गृहपृष्ठ मोरङमा ५५ हजार सवारीसाधन कारबाहीमा

मोरङमा ५५ हजार सवारीसाधन कारबाहीमा

सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन मोटरसाइकलबाट, साढे तीन करोड राजस्व संकलन

jilla prahari karyalaya-biratnagar

प्रदेश १ को अस्थायी राजधानी रहेको मोरङ जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा सवारी साधनमाथि गरिएको ट्राफिक कारबाहीबाट करिब साढे ३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ५४ हजार ९ सय १६ वटा सवारी साधनमाथि गरिएको ट्राफिक कारबाहीबाट ३ करोड ४१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्ममा गत ७ हजार ६ सय ६५ वटा ट्रकलाई कारबाही गरी ३९ लाख ४६ हजार रुपैयाँ राजस्व असुल गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार चार हजार २२ वटा बसलाई कारबाही गरी १९ लाख १ हजार ५ सय रुपैयाँ, ११ हजार ५ सय ४७ कार/जिप/भ्यानलाई कारबाही गरी ५९ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व असुल गरिएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको सोही अवधिमा ५ हजार ४ सय ४२ ट्रयाक्टरलाई ट्राफिक नियम उल्लंघन गरेबापत कारबाही गरी २७ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

सो अवधिमा १९ हजार ७ सय ९७ मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट एक करोड २१ लाख ८ हजार रुपैयाँ असुली भएको छ । त्यस्तै, ट्राफिक नियम मिच्ने ६ हजार ३ सय ४३ ट्याम्पोलाई कारबाही गर्दा ३१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

प्रकाशित समय २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु