गृहपृष्ठ तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

tarkari-kheti

भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।

व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिहेका छन् । वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्र बनेका छन् । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले तरकारीखेतीबाट वार्षिक ७ देखि ७ लाखसम्म आम्दानी लिने गरेको बताउँछन् ।

‘कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन,’ उनी भन्छन्, ‘अहिले यही तरकारीखेतीमा लागेर वार्षिक ७ लाखसम्म आम्दानी गरिहेको छु ।’ उनले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । राईले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उनको दुःखेसो छ । ‘बजारको राम्रो व्यावस्था नहुँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ,’ राई भन्छन्, ‘बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।’

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको कथन छ ।

सात उद्योगी सम्मानित
भोजपुरका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतबार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शाक्य, उर्मिला औजार उद्योगकी उर्मिला श्रेष्ठ, रञ्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेजबहादुर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको हो ।
युवराज विष्ट/रासस

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु