गृहपृष्ठ आम्दानीको आफ्नै स्रोत नहुने नेताले भ्रष्टाचार गर्छन् : उद्यमी दुलाल

आम्दानीको आफ्नै स्रोत नहुने नेताले भ्रष्टाचार गर्छन् : उद्यमी दुलाल

saroj-dulal-newskarobar

पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवं उद्यमी सरोज दुलाल राजनीति गर्नेहरुका लागि गतिलो उदाहरण बनेका छन् । धरानको महेन्द्र क्याम्पसबाट बिबिएस र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको उच्च शिक्षा हासिल गरेका दुलालले राजनीति गर्नेहरुले चरम भ्रष्टाचार गर्ने गरेको गुनासा एवं खबर आइरहेका बेला सिंगो राजनीतिक वृत्तमै उदाहरणीय र आदर्शवान नेताका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् ।

बाल्यकालदेखि नै विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित भएर कक्षा ६ मा अध्ययन गर्दै गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका दुलालले उक्त संगठनको विभिन्न तह र तप्कामा बसेर कुलश नेतृत्व प्रदान गरिसकेका छन् । २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा प्रजातन्त्र प्राप्तिका लागि र ०६२÷६३ को जनआन्दोलनमा गणतन्त्र प्राप्तिका लागि अग्रपंक्तिमा रहेर आन्दोलनको मोर्चा सम्हालेका दुलालले नेपाल विद्यार्थी संघको जिल्ला कमिटी र अञ्चल कमिटीको नेतृत्व गरिसकेका छन् । २०४९ सालमा कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका सरोज दुलालले कार्यकारी पदमा नरहेर पनि विभिन्न तह र तप्कामा रहेर कुशल नेतृत्व प्रदान गरिसकेका छन् ।

शिक्षित, प्रभावशाली र प्रखर युवा नेताका रुपमा चिनिँदै आएका नेता दुलाल राजनीतिलाई धेरैले पेसा बनाइरहेका बेला उनी भने राजनीतिलाई केवल सेवाको रुपमा लिन्छन् । जेसिस, रेडक्रस, लायन्स क्लबलगायत विभिन्न संघ–संस्थामा आबद्ध भएर समाजसेवामा पनि सधैं अग्रसर बन्दै आएका दुलाल कृषिक्षेत्रको विकासबिना मुलुकको समृद्धि कल्पना नै गर्न नसकिने बताउँछन् ।
उनी भन्छन्, ‘विरोधका लागि विरोध होइन । यहाँ मुलक समृद्धिको कुरा गरिएको छ । सरकारले देशको समृद्धि गर्छु भन्छ तर कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी कृषिक्षेत्रको योगदान भए पनि कृषिक्षेत्रलाई नै उपेक्षा गरिँदै आएको छ । देशको सबैभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । तर, सरकारबाट यो क्षेत्र उपेक्षित छ । कृषिक्षेत्रको विकासबिना कसरी देशको समृद्धि हुन्छ ?’

साहित्यमा पनि विषेश रुचि राख्ने युवा नेता तथा उद्यमी दुलालका थुप्रै लेख तथा रचना प्रकाशित भएका छन् । समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारिता क्षेत्रमा पनि विशेष चासो राखेर दुलालले केही समय पत्रकारिताको समेत अनुभव बटुलेका छन् ।

सानैदेखि राजनीति गर्ने मान्छेले बेरोजगार नबसी कुनै न कुनै रुपले आम्दानीको स्रोत बनाइनुपर्छ भन्ने सोचाइ राख्ने दुलाल आम्दानीको स्रोत नहुने व्यक्ति राजनीतिमा लाग्दा भ्रष्टाचार मौलाउने बताउँछन् । उनी भन्छन्, ‘राजनीति केवल सेवामात्र हो । यो पेसा होइन । त्यसैले आम्दानीको आफ्नै स्रोत जुटाउनुपर्छ । अन्यथा भ्रष्टाचारको विकल्पै रहँदैन ।’

राजनीति गर्ने व्यक्तिले आयआर्जनको स्रोत जुटाउनैपर्छ र कृषिक्षेत्रको उत्थानबिना देशले कोल्टे फेर्दैन भन्ने लागेर दुलालले कृषि उद्यमीसमेत बनेर आधुनिक माछापालन व्यवसायसमेत सुरु गरेका छन् ।

राजनीति गर्ने मान्छेले पेसा व्यवसाय गर्नु हुँदैन भन्ने गलत मान्यता राख्दा देश उँभो नलागी भ्रष्टाचार मौलाएको दुलाल बताउँछन् । उनी भन्छन्, ‘राजनीति गर्नेले रोजगारी, पेसा व्यवसाय गरेको कमै मात्रामा पाइन्छ । राजनीतिलाई पेसा बनाउने व्यक्तिले भ्रष्टाचार नगरी हुँदैन किनकि ऊसँग आम्दानीको बाटो हुँदैन । अनि भ्रष्टाचार भएपछि देश कसरी उँभो लाग्छ । जबसम्म राजनीति गर्ने मान्छेले आफ्नै आम्दानीको स्रोत बनाउँदैन तबसम्म भ्रष्टाचार अन्त्य हुने कुरा कल्पनासमेत गर्न सकिँदैन ।’

सानैदेखि राजनीतिमा लागेका दुलाल लामो समयदेखि सरकारले कृषिक्षेत्रलाई प्रथामिकतामा राख्ने बताउँदै आए पनि कार्यान्वयन नभएको देखेपछि आफैं कृषिक्षेत्रमा लागेका छन् । कृषिको विकासका लागि आफैंले केही गरौँ भन्ने उनको सोच छ । नेपाल कृषि प्रधान देश भएकाले कृषिक्षेत्रको विकास र किसानको उन्नति प्रगतिबिना देशले कोल्टे फेर्दैन भन्ने लागेर उनी कांग्रेसनिकट किसान संघमा आबद्धसमेत भएका छन् । किसान संघमार्फत कृषिक्षेत्रको उत्थान र विकास, आम कृषकको भलाइ र कृषकका अधिकारका लागि खरो रुपमा आवाज उठाउँदै आएका दुलाल आफैं एक सफल कृषि उद्यमी पनि हुन् ।

उनले केही वर्षदेखी मोरङको धनपालथान गाउँपालिकास्थित दादरवैरियामा ठूलो क्षेत्रफलमा माछा फर्म सञ्चालन गर्दै आएका छन् । जबसम्म आफैं कृषिक्षेत्रमा लागिँदैन तबसम्म कृषिक्षेत्र र किसानका लागि केही गर्न सकिँदैन भनेर नै दुलालले आफूसँग भएको सम्पत्तिलाई सदुपयोग गरेर बैंकमार्फत ऋण लिएर मोरङको धनपालथान गाउँपालिकाको दादरवैरियामा आधुनिक तवरबाट झन्डै डेढ वर्षअघि १५ बिघामा माछापालन व्यवसाय सुरु गरेका हुन् । ‘मैले यो फर्म सञ्चालन नगर्दा पनि हुन्थ्यो,’ उनले भने ‘तर कृषिक्षेत्रको उन्नति, कषकको आवाज उठाउन र कृषककै हकहितका लागि लड्नकै लागि फर्म सञ्चालन गरेको हुँ ।’

उच्च शिक्षा हासिल गरेर राजनीतिमा पनि सक्रियतापूर्वक लाग्दै आएका दुलालले राम्रो जागिर खाने वा विदेशतिर गएर आनन्दको जिन्दगी पनि बिताउन सक्थे तर उनले त्यस्तो कहिल्यै सोच बनाएनन् । बरु उल्टै आफूसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरेर कृषिक्षेत्रमा केही गरौँ भनेर माछापालन व्यवसाय सुरु गरे ।

maccha2-newskarobar

राजनीति गर्नेहरु र शिक्षित युवा कृषिक्षेत्रमा लागेर पनि आधुनिक तरिकाले व्यवसाय गरी कृषक र राज्यका लागि ठूलो योगदान दिन सक्छन् भन्ने मान्यता राख्छन् । त्यसैले उनी कृषिक्षेत्रकै लागि चिन्तित देखिन्छन् । यो क्षेत्रका लागि नयाँ योजना बनाउन लागिपरेका छन् । उनले धनपालथान गाउँपालिका–६, दादरवैरियामा शुभ सहयात्री प्रालि कृषि फर्म दर्ता गरेर १५ वटा पोखरीमा माछा पालेका छन् ।

दुलाल किसान संघको केन्द्रीय पार्षद भइसकेका छन् । आगामी महाधिवेशनबाट सभापतिको दाबेदार रहेका उनी कृषिक्षेत्रमा आधुनिक तबरले काम गर्ने भनेर लागे पनि अनेकौँ समस्या रहेको सुनाउँछन् । ‘यस क्षेत्रमा धेरै समस्या छन्,’ उनी भन्छन्, ‘त्यही समस्या समाधानका लागि म सधैं लागि परिरहनेछु ।’

दुलालले हाल ६–७ जनालाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएर रोजगारी दिएका छन् । पोखरी क्षेत्रमै उनी कुखुरा, बाख्रा, बंगुर, हाँसलगायतका पशुपन्छीपालन थप गर्दै लैजाने योजनामा छन् । कृषि फर्ममा उत्पादित माछा स्थानीय बजारमै खपत हुन्छ । ‘स्वदेशी माछाको माग अत्यधिक छ,’ उनी भन्छन्, ‘तर उत्पादन गर्नै सकिँदैन ।’

नेपालको बजार ७५ प्रतिशतभन्दा बढी भारतीय माछाले ओगटिरहेका बेला सरकारले सो क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादकत्व वृद्धि गर्न नसकेको उनको टिप्पणी छ । ‘सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन । यहाँको माछाले मात्र बजारमा माग धान्न सकिएको छैन । यसमा धेरै सम्भावना छ तर सरकार उदासीन छ,’ उनले भने ।

सरकारले माछापालनका लागि आवश्यक तालिम, माछाका लागि दाना उत्पादन, अनुदान र कृषि बिमामा दिइने ७५ प्रतिशत अनुदानको दायरा बढाएर शतप्रतिशत पुर्याउनुपर्ने उनको माग छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत माछा जोन कार्यक्रम सञ्चालन गरेको भए पनि त्यसको आभाष वास्तविक कृषकसम्म नपुगेको दुलालको गुनासो छ । सरकारले माछापालन व्यवसायलाई भुरादेखि दानासम्ममा सहुलियत दिए माछाको परनिर्भरता न्यूनीकरण हुने उनको भनाइ छ ।

विद्यमान समाज परिवर्तनका लागि सानैदेखि राजनीतिमा लाग्दै आएका दुलाल वर्तमान राजनीति बिग्रँदै गएको बताउँछन् । उनले भने, ‘वर्तमान राजनीति बिग्रिएको छ । जुनसुकै पार्टी किन नहोस् ? चाकडी, चाप्लुसी, नातावाद र कृपावादले राजनीतिक क्षेत्र जेलिएको छ । यसले गर्दा देश र जनताका लागि केही गरौँ भन्ने सोच बनाएका हामी जस्ता कार्यकर्ता ओझेलमा परे जस्तो भने पक्कै देखिएको हो ।’

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु