गृहपृष्ठ ओलीलाई भेट्नुअघि प्रचण्डको अध्यक्षतामा आज पनि नेकपा सचिवालय बैठक सुरु
ओलीलाई भेट्नुअघि प्रचण्डको अध्यक्षतामा आज पनि नेकपा सचिवालय बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी छन् ।
यसअघि शुक्रबार पनि प्रचण्डकाे अध्यक्षतामा सचिवालय बैठक बसेकाे थियाे । हिजाेकाे बैठकमा पनि अर्का अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी थिएनन् । शुक्रबारको बैठकपछि अध्यक्ष ओलीले ‘पार्टी फुटको बिन्दु त्यहीबाट सुरू हुने’ प्रतिक्रिया दिएका छन् ।
आजको बैठकमा पार्टी एकताका लागि अन्तिम प्रयास गर्नेगरी एजेण्डा तय गर्ने एक सचिवालय सदस्यले बताएका छन् । बैठकपछि प्रचण्डसहितका नेताहरु ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । भेटमा अोलीलाई बैठकका लागि आग्रह गरिने ती सचिवालय सदस्यको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेकाे प्रचण्डपक्षीय नेताहरूको आरोप छ ।
नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।
प्रकाशित समय ११:३० बजे
















