गृहपृष्ठ को बन्ला विश्वविजेता? फ्रान्स र क्रोएशिया मैदानमा
को बन्ला विश्वविजेता? फ्रान्स र क्रोएशिया मैदानमा

विश्व फुटबलको ‘महाकुम्भ’ आइतबार सकिँदैछ । राति हुने अन्तिम खेलले विश्व विजेता र उपविजेता जन्माउनेछ । यो महाकुम्भको अन्तिम प्रतिस्पर्धामा पहिलो हुने लक्ष्यसहित पूर्वविजेता फ्रान्स र बिलकुलै पहिलोपटक उपाधि नजिक पुगेको क्रोएशिया आमने–सामने हुँदैछन् । फ्रान्स दोस्रो तारा थप्ने दाउमा छ भने क्रोएशिया इतिहास बनाएरै फर्किन चाहान्छ ।
नेपाली समयअनुसार रुसको लुज्निकी रंगशालमा राति पौने ९ बजे हुने बहुप्रतिक्षित फाइनल खेलपछि आगामी चार वर्षका लागि विश्व च्याम्पियन टुंगो लाग्नेछ । त्यो च्याम्पियन दुईमध्ये कुन चाहिँ बन्ला भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेको छ ।
फ्रान्स
फ्रान्स निकै बलियो र फास्ट मुभिङमा छ भने क्रोएशिया विपक्षी टोलीको प्रदर्शन र शैलीअनुसार तत्कालै खेल रणनीति परिवर्तन गर्न माहिर छ । जुनसुकै रणनीति अपनाएर भए पनि यसपटक विश्वकप उचाल्ने क्राएशियाको चाहाना छ । तर, २० वर्षअघि उपाधि जितेको र तीनपटक फाइनलमा पुगेको फ्रान्सले क्रोएशियाको चाहाना अधुरै सीमित गरिदिन सक्छ । किनकि, फ्रान्ससँग भएका केही खेलाडी यति तीव्र गतिका छन्, जसले क्रोएशियाको पोष्टमा अन्तिम दश सेकेन्डसम्म पनि बल चुमाइदिन सक्ने सामथ्र्य राख्छन् । अग्रपंक्तिबाट खेल्ने केलियन एम्बाप्पे निकै लयमा छन् र उनी विपक्षी क्रोएसियाले ‘खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्नसक्ने’ मध्येका एक खेलाडी हुन् । अर्कोतिर डिफेन्स लाइन पनि फ्रान्सको बलियो देखिन्छ । फ्रान्समा २० वर्षअघिभएको विश्वकप फुटबलको समिफाइनलमा फ्रान्सले क्रोएशियालाई पराजित गरिदिएको थियो । विश्वकपमै २० वर्षअघि भएको सेमिफाइनलमा क्रोएशियालाई फ्रान्सले नै हराएको थियो ।
‘पराजयको चोट भुलाउने अवसर’
फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो । तर, उपाधि भने पोर्तुगलले लग्यो । सोही पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइएइएको छ । सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भनेर समाचार छापेको छ । ‘यसबेलाको सन्दर्भ फरक छ, खेलाडीहरू थप परिपक्व भएका छन् र हामीसँग किलियान एमबाप्पे पनि छन्।’ अखबारमा उल्लेख गरिएको छ । फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन् । फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन् । उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन् । उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन् । क्रोएशियाले जितेमा यो विश्वकपको ‘अविश्वसनीयभित्रको अविश्वनीय नतिजा’ हुनेछ ।
फ्रान्सले क्रोएसियाभन्दा २४ घण्टा अगाडि नै सेमिफाइनल खेल्न पायो । उसले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जितेको थियो । तर, क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्यो । दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो । फ्रान्सका अग्रपंक्तिका खेलाडी एमबाप्पेले अर्जोन्टिनाविरुद्ध दुई गोल गर्दै आफूलाई अब्बल साबित गरिदिएका छन् भने क्रोएसियाविरुद्धको खेलमा पनि त्यस्तै गर्ने दाउमा छन् । फाइनलमा एमबाप्पेसँगै फ्रान्सका लागि तीन गोल गरेका आन्ट्वान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो पनि सर्वत्र छ । दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ग्ल्याण्डका हेरी केनसँग बराबरीमा पुग्ने छन् ।
क्रोएशिया
फिफा वरीयतामा २०औँ स्थानमा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो । विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एकमा पर्न सफल क्रोएशियाले पाएको यो सफलता उसका लागि फुटबलमा पाएको अहिलेसम्मकै ठूलो सफलता हो ।
२० वर्षअघि विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएशिया फ्रान्ससँगै पराजित भएको थियो । तर, यसपटक माहोल त्यस्तो छैन । क्रोएशियाका सबै खेलाडी लयमा छन् । डिफेन्समा निकै ध्यान दिने टोलीका डिफेन्डरलाई छक्याएर गोल हान्न फ्रान्सलाई सजिलो हुने छैन । त्यसो त, झण्डै ४२ लाख जनसंख्या भएको क्रोएशिया विपक्षीको खेल शैली हेरेर रणनीति परिवर्तन गर्न माहिर छ । यसअघिका खेलमा जितका लागि उसले इन्जुरी समयसम्म नयाँ रणनीति लागू गरेको छ र सफल पनि भएको छ । क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ । थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था ’त्रुटिरहित’ रहेको छ र उक्त टोली ’अपराजित रहनसक्ने’ अड्कलबाजी पनि भइरहेको छ ।
क्रोएसियाका मध्यपंक्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन् । अर्जेन्टिनाविरुद्ध समूह चरणमा उत्कृष्ट खेल्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए ।
स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, ‘सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ र्डोयाएर डालिकले आफूलाई ’दन्त्यकथाको नायक’ जस्तो स्थानमा पुर्याएका छन् ।’
फ्रान्ससँग २० वर्षअघि विश्वकपमा हारेको बदला लिने अवसर पनि हो क्रोयशियलाई आज रातिको प्रतिस्पर्धा । ‘हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ,’ युटार्नयी लिष्टले लेखेको छ ।
फ्रान्सले जित्ने सम्भावना !
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले आजको खेल फ्रान्सले जित्ने सम्भावना प्रवल रहेको औँल्याएको छ । यसअघि गरेका प्रदर्शनलाई आधार मानेर फिफाले गरेको प्रेडिक्सनमा फ्रान्सले जित्ने सम्भावना ५० प्रतिशत रहेको औँल्याइएको छ । बराबरीको सम्भावना २८ प्रतिशत छ भने क्रोएशियाले जित्ने सम्भावना मात्र २२ प्रतिशत छ ।
प्रकाशित समय ०७:४७ बजे