गृहपृष्ठ दोषी किटानी नगरी प्रतिवेदन बुझाइयाे

दोषी किटानी नगरी प्रतिवेदन बुझाइयाे

प्रतिवेदनकै आधारमा कारबाही गर्छु : गृहमन्त्री

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले अभियुक्तको विषयमा उल्लेख नै नगरी प्रतिवेदन बुझाएको छ ।

समितिले प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई मंगलबार बुझाएको प्रतिवेदनमा निर्मलाको हत्या गर्ने अभियुक्तबारे खुलाइएको छैन । सहसचिव हरिकुमार मैनाली संयोजक रहेको छानबिन समितिको अध्ययनले रहस्यको पोको खोल्ने अपेक्षा गरिए पनि अभियुक्तको विषय सार्वजनिक नगरी आशंका गरिएका व्यक्तिलाई अनुसन्धानका लागि सिफारिस गरेको भनिएको छ ।

प्रतिवेदन बुझाउन पुगेको टोलीका साथमा गृहसचिव प्रेमकुमार राई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी लगायत सुरक्षा निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

गृहमन्त्री थापाले प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गरिने प्रतिबद्धता त जनाएका छन् तर, गुपचुप प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक नहुँदा अन्योल बढेको छ । सहसचिव हरि कुमार मैनालीको संयोजकत्वमा सरकारले गत भदौ ७ मा पाँच सदस्य छानबिन समिति गठन गरी पुनः १५ दिन म्याद थप्दासमेत रहस्य खुल्न सकेन ।

तत्कालिन एसपी डील्लीराज विष्ट नेतृत्वको कञ्चनपुर प्रहरीले दिलिपसिंह बिष्टलाई हत्या आरोप लगाए पनि स्थानीयले निर्दोष भन्दै आन्दोलन चर्काएका थिए । सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएसँगै नयाँ शिराबाट अनुसन्धान थालिएको थियो । मुख्य अभियुक्त दाबी गरिएका दिलिप डीएनए परीक्षणका आधारमा निर्दोष सावित भइसकेका छन् ।

गत साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको शव उल्टाखामस्थित उखुबारीमा साउन ११ गते भेटिएको थियो । हत्याको दुई महिना पुग्यो तर, अहिलेसम्म पनि दोषी पक्राउ नपर्दा घटना थप रहस्यमयी बन्दै गएको छ ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु