गृहपृष्ठ उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित

उखु बेचेको पैसा नपाएपछि सात जिल्लाका २५ हजार कृषक आन्दोलित

सुगर मिल भन्छ- चिनी बेचेर पैसा दिन्छाैं

देशको सबैभन्दा ठूलो चिनी मिल एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजविरुद्ध कृषक आन्दोलित भएको एक महिना बितिसकेको छ । तर, ६ महिनाअघि कृषकबाट उखु किनेको पैसा तिर्न मिल प्रशासनले कुनै चासो देखाएको छैन ।
उखु क्रसिङ भएको ६ महिनासम्म पनि भुक्तानी नपाएको भन्दै आक्रोशित भएका कृषक वैशाख ६ गतेदेखि चिनी मिलको मूल गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । महोत्तरीको गौशाला रामनगरमा रहेको चिनीमिलको गेटमै उखु कृषकले धर्ना दिइरहेका छन् ।
दुई अर्ब २२ करोड १५ लाख ६७ हजार चार सय रुपैयाँको उखु क्रसिङ गरेको मिल प्रशासनले त्यसबेला ४४ करोड १५ लाख ९४ हजार ६ सय ९ रुपैयाँ पेश्की भुक्तानी पाएका थिए । ‘बाँकी पैसा तत्काल भुक्तान दिने बताएको मिल प्रशासनले ६ महिनासम्म पनि चासो नदिएपछि आन्दोलन गर्न बाध्य भएका हौं,’ बटेश्वर गाउँपालिका–१ का कृषक इन्द्रकुमार महतोले भने ।

अाफ्नै पैसा माग्दै एभरेस्ट सुगर मिलको मूलगेटमा कृषकले ताला झुन्ड्याएको एक महिना बित्यो, न सुन्छ मिल प्रशासन न वास्ता गर्छ सरकार

उखु उत्पादन गर्न हजारौं रुपैयाँ लगानी गरेका कृषक समयमा भुक्तानी नपाएपछि ऋणमा डुबेका छन् । ठूलो लगानी गरेर उखु उत्पादन गरे पनि समयमा भुक्तानी नपाउँदा बिचल्ली भएको कृषक महतोले बताए ।
चिनी मिलबाट धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका २५ हजारभन्दा बढी उखु किसानले भुक्तानी पाएका छैनन् । तर, मिल प्रशासनले भने चिनी बेच्न नसकेको बहाना बनाउँदै कृषकलाई भुक्तानी गरेको छैन । ‘भारत र पाकिस्तानबाट नेपालमा सस्तो दरमा चिनी भित्रिएकाले नेपाली चिनी बेच्न नसक्दा कृषकलाई तिर्न सकिएको छैन,’ एभरेस्ट सुगर मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले भने, ‘चिनी बिक्नासाथ भुक्तानी गर्छौं ।’

उखुको पैसाको पखाईमा रहेका कतिपय कृषकका छोराछोरीको बिहेवारी नै रोकिएको छ भने अन्य महत्वपूर्ण सामाजिक, धार्मिक कामकाजसमेत प्रभावित भएको छ ।

मिल प्रशासनले ‘चिनी बेचेर उद्योगीको पैसा तिर्छु’ भन्नु गैरजिम्मेवारी भएको कृषकको आरोप छ । उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंहले मिलले उखु क्रसिङ सुरु गरेकै बेला पूर्ण भुक्तानी गर्ने आश्वासन दिएको बताए । ‘उखुको पैसाको पखाईमा रहेका कतिपय कृषकका छोराछोरीको बिहेवारी नै रोकिएको छ भने अन्य महत्वपूर्ण सामाजिक, धार्मिक कामकाजसमेत प्रभावित भएको छ,’ उनले भने, ‘तर मिल प्रशासनले पैसा तिर्न कुनै चासो देखाएको छैन ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको केही दिनभित्रै मातृकाप्रसाद यादवले उखु कृषकलाई भुक्तानी नदिने मिल उद्योगीलाई तत्काल हथकडी लगाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, ६ महिनासम्म भुक्तानी नपाएर उखु कृषकको बिचल्ली हुँदा पनि मन्त्री यादवले कृषकको पक्षमा कुनै कदम चालेका छैनन् ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु