गृहपृष्ठ विश्वकपमा म्याराडोना र रोनाल्डोसँग बराबरी गर्ने काे हुन् लुकाकु ?
विश्वकपमा म्याराडोना र रोनाल्डोसँग बराबरी गर्ने काे हुन् लुकाकु ?
२३ वर्षको उमेरमै प्रमियर लिगमा ५० बढी गोल गर्ने पाँचवटा खेलाडीमध्ये एक हुन् लुकाकु

खेलमा दोहोरो गोल गरेका लुकाकुले यस विश्वकपमा चार गोल गर्दै सर्बाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गर्नुका साथै विश्वकपको लगातार दुई खेलमा दुई गोल गर्ने खेलाडीका रुपमा अर्जन्टिनी स्टार डियगो म्याराडोनासँग बराबरी गरेका छन् ।
रोनाल्डोले स्पेनसँग ह्याट्रिक र मोरोक्कोसँग एक गोल गर्दै यस विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडीको शीर्षमा स्थान बनाएका थिए । लुकाकुले यसअघि पानामाविरुद्ध पनि दुई गोल गरेका थिए ।
म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्याण्ड र बेल्जियमसँग लगातार दोहोरो गोल गरेका थिए । त्यसयता कसैले लगातार दुई खेलमा दुई गोल गर्न सकेको थिएन् । जसको बराबरी यसपटक लुकाकुले गरेका हुन् ।
यस्तै लुकाकु विश्वकप तथा युरोपियन च्याम्पियन्ससिप जस्ता ठूला प्रतियोगितामा बेल्जियमका लागि सर्बाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । लुकाकुले बेल्जिमयका अन्तिम ११ खेलमा १७ गोल गरेका छन् । ती खेलहरुमा यसै जुनमहिनाको सुरुवातमा भएको पोर्चुगलविरुद्धको खेलमा बाहेक उनले सबै खेलमा गोल गरेका छन् ।
लुकाकु इंङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि खेल्ने गर्छन् । २३ वर्षको उमेर अघि प्रमियर लिगमा ५० बढी गोल गर्ने पाँचवटा खेलाडीमध्ये उनी पनि एक हुन् र प्रिमियर लिगमा १०० गोल गर्ने उनी पाँचौं युवा खेलाडी पनि हुन् ।
बेल्जियमको स्थानिय क्लब रुपेल बुमबाट लुकाकुले आफ्नो फुटबल करिअर सुरु गरेका थिए । पछि उनले बेल्जियमका क्लबहरु लिर्से र एन्डरलेच्टबाट खेले । एन्डरलेच्टले २००९–१० को सिजनमा बेल्जियम च्याम्पियन्सिप जित्दा उनी सर्बाधिक गोलकर्ता थिए ।
स्कुल पढ्दा नै उनले १६ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । २०१० को क्रोयसियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनी सिनियर टोलीमा परेका थिए । २०१० यता राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका लुकाकु बेल्जियमका सर्बाधिक गोलकर्ता हुन् । ७१ खेल खेल्दै उनले ४१ गोल गरेका छन् ।
२०११ मा लुकाकुलाई चेल्सीले किन्दै प्रिमियर लिगमा भित्र्याएको थियो । तर, चेल्सीले उनलाई दुई वर्ष कहिले बेष्ट ब्रुम र कहिले इभर्टनलाई ऋणमा बेच्यो । ऋणमै रहेपनि निरन्तरको मेहनतसँगै उनले गतिलो छाप छाडेपछि उनलाई इभर्टनले २०१४ मा क्लबकै सर्बाधिक महँगो खेलाडीका रुपमा २८ मिलियन पाउण्डमा भित्र्याएको थियो । तीनवर्ष त्यहाँ विताएका उनले १ सय १० खेल खेल्दै ५३ गोल गरेका थिए ।
लुकाकुलाई २०१७ मा म्यानचेस्टर युनाईटेडले क्लबकै महँगो खेलाडीका रुपमा ९० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । त्यसयता युनाइटेडबाट ३४ खेल खेल्दै उनले १६ गोल गरिसकेका छन् ।
प्रकाशित समय १०:०३ बजे