गृहपृष्ठ मानाे राेपेर मुरी फलाउने पर्व

मानाे राेपेर मुरी फलाउने पर्व

कृषकको दही चिउरा देखि मन्त्रीको धान रोपाईँसम्म

काठमाडौँ । आज असार १५ अथार्त दही चिउरा खाने दिन । सरकारले असार १५ लाई धान दिवसको रुपमा समेत मनाउने गरेको छ । असार १५ लार्इ नेपालमा मानाे राेपेर मुरी फलाउने पर्वका रूपमा समेत मनाउने गरिन्छ ।

कृषिप्रधान देश नेपालमा हरेक वर्षको असार १५ गते दही चिउरा खाने चलन छ । कृषकहरु हिलोमा रोपाईं गरि आफ्ना दुख पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने पुरानो प्रचलन हो । धार्मिक मान्यता नभए पनि परम्परागत रुपमै दही चिउरा खाने गरिन्छ ।

हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले चिसो निराकरणका लागि दही महत्वपुर्ण हुने चिकित्सकहरुको भनाइ छ । ‘वर्षायाम भएकाले पानीमा काम गर्दा शरिर भिजेर ढाडिन्छ, जसले गर्दा पखाला समेत लाग्न सक्छ’ शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. दिनेश भण्डारीले भने, ‘यस्तो अवस्थामा दहीको महत्व बढि हुन्छ ।’ अरु दिनको तुलनामा आज बजारमा दहीको माग समेत बृद्धी भएको छ । आज दही माग गर्दै आउने उपभोक्ताको संख्या उच्च रहेको व्यवसायीहरुको भनाइ छ । असार १५ विशेषगरी कृषिसँग जोडिएपनि अहिले शहरी परिवेशमा पनि असार १५ गते खाने परिकार फैलिदै गएको छ ।

पछिल्ला केही वर्ष देखी सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ । धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि मन्त्रीदेखि रक्षामन्त्री सम्मले धान रोप्दैछन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चन्द्रप्रकाश खनालले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेटअगाडि धान रोप्दैछन् । त्यहाँका राजा शुद्धोधनले सुनको हलोले जोतेर पहिलोपटक धान खेती शुरु गरेको किम्बदन्ती छ । त्यसैसँग जोडेर आयोजना गरिएको महोत्सवमा मन्त्री खनालले धान रोप्न लागेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि धान रोपाईंमा सहभागी हुँदैछन् । युवा संघ र वाईसियलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले धान रोप्न लागेका हुन् । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि काठमाडौंको बौद्धमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सरिक भएर धान रोप्ने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु