गृहपृष्ठ विप्लव समुहका नेता–कार्यकर्ताका फेसबुक अकाउन्टसमेत ‘डिएक्टिभेट’
विप्लव समुहका नेता–कार्यकर्ताका फेसबुक अकाउन्टसमेत ‘डिएक्टिभेट’
प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि नेकपाको विप्लव समुहका नेता कार्यकर्ता फेसबुक अकाउन्ट समेत ‘डिएक्टिभेट’ गरेर भूमिगत भएका छन् । विप्लबको पार्टीका गतिविधिप्रति सरकार कठोर बन्दै गएपछि अधिकाश नेता, कार्यकर्ताले मोवाईल फोन स्विच अफ र फेसबुक अकाउन्टसमेत ‘डिएक्टिभेट’ गरेका छन् ।
पार्टीका शीर्ष तहका नेतादेखि कार्यकर्तासम्म धमाधाम पक्राउ पर्न थालेपछि सामाजिक संञ्जालमा सक्रिय दर्जनभन्दा बढी नेताहरुले फेसबुक ‘डिएक्टिभेट’ गरेका छन् । फेसबुक अकाउन्टबाट व्यक्तिको पृष्ठभूमि, गतिविधि एवं लग इन भएको लोकेसन ट्रयाक गर्न सकिने भएकाले उनीहरुले ‘डिएक्टिभेट’ गरेका हुन् ।
संयोजक नेत्रविक्रम चन्द विप्लवको सक्रिय एकान्ट तथा फेबबुक पेज अहिले निश्कृय छ । खड्कबहादुर विश्वकर्मा (प्रवक्ता) र कमाण्डरहरु अनिल शर्मा ‘बिरही’ (पूर्वी कमाण्ड इन्चार्ज) को फेसबुक अकाउन्ट एक साता अघिदेखि निस्कृय छ । अरु नेताहरु सन्तोष बुढामगर, धर्मेन्द्र बास्तोला (पश्चिम कमाण्ड), मोहलाल चन्द, नेतृ उमा भुजेललगायतले पनि फेसबुकमा कुनै सामाग्री राखेका छैनन् । सगरमाथा ब्यूरोका प्रमुख दिपेश राई, जनकपुर ब्यूरोका प्रमुख सन्देश पौडेललगायतका नेताहरुले पनि आफ्नो एकाउन्ट ‘डिएक्टिभेट’ गरेका छन् । अधिकाँश जिल्ला तहका नेताहरूले समेत सामाजिक सञ्जाल लग इन गरेका छैनन् । उनीहरुले धेरै दिनदेखि कुनै पनि सामाग्री अपडेट गरेका छैनन् भने म्यासेन्जरमा समेत अनलाइर्न देखिएका छैनन् । विप्लव समुहका एक नेताले भने ‘पहिले फेसबुकमा राखिएका सामग्रीबाट पृष्ठभूमी थाहा हुने र फेसबुक लग इन गरिएपछि प्रहरीले लोकेसन ट्रयाक गर्न सक्ने हुदा ‘डिएक्टिभेट’ गर्न थालेका हौँ । ’
मोहन कार्की ‘जीवन्त’, हेमन्तप्रकाश ओली सुदर्शनलगायतका नेताहरु फेसबुकबाटै ट्रयाकिङमा परेको जानकारी पाएपछि अरु नेता कार्यकर्तासमेत फेसबुकलगायत सामाजिक सञ्जालबाट अलग भएका हुन् । प्रतिबन्धित नेकपा स्रोतहरुको दाबी अनुसार ओली काभ्रेबाट पक्राउ परेका थिए । त्यसयता नेता कार्यकर्ताले फेसबुक चलाउन छोड्ने कार्यले तीब्रता पाएको हो ।
तल्लो तहका कार्यकर्ताले भने सामाजिक सञ्जालमार्फत पार्टीको समर्थनमा विभिन्न गतिविधि जारी राखेका छन् । विप्लव समुहनिकट पत्रकारहरूले भने फेसबुकलगायतका सामाजिक संञ्जालबाट पक्षमा सामाग्री पोष्ट गरिरहेका छन् । अहिलेसम्म सो समुहका ५०भन्दा बढी नेता कार्यकर्ताहरु पक्राउ परिसकेका प्रहरी स्रोतले बताएको छ ।
प्रकाशित समय १८:२८ बजे
















