गृहपृष्ठ नेकपाको नियमावली पारित : हटाइयो ७० वर्षे उमेर हद
नेकपाको नियमावली पारित : हटाइयो ७० वर्षे उमेर हद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी संगठनहरुको एकताको आवधिक कार्ययोजना बनाउने निर्णयसहित नियमावली पारित गरेको हो ।
स्थायी कमिटी बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो । नियमावली प्रकाशन हुन भने केही दिन लाग्ने नेकपाले जनाएको छ ।
हटाइयो ७० वर्षे उमेर हद
नेकपाको नयाँ नियमावलीमा तत्कालीन नेकपा एमालेले नै नवौं महाधिवेशनबाट राखेको ७० वर्षे उमेर हद हटाइएको छ । ७० वर्ष कटेपछि पार्टीको कुनै पनि कार्यकारी पदमा नरहने व्यवस्था राख्दा, अधिकांश शीर्ष नेताले आउँदो महाधिवशेनबाट अवकाश लिनुपर्ने हुँदा उमेर हद हटाइएको हो ।
अध्यक्ष बन्न नपाउने हो कि भन्ने चिन्ताले नेताहरु वामदेव गौतम, माधवकुमार नेपाललगायतले उमेर हदको पहिल्यै विरोध गर्दै आएका थिए । उमेर हद हटाइएपछि युवा नेताहरुले विरोध गरेका छन् । नेता योगेश भट्टराईले स्थायी समिति बैठककै नियमावलीको ड्राफ्टमा उमेर हद छुटाइएको भन्दै विरोध जनाएका थिए ।
नियमावली पारित भइसकेकाले बिहीबार बस्ने सचिवालय बैठकले पार्टीका जनवर्गीय संगठनको एकताका लागि समय तोकेरै कार्ययोजना बनाउने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रकाशित समय १६:२४ बजे