गृहपृष्ठ किसानका लागि १२ अर्ब डलरको योजना सार्वजनिक
किसानका लागि १२ अर्ब डलरको योजना सार्वजनिक
अमेरिकाले व्यापार युद्धबाट प्रभावित आफ्ना किसानलाई लक्षितगरी १२ अर्ब डलरको योजना ल्याएको छ । अधिकारीहरूका अनुसार आपतकालिन सहायताको १२ अर्ब डलरमध्ये अधिकांश रकम भटमास, गहुँ लगायत उत्पादन गर्ने किसानहरूलाई सीधै जानेछ । केही रकम निर्यात बढाउनका लागि खर्च हुनेछ । सहायता कार्यक्रम अन्तर्गत पहिलो किस्ताको रकम सेप्टेम्बरबाट बाँड्न शुरू गरिने बताइएको छ ।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमासलगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरेको हो । किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उत्पादन खरिद गर्नेलगायतका प्रतिबद्धता उक्त योजनामा सामावेश छन् । आफ्नो समर्थनको एउटा मजबुत आधारका रुपमा रहेका किसानहरूबाट चर्को आलोचना खेपेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
ट्रम्पले आफूले लगाएका कर अन्य मुलुकको अमेरिकाप्रतिको नीति परिवर्तनका लागि दबाब सिर्जना गर्नका लागि भएको स्पष्टिकरण दिएका छन् । मंगलवार ट्रम्पले अरू देशहरूले अमेरिकासँग नयाँ सम्झौताहरू गरेपछि त्यसको ’सबैभन्दा ठूलो फाइदा किसानलाई हुने’ बताए । तर, निर्यातबाट करिब २० प्रतिशत आम्दानी भित्र्याउने कृषि उद्योगले राष्ट्रपतिको कदमबाट आफ्ना उत्पादनको मागलाई असर पार्नुका साथै खरिदकर्ताहरूसँगको सम्बन्धमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
ट्रम्पको करको जवाफमा एउटा प्रमुख खरिदकर्ता चीनले कर लगाएपछि एप्रिलयता भटमासको मूल्यमा १५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । अमेरिकी कृषि मन्त्रालयले व्यापारसम्बन्धी विवादका कारण करिब ११ अर्ब डलर बराबरको घाटा हुने बताएको छ ।
प्रकाशित समय ०७:०६ बजे

















