गृहपृष्ठ तर, सजिलो छैन इमरानलाई
तर, सजिलो छैन इमरानलाई
त्यसो त अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पाकिस्तानको निर्वाचनमा पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)ले विजय हासिल गर्ने अनुमान पहिल्यै गरेका थिए । यस्तो अनुमान पाकिस्तानमै पनि गरिएको थियो । निर्वाचन परिणामले पनि यसलाई ‘सत्य सावित’ गरिदिएको छ ।
पूर्वक्रिकेटर इमरान खान नेतृत्वको पिटिआईले निर्वाचन जित्छ भन्दै गर्दा दुईवटा आधारहरु दिइएको थियो । त्यसमा पनि पहिलो थियो– पाकिस्तानी सेनाको साथ । र दोस्रो, थियो उनको लोकप्रियता । तर, जे भए पनि इमरानको पार्टीले पाकिस्तानी जनताको भोट पाएर नै निर्वाचन जितेको भन्ने कुरामा शंका गरिरहनु आवश्यक छैन ।
पाकिस्तानको हालै सम्पन्न निर्वाचनमा पिटिआईले ‘जित’ हात पारे पनि बहुमत पाउन सकेन । त्यसैले यो निर्वाचनले खानलाई सत्ताको सिँढीमा चढाउने सम्भावना जति नजिक छ, उत्ति नै राजनीतिक अस्थिरता निम्तने खतरा पनि । त्यसैले अस्थिरतापूर्ण पाकिस्तानी राजनीतिमा इमरान अर्काे एउटा पात्र बन्ने सम्भावना रहेको कतिपयको बुझाइ छ ।
त्यसो किन पनि भने सबैजसो राजनीतिक दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइसकेका छन् । यसले पिटिआईलाई सत्तारोहणमै समस्या हुने देखिएको छ । पाकिस्तानको संसदीय निर्वाचनमा कुल २ सय ७२ सिटमध्ये पिटिआईले १ सय १८ सिट जितेको छ ।
त्यसैले पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्नका लागि इमरानको पार्टीले १९ सिट ‘खोज्नुपर्छ’ । तर, कसरी ? आगामी दिनमा घटनाक्रम कसरी अघि बढ्लान् त्यो फरक पाटो हो, तर अहिल्यै उनको दललाई समर्थन गर्न अरु दल तैयार देखिएका छैनन् । अब इमरान खान प्रधानमन्त्री निर्वाचित हुनका लागि आवश्यक बहुमत कहाँबाट जुटाउँछन् ? यो महत्वपूर्ण प्रश्न हो ।
इमरानको पार्टीले विजय हासिल गरेको भए पनि अन्य राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । यो प्रश्न निर्वाचन पहिले पनि उठ्दै आएको थियो । खासगरी पाकिस्तानी सेनाप्रति लक्षित यो प्रश्नको सम्बोधन गर्न पाकिस्तानी सेनाका प्रवक्ताले पटक–पटक प्रयास गरेका थिए । यति हुँदाहुँदै पनि यसले निरन्तरता पाई नै रह्यो । पाकिस्तानका अन्य राजनीतिक दलले धाँधली भएको आरोप लगाउँदै पुनः ‘निष्पक्ष र पारदर्शी’ निर्वाचनको माग गरेका छन् । उनीहरुको मागबमोजिम निर्वाचन होला÷नहोला, त्यो भविष्यले देखाउला तर इमरान चौतर्फी राजनीतिक घेरामा पर्ने सम्भावना भने यो प्रतिक्रियाले दिएको छ ।
पाकिस्तानका राजनीतिक दलहरु पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन), मुत्ताहिदा मजलिस–ए–अमल (एमएमए), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम–पी), पाक सरजमिन पार्टी (पिएसपी), एएनपी, क्युडब्लुपी तथा एनपीले शुक्रबार बैठक गरे । पिएमएल–एनले आयोजना गरेको यो बैठकलाई ‘अल पार्टिज कन्फ्रेन्स (एपिसी)’ नाम दिइएको थियो । बैठकले पुनः निष्पक्ष र पारदर्शी निर्वाचन नभएसम्म इमरान खानको पिटिआईका सांसदलाई संसदमा प्रवेश नदिने निर्णय गरेको छ । उनीहरुले संसदको कारबाही चल्न नदिने निर्णयसमेत गरेका छन् ।
अर्थात्, इमरानका लागि संसद भवनमा प्रवेश गरी संसदीय कारबाही सुरु गर्नु नै प्रमुख चुनौतीका रुपमा रहेको देखिन्छ । यसले पाकिस्तानको भावि राजनीतिक अस्थिरता देखाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विश्लेषण हुन थालेको छ ।
बैठकको अध्यक्षता गरेकामध्ये एमएमएलका अध्यक्ष मौलाना फजलुर रहमानले बैठकलाई सम्बोधन गर्दै यो निर्वाचनको परिणाम अस्वीकार्य हुने बताएको ‘आज तक’ले लेखेको छ । उनले निर्वाचनमार्फत जनादेशको ‘चोरी’ गरिएको आरोप लगाउँदै त्यसो गर्नेहरु (पिटिआईका सांसद) लाई संसद भवनमा प्रवेश गर्न नदिने बताएको सो समाचारमा उल्लेख छ ।
शुक्रबारको उक्त बैठकमा सहभागी दलका निर्वाचित सांसदले सपथ नलिनेसमेत बैठकको निर्णय छ । उनीहरुले निर्वाचनमा भएको भनिएको धाँधलीविरुद्ध आन्दोलन गर्ने एवं पुनः निर्वाचन गर्नुपर्ने मागसहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । विरोध कार्यक्रमको समय तालिका छिट्टै सार्वजनिक गर्ने उनीहरुको भनाइ छ ।
निर्वाचनमा पार्टीले पाएको विजयको खुसियाली मनाउन नपाउँदै पिटिआईका नेता इमरान खानमाथि अन्य राजनीतिक दललाई विश्वासमा लिनु प्रमुख चुनौती रहेको देखिन्छ । तर, के ती राजनीतिक दलले भनेको जस्तै पिटिआईलाई संसद प्रवेशमै रोक लाग्ला ! या फेरि उनीहरुको मागबमोजिम निर्वाचन होला ? पुनः निर्वाचन हुने सम्भावना न्यून देखिए पनि इमरानको सत्तारोहण र पाकिस्तानको राजनीतिक स्थिरताका अघिल्तिर कठिन मोड भने प्रस्टै देखिन्छ । क्रिकेटका जादुगर इमरानले राजनीतिमा पनि अलराउन्डरको भूमिका निर्वाह गर्दै विपक्षीलाई साथ लिन सक्लान् ? हो यही प्रश्नको उत्तर इमरान खानले व्यवहारले दिनुपर्नेछ ।
प्रकाशित समय १७:३९ बजे

















