गृहपृष्ठ गुल्मीका गाउँमा कृषिको लोभलाग्दो लहर

गुल्मीका गाउँमा कृषिको लोभलाग्दो लहर

agriculture-newskarobar

गुल्मीको छत्रकोट गाउँपालिका–४, शृंगा रुक्सेका किसान डिल्लीराज कँडेल आजभन्दा करिब चार वर्ष पहिला सामान्य मौसमी खेतीपाती गर्थे । मौसमी गहुँ, मकैबाहेक अन्य खेतीतर्फ उनको खासै ध्यान गएको थिए । तर, अहिले कँडेलको दैनिकी फेरिएको छ । उनले खेतबारीमा मकै, गहुँमात्र होइन, टमाटर, सिमी, बोडी, तितेकरेललगायतका विभिन्न तरकारी रोपेका छन् ।

घर वरिपरि झाडीमा रहेको सिस्नो कति पटक उनले फाँडेर आगो लगाएका छन् भने पाखाबारीमा रहेको ‘भुटुक’को पनि उनी वास्ता गर्दैनथे । तर, कँडेल अहिले दैनिक जसो आफ्नो बारीको रेखदेख गर्छन् । सिस्नो टिप्छन् । भुटुक कति भयो भनेर अवलोकन गर्छन् । तरकारी स्याहारसुसार गर्नुका अलावा बिक्री गर्न समूहमा आउँछन् । कारण हो– पैंचो पसल ।

करिब चार वर्षअघि स्थानीयलाई व्यावसायिक किसान बनाउने उद्देश्यका साथ ‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने मूल नारा लिएर स्थापना भएको पैंचो पसलले अहिले गुल्मीको छत्रकोट गाउँपालिकामा खेती किसान गर्ने लहर ल्याइदिएको छ । किसान कँडेल भन्छन्, ‘अहिले त केही चिज पनि खेर फाल्न मन लाग्दैन, सबै बिक्री हुन्छ ।’ पैंचो पसललाई सामान बिक्री गरेबापत उनले हालसम्म नगद लिएका छैनन् । भन्छन्, ‘सामान दिएबापत सामान नै लिने गरेको गरेछु, वर्षमा ४०–५० हजार कमाउन कतै जानुपरेको छैन ।’

उनीजस्तै हुँगाका २५ वर्षीय भुवन खराल पनि चार वर्षदेखि व्यावसायिक कृषिमा लागेका छन् । गाउँमै केही गर्न सकिन्छ भन्ने उद्देश्यसहित कृषिक्षेत्रमा हात हालेको उनी बताउँछन् । युवा किसानको पहिचान बनाएका खरालले १२ रोपनीमा खुर्सानीमात्रै रोपेका छन् । केही जग्गा आफ्नो र केही भाडामा लिएर उनी व्यावसायिक तरकारीखेतीमा जुटेका हुन् । भन्छन्, ‘विदेश जान पनि सक्थेँ तर यहीँ आफ्नै माटोमा केही गर्नका लागि विदेशको मोह त्यागेको हुँ ।’

यो वर्ष २२ हजार बोट खुर्सानी रोपेका उनले त्यसबाट ६ लाख रुपैयाँ कमाइ हुने आशा गरेका छन् । यस्तै, ५४ सय बोट बन्दा रोपेका छन् भने काँक्रा २ हजार बोट छन् । २२ रोपनीमा कृषि कर्म गर्दै आएका खराल बीए दोस्रो वर्षमा अध्ययन गर्छन् । गत वर्ष गोलभेँडा बेचेर उनले ७ लाख कमाएको बताए । यसपटक पनि नौ हजार बोट गोलभेँडा रोपेका छन् । चार जनालाई रोजगारी दिएका छन् । पहिला नै किसानसँग पैंचो पसलसँग सम्झौता गरेकाले उत्पादित कृषिउपज बिक्रीमा कुनै समस्या छैन ।

agriculture-newskarobar

निर्वाहमुखी खेती गरेर जीवन गुजारा गरिरहेका पहाडी र उच्च पहाडी क्षेत्रका किसानलाई व्यावसायिक बनाउन २०७१ जेठ ७ गतेबाट पैंचो पसल सुरु गरिएको प्रबन्ध निर्देशक ध्रुव न्यौपाने बताउँछन् । सुरुमा गुल्मी, पाल्पा र अर्घाखाँचीका कृषकबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तु र फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी खरिद गरी उपभोक्तालाई बिक्री गर्ने उद्देश्यले पैंचो पसल खोलिएको उनले बताए ।

प्रसिद्ध धार्मिक स्थल गुल्मीको रुरु गाउँपालिकाको रिडी बजारनजिकै स्थापित पैंचो प्रशोधन उद्योगले जुस, जाम, सस, अचार, आटो, पिठो, सिन्की, मस्यौरा, केचप, फ्रोजन भेटिजेबललगायत दर्जनौं कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्छ । पैंचोले गुल्मी, पाल्पा र रुपन्देही गरी आठ पैंचो पसलका शाखा र १८ पैंचो संकलन केन्द्र सञ्चालन गरेको छ ।

पैंचोले अहिले गुल्मीको तम्घास र पाल्पाको तानसेनमा अत्याधुनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आएको छ भने रुपन्देहीको बुटवलमा पश्चिम नेपालकै पहिलो तरकारी र फलफूलको सपिङ कम्प्लेक्स सञ्चालन गरेको छ । गुल्मीमा मात्रै ४० हजार हेक्टरमा कृषक कृषि उत्पादनमा सहभागी भइरहेका छन् ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु