिडका कारण सबै उद्योगी व्यवसायी नराम्ररी थला परेका छन्,’ उनी भन्छन्, ‘यो अवस्थामा महासंघ एक भएर जानुको विकल्प छैन ।’ पूर्वअध्यक्ष महेशलाल प्रधान पनि व्यक्तिगत इगो, महत्वाकांक्षा र तुष्टिहरूलाई पर राखेर महासंघ र समग्र निजी क्षेत्रको सर्वोपरी हितका लागि गुटबन्दी अन्त्य गर्नुपर्ने बताउँछन् । महासंघको साधारण सभा मंसिर ११, १२  र १३ गते हुँदै छ ।

यो पनि पढ्नुहोस्

उद्योग वाणिज्य महासंघमा गुटबन्दीका दुष्परिणाम

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु