गृहपृष्ठ गैरजिम्मेवार राजनीतिक दलका कारण समुदायस्तरमा कोरोना फैलिने चिन्ता
गैरजिम्मेवार राजनीतिक दलका कारण समुदायस्तरमा कोरोना फैलिने चिन्ता
सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको थामिनसक्नु घुइँचो
कोरोनाभाइरस (कोभिड–१९) ले विश्वनै आक्रान्त भइरहेको बेला सुर्खेतमा राजनीतिक दलका नेताहरु भने हुलका हुल गाउँ पसेका छन् । नागरिकलाई पार्टी प्रवेश गराउने, स्थानीय तहका नेतालाई भेट्ने र संगठन विस्तारमा पार्टीका कार्यकर्तालाई महामारीका बीचभ्याइनभ्याई छ ।
कोरोनाभाइरस समुदाय स्तरमा फैलिसकेको छ । यसलाई नियन्त्रण गर्नेकाममा सरकारलाई सहयोग गर्नुको साटो दुई ठूला राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेस भने उग्र हुँदै गाउँमा सभा गर्न छोडेका छैनन् । संघीय संसद, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधि पनिठूलै सभा आयोजना गरी नागरिकलाई पार्टी प्रवेश गराउन व्यस्त छन् ।

एकातिर केन्द्रीय तथा प्रदेश तहका नेताहरु गाउँ–गाउँमा ठूला सभाको आयोजना गर्दै हिँडेका छन् भने अर्कोतिर सुर्खेतका सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको थामिनसक्नु घुइँचो छ । यसले कोरोनाभाइरस झन् तीव्र गतिमा फैलिने संकेत गरेको छ ।
प्रशासन र जनप्रतिनिधिभीड र राजनीतिक दलको सभा रोक्न मौनदेखिन्छन् । यतिबेला राजनीतिक दलहरुले गर्ने सभा र सेवाग्राहीको भीड कसले रोक्ने ? प्रश्न खडा भएको छ । केही स्थानीय तहहरुले ठूला भीड रोक्ने कुरामा ध्यान नदिई सोह्रश्राद्धमा ब्राह्मणलाई श्राद्ध नगराउनु भनी सूचनासमेत निकालेका छन् ।
जिल्लाभर सबैभन्दा बढी संक्रमणको जोखिम रहेको वीरेन्द्रनगर नगरपालिकामा पनि अत्यधिक भीड बढेको छ । बजारक्षेत्र, सरकारी कार्यालय र वडाहरुमा राजनीतिक दलहरुलेसभा गर्दै हिँडेका छन् ।
भीड नियन्त्रण गर्छौं : नगरपालिका
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख तथा कार्यबाहक प्रमुख मोहनमाया ढकालले प्रशासनसँग समन्वय गरी भीडभाड नियन्त्रण गर्ने बताइन् । ‘राजनीतिक दलले नगरभित्र सभा गरेको जानकारी हामीलाई छैन,’ उनले भनिन्, ‘कहीँ कतै भएको खण्डमा हामी त्यसो नगर्न अनुरोध गछौं ।’ संघ तथा प्रदेश मातहतका कार्यालयहरुकोभीडभाड रोक्ने कुरामा आफूहरुलाई अधिकार नभएको भन्दै ढकालले स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका कार्यालय तथा स्थानमा भीडभाड रोक्न ध्यान दिने बताइन् ।

सुर्खेतको सिम्ता गाउँपालिकामा भदौ १६ गते नेकपाले ठूलै सभाको आयोजना गर्यो । जसमा केन्द्रीय तहदेखि स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागिता थियो । समुदाय स्तरमा कोरोनाभाइरस फैलिसकेको समयमा स्थानीय तहका जनप्रतिनिधि नै सहभागी भई कार्यक्रम सफल गराउन लागिपरेका छन् ।
यस विषयमा सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्र केसीले पार्टीको आफ्नो संरचना हुने र केन्द्रीय तथा प्रदेश स्तरका नेताहरुले नै पार्टीको कार्यक्रम गर्ने गरेको बताए । ‘भीडभाड भएको कुरा मस्वीकार गर्छु,’ उनले भने, ‘दसैंतिहारलाई समेत लक्षित गरी अब भीडभाड कम गर्नलाई पालिकामा बैठक बस्ने तयारी भएको छ ।’
पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्रबहादुर थापाले केन्द्रीय स्तरका नेताहरुले स्थानीय तहका जनप्रतिनिधिलाई नटेर्ने बताए । ‘हामीहरुले भन्दै आएका छौं भेला नगरौँ भनेर,’ उनले भने, ‘तर के गर्नु ? हामी तल्लो तहका नेता पर्र्यौं, हामीले भनेको केन्द्रीय नेताहरुले मान्दैनन् ।’
संघीय सरकारको मन्त्रिपरिषदले नै राजनीतिक दललाई भीडभाड नगर्न निर्णय गरे राजनीतिक दलका नेताले मान्ने उनले बताए । थापाले कोरोनाभाइरस नियन्त्रणको विषयमा केन्द्रीय स्तरका नेताले गम्भीर भएर सोच्नुपर्ने तर्क गरे ।
चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष धिरबहादुर शाहीले पनि बारम्बार भीडभाड नगरिदिन आग्रह गरे पनि केन्द्र र प्रदेश तहका नेताहरुले अटेरी गरेको बताए । ‘हामीलाई झन् अप्ठ्यारो परेको छ,’ उनले भने, ‘आग्रह त गरेकै छौँ, भीडभाड नगरिदिनु भनेर तर टेर्दैनन् ।’ उनले नागरिकको स्वास्थ्यका लागि सबैले सेचत हुन जरुरी भएको बताए । स्थानीय तहका जनप्रतिनिधिले मात्रै भीडभाड नियन्त्रण गर्न नसक्ने भन्दै उनले नागरिक र शीर्ष नेताहरुयसमा बढी गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका राजनीतिक दलका प्रमुख नेताहरुलाई भीडभाड नगर्न अनुरोध गरिसकेको बताए । सबैभन्दा बढी सेवाग्राहीको भीडहुने मालपोत कार्यालयमा समेत लेखापढी गर्नेहरुलाई कार्यालयको हाताभित्र बस्न नदिई नेपाल टेलिकमको पछाडि बस्ने व्यवस्था मिलाएको बताए ।
‘अझै भीडलाई कसरी व्यवस्थित गराउने भन्ने विषयमा छलफलमै छौं,’ उनले भने, ‘सकेसम्म प्रशासनले भीड नियन्त्रणको काम गरे पनि नागरिक आफैँ पनि सचेत हुनुपर्छ ।’ नागरिक आफैँ सचेत नभईकन जस्तोसुकै कानुनी कदम चाले पनि असफल भइने उनले तर्क गरे । सुर्खेतमा नागरिकमनपरी नियन्त्रण गर्न ठूलो चुनौती भएको उनले बताए ।
प्रकाशित समय ०८:४५ बजे
















