गृहपृष्ठ निगमको दोस्रो वाइड बडी ‘मकालु’ विमान साउन ११ गते आइपुग्ने
निगमको दोस्रो वाइड बडी ‘मकालु’ विमान साउन ११ गते आइपुग्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बडी विमान यही साउन ११ गते काठमाडौं आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउँने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । ‘दोस्रो वाइड बडी विमान भित्र्याउँनका लागि निगमको एक समूह शुक्रबार फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धकसहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ,’ उनले भने ।
वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौं आउनेछ । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमान फ्रान्सको तुलुज शहरबाट नौं घण्टाको उडानपछि काठमाडौं आइपुगेको थियो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्बको ऋणबाट दुई विमान खरिद गरिएको निगमले जनाएको छ ।
निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आइसकेको छ भने दोस्रो विमान आगामी शुक्रबार काठमाडौं आइपुग्नेछ ।
२०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।
निगमका अनुसार विमानको प्रति थान मूल्य १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । दुबै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बडी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।
वाइड बडी विमानका लागि विमान चालक (पाइलट) को व्यवस्थासमेत भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘वाइड बडी उडाउने पाइलट तयार भइसकेका छन् केही आउने क्रममा छन् । दोस्रो वाइड बडीका लागि पनि चाँडै पाइलटको व्यवस्था हुनेछ,’ उनले भने ।
निगमका अनुसार अब आउने थप वाइड बडी विमानसमेतलाई दृष्टिगत गरी जम्मा १३ वटा विमानलाई पाइलट ११६ जना चाहिने भए पनि हाल निगमसँग जम्मा ८८ जना मात्र पाइलट छन् । थप २८ जना पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने निगमको भनाइ छ ।
निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी पाइलटहरु कारारमा नियुक्त गर्दै जाने नीति लिएको हालै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसका साथै निगमभित्रका पाइलटलाई पनि तालीम दिँदै क्रमिकरुपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने निगमले जनाएको छ ।
निगमका अनुसार आन्तरिक उडानका लागि चिनियाँ वाई–१२ र टुइनअटर विमानका लागि विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी १२ लाख तलब भत्ता (करसहित) लाग्ने देखिएको छ भने वाइड बढी ए ३३०–२०० को लागि क्याप्टेनको अन्दाजी १८ लाख र को–पाइलटको १२ लाख लाग्नेछ । हालको अवस्थामा नयाँ विमान थप्दै जाने हो भने विदेशी पाइलटकै भर पर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास निगमले लिएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी भइरहेको जनाइएको छ ।
विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीतिसमेत निगमको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए ।
हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् ।
(सिवी अधिकारी/रासस)
प्रकाशित समय १७:११ बजे

















