गृहपृष्ठ कर्णाली समृद्धिको आधार कृषि : मन्त्री केसी
कर्णाली समृद्धिको आधार कृषि : मन्त्री केसी
सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार कृषि भएको बताएकी छन् । राष्ट्रिय किसान आयोगले सोमबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्यासम्बन्धी अन्तक्र्रियामा मन्त्री केसीले कर्णालीका किसानको जीवनस्तर परिवर्तन गर्न सरकार लागिपरेको समेत बताइन् ।
कर्णालीको गरिबी अन्त्य गरी किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम गर्न लागेको जानकारी उनले गराइन् । मन्त्री केसीले भनिन्, ‘कर्णालीका किसानलाई प्रत्यक्षरुपमा राहत हुने गरी सरकारले कृषक पेन्सन, गरिबी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो कार्यक्रमलगायका कार्यक्रम सञ्चालन गर्नेछ ।’ किसानले उत्पादन गरेका वस्तुको बजारीकरण नहुँदा समस्या भएको भन्दै उनले सरकारले यसलाई पनि ध्यानमा राखेर कार्यक्रम गर्ने तयारी गरिरहेको बताइन् ।
कार्यक्रममा आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कर्णालीमा कृषिको अथाह सम्भावना भएको बताए । उनले भने, ‘कर्णालीमा कृषिको सम्भावना र चुनौती दुवै छ, हामी त्यही समस्या बुझ्न यो कार्यक्रम गर्दैछौं ।’ कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न राष्ट्रिय किसान आयोगले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीलगायत आयोगका पदाधिकारी र कर्णाली प्रदेशका १० वटै जिल्लाका अगुवा कृषकको सहभागिता छ । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
प्रकाशित समय ११:३४ बजे

















