गृहपृष्ठ भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ : प्रधानमन्त्री
भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताएका छन् । ‘हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौं ।’
नेपाल ट्रेड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सरकार गठन भएको पाँच महिना मात्रै भए पनि यो अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गरे ।
‘हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौंका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्,’ प्रधानमन्त्रीले ओलीले भने, ‘यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौंको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछाैं र आगामी दुई वर्षभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउँछौं ।’
उनले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने जानकारी दिए ।
‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।’ शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।’
दुगर्ममा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्ने भन्दै उनले सेवा सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको बताए । अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाए ।
प्रधानमन्त्रीले नेपालमा भित्र्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानुनी तवरले कुनै पनि रकम ल्याउन नदिइने दावी गरे । ‘हुन्डी, कालोधन, गैरकानुनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानुनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।’ उनले भन, ‘भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।’
माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा उनले आपत्ति प्रकट गरे । उनले भने, ‘माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुपर्यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ ।’
प्रधानमन्त्री ओलीले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गरे । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै उनले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गरे ।
नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताए । मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उनले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमा समेत ठगी र गलत धन्दा गर्न/गराउन नपाइने स्पष्ट पारे ।
तुइन विस्थापित भयो
कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिए । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गरे ।
कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थासमेत अन्त्य भएको जानकारी दिँदै उनले केही समयभित्रै अन्य स्थानका तुइन पनि विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताए ।
प्रकाशित समय १८:०४ बजे