गृहपृष्ठ स्वीडेन र इंग्ल्याण्ड विजयी, क्वाटरफाइनल समिकरण पूरा
स्वीडेन र इंग्ल्याण्ड विजयी, क्वाटरफाइनल समिकरण पूरा

रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार रातिका दुई खेलपछि क्वाटरफाइनल समिकरण पूरा भएको हो ।
अन्तिम दुई खेलमा विजयी हुँदै स्वीडेन र इंग्ल्याण्डले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
मंगलबार राति पौने ८बजे भएको पहिलो खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्यो । पहिलो हाफमा स्विजरल्यान्डले स्वीडेनविरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो ।
स्वीडेनका फोर्सबर्गले डिफ्लेक्टेड प्रहारमार्फत टोलीलाई अग्रता दिलाए र त्यही गोल निर्णायक बन्न पूग्यो । स्विजरल्यान्डले खेलको अन्तिम मिनेटमा रातो कार्ड खाँदै १० खेलाडीमा सीमित भएको थियो ।
साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो ।
गएराति पौने १२ बजे भएको दोस्रो खेलमा टाइब्रेकरमार्फत कोलम्बियालाई ४–३ ले हराउँदै इंग्ल्याण्ड पनि क्वाटर फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको जीतका लागि ह्यारी केन, मार्कोस ¥यासफर्ड, केइरन ट्रिपियर, इरिक डायरले गोल गरे । जोर्डन ह्यान्डर्सनको प्रहार भने कोलम्बियाका गोल कीपरले रोकिदिए ।
कोलम्बियाका राडामेल फल्कायो, जुवान क्वाड्राडो, लुुइस मुुरिलले गोल गरेपनि कार्लोस बाक्काको पेनाल्टी पोलमा लाग्यो भने मेट्युस युरिबको इंग्ल्याण्डका गोल रक्षकले रोकेका थिए ।
त्यसअघि निर्धारित समयकै अतिरिक्त तेश्रो मिनेटमा कोलम्बियाका यारिमिनाले गोल गर्दै खेल बराबरी गरे । उनको गोलसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको ५७ औं मिनेटमा ह्यारी केनको गोलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्डले अग्रता लिएको थियो । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अहिले भैरहको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा केनले पेनाल्टी मार्फत गोल गरेका हुन् । केनलाई कालम्बियाका खेलाडीले डिबक्समा लडाएपछि इंग्ल्याण्डले ५७ औं मिनेटमा पेनाल्टी पायो ।
मस्कोमा रहेको स्पार्टक रंगशालामा समूह एच को विजेता कोलम्बियाले समूह जी को उपविजेता इंग्ल्याण्डलाई रोक्न नसक्दा घर फर्किन बाध्य बन्यो ।
प्रकाशित समय ०७:४१ बजे