गृहपृष्ठ ठेकेदारले समयमै काम नगरेपछि जनकपुरबासी आजित
ठेकेदारले समयमै काम नगरेपछि जनकपुरबासी आजित
हिलाम्य सडककाे समस्या, खानेपानीकाे झन् ठूलाे समस्या
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले ठेक्का लिएर समयमै ‘काम नगर्ने’ ठेकेदारलाई कारबाही गर्ने घोषणा गरेपछि धेरैलाई अब त केही हुन्छ भन्ने आशा जागेको थियो । दुई तिहाई र बलियो भनिएको सरकारको प्रभावशाली मन्त्रीले घोषणा गरेको कुरा जनताले विश्वास नगर्ने कुरा पनि भएन ।
गृहमन्त्रीको घोषणा भाषमा सीमित हुन्छ भनेर शंका पनि नभएका त होइनन् तर, उनले आफू काम नगर्ने ठेकेदारलाई कारवाही गर्न दृढ रहेको बताएपछि जनताले विश्वास गर्न थाले । तर, गृहमन्त्री थापाको भाषण, भाषणमा सीमित भइसकेको छ ।
ठेक्का लिने तर समयमा काम नगर्ने ठेकेदारहरुले जनतालाई त आजित बनाएका छन् नै सँगै इमान्दार ठेकेदारहरुलाई पनि बद्नाम गरिरहेका छन् । यो नेपालभर नै समस्याको रुपमा रहेको छ । अहिले चर्चा गर्न खोजिएको प्रसँग हो जनकपुरको ।

जनकपुर नगर क्षेत्रमा ढल निकास तथा सडक विस्तारको कार्य ठेकेदारको लापरवाहीले समयमा हुन नसकेपछि स्थानीय जनता आजित भएका छन् । जे.भी. कन्ट्रक्सन तथा स्थानीय ठेकेदार रमन कन्ट्रक्सनले उक्त निर्माण कार्यको जिम्मा पाएका थिए । तर लापरवाही गरी लामो समयसम्म पनि निर्माण सम्पन्न नगर्दा सर्वसाधारण जनता तथा स्थानीय व्यापारीहरु आजित भएका छन् ।
जे.भी. कन्ट्रक्सन सँगको सहकार्यमा रमन कन्ट्रक्सनका प्रोपाइटर बलराम महातोले उक्त निर्माण कार्य गरिरहेका छन् । तर समयमै निर्माण सम्पन्न नगर्दा वर्षाको समयमा धार्मिक नगरीका रुपमा समेत परिचित जनकपुरधाम बेहाल बनेको छ ।
जनकपुर नगर क्षेत्रमा एसियाली विकास बैंकको आर्थिक सहयोगमा करिब २७ किलोमिटरमा ढल निमार्णको साथै कालोपत्रे गर्नुपर्नेछ । ढल निमार्णका लागि ठेकेदार कम्पनीले जनकपुरको अति व्यस्त रहने र जनकपुरकै मुटु मानिने क्षेत्रमा बाटो खने पनि निर्माण कार्य खासै अघि बढाएको छैन । शिव चोकदेखि भानु चोकसम्म, राम मन्दिरदेखि जनक चोक हुँदै शिव चोकसम्म र जनक चोक हुँदै सोनारपट्टी जानकी मन्दिर जोड्ने बाटोमा महिनौंदेखि ठेकेदार कम्पनीले खासै काम अगाडि बढाएको छैन ।
ठेकेदार कम्पनीले स्थानियबासिहरुले अतिक्रमण नहटाएकाले सडक निमार्णमा समस्या भएको ‘रेडिमेड’ जबाफ दिँदै आएको छ । तर जनकपुर उपमहानगरपालिकाले भने बाटोमा परेका घरहरु भत्काएको जनाएको छ । उपमहानगर प्रमुख ललकिशोर साहले बाटोमा परेका घरहरु उपमहानगरकै स्काइभेटर लगाएर भत्काउँदै आएको बताए । स्थानियले बाटोमा परेका घर समयमै खाली नगरेकाले समस्या भए पनि अहिले स्थानिय, व्यापारी व्यवसायीहरुले सहयोग गरेको साहको भनाई छ । कहि कतै समस्या आउँदा सम्वाद मार्फत समस्या समाधान गर्दै आएको साहको भनाई छ ।
उपमहानगरको चारैतिरको बाटो वर्षायाममा खनिँदा सबै पक्षलाई समस्यामा पारेको छ । यसले इ–रिक्सा चालकहरुलाई बढी समस्या हुने गरेको इ–रिक्सा चालक धनेश्वर साह दुःखेसो पोख्छन् । बाटो खनिएको तथा वर्षाको समयमा त्यसमा पानी जमेकाले यात्रुलाई उनीहरुले भनेको स्थानमा पुर्याउन नसकेको उनको भनाई छ । ‘सँधै हिन्दै आएको बाटो खनेकाले जानै नसक्ने भएको छ,’ उनले भने, ‘गल्लीको बाटो जाउँ भने त्यो पनि बिग्रेको छ, अझ त्यहाँ पनि ह्युम पाइप विछ्याउने कार्य भइरहेकाले जताततै समस्यै समस्या छ ।’
गर्मीमा धुलाम्य र वर्षामा हिलाम्य हुने समस्या ठेकेदारको लापरवाहीले जनकपुरबासीले भोग्दै आएका छन् । अझ सडक खनेकाले सामान्य वर्षामा पनि सडक हिलाम्य हुने र ठाउँ ठाउँमा खाल्टा भएकाले जोखिम पनि उत्तिकै भएको स्थानीयको गुनासो छ ।

२ हजार सेवाग्राही खानेपानीबाट बञ्चित
यता, जनकपुरका २ हजार भन्दा बढी घरपरिवार स्वच्छ खानेपानीबाट बञ्चित भएका छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा एकीकृत सहरी विकास परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको ढल निर्माणका लागि सडकमा ह्युम पाइप ओछ्याउने क्रममा खानेपानीको पाइप फुटाएर सेवाग्राहीको घरमा ६ महिनादेखि खानेपानीको एक थोपा समेत जान सकेको छैन ।
खानेपानी संस्थान जनकपुरका प्रमुख कृतभुषणलाल कर्णका अनुसार खानेपानीको पाइप फुटाएकाले सेवाग्राहीको घरमा महिनौंदेखि पानी जान सकेको छैन । ६ महिनादेखि पानी नपाएपछि सेवाग्राहीले खानेपानीको शुल्क भने तिर्दै आएका छन् । माथिल्लो निकायमा यसबारे जानकारी गराउँदै सो अवधिको बिल मिनाहा गर्न सिफारिस गरिसकेको कर्णले बताए ।
जिल्ला मालपोत कार्यालय धनुषादेखि मुरली चोक हुँदै विश्वकर्मा चोकसम्म, परिक्रमा सडक, थापा चोकदेखि भानुचोकसम्म, पेठिया बजारस्थित रहिम पथ, कन्या पाठशालालगायतको ठाउँमा खानेपानीको पाइप चुँडिएको छ । ढल निमार्णको क्रममा खानेपानीको चुँडिएको पाइप ठेकेदार कम्पनीले नै गाड्नुपर्ने सम्झौता भएकाले आफूले ठेकेदार कम्पनीसँग छलफल गरि पाइप जडान गराउन पहल गरेको उनले बताए ।
श्रद्धालुहरुलाई सास्ती
जनकपुरधाममा निर्माणाधिन ढल निकासको कार्यले सडक जहिँतहीँ खनिएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुले सास्ती भोग्नु परेको छ । साउनको महिनासमेत भएकाले आन्तरिक श्रद्धालु भत्तजनका साथै भारतको विभिन्न ठाउँबाट दैनिक आउने हजारौं श्रद्धालु भक्तजनहरुलाई सडक विस्तारका कारण समस्या हुने गरेको छ ।
रामानन्द चोकदेखि जानकी मन्दिर, शिव चोक र जनक चोदेखि जानकी मन्दिर पुग्न घण्टौं लाग्ने गरेको छ । फोहोर र सडक खनेकाले आवत जावतमा समस्या भएकाे छ । यसका कारण जनकपुरप्रतिकै नकारात्मक धारणा बन्ने त होइन भनि जनकपुरका बुद्धिजीवीहरु चिन्तित बनेका छन् ।
व्यापार व्यवसाय ठप्प
ढल निकासका क्रममा सडक विस्तार, ह्युम पाइप जडानको कार्य समयमै सम्पन्न नहुँदा जनकपुरका व्यापारीहरु समस्यामा परेका छन् । जनकपुरको मुख्य व्यापारिक क्षेत्र जानकी चोक, जनक चोक, शिव चोक, भानुचोक, मिल्स एरियामा महिनौंदेखि निमार्ण कार्यले पूर्णता नपाउँदा व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको व्यापारीले बताएका छन् ।
सडक विस्तारका क्रममा सटरसमेत फुटाइएकाले करिब ६ महिनादेखि व्यवसाय गर्न नसकेको बिन्दास रेडिमेडका सञ्चालक ललित झा बताउँछन् । यो समय धार्मिक नगरी जनकपुरमा आन्तरिक र बाह्य पर्यटकको घुइचो लाग्ने गरेको भएपनि यस वर्ष त्यसले रौनक थप्न नसकेको झाको भनाई छ ।
तस्बिर : दीपेन्द्रप्रसाद सिंह/ न्युज काराेबार
प्रकाशित समय १७:३१ बजे

















