गृहपृष्ठ ३३ किलो सुनकाण्डको अर्को तथ्य, गोरेलार्इ बचाउन डीएसपी केसी र सर्इ सञ्जेलको यस्तो योजना (अडियाे सहित)

३३ किलो सुनकाण्डको अर्को तथ्य, गोरेलार्इ बचाउन डीएसपी केसी र सर्इ सञ्जेलको यस्तो योजना (अडियाे सहित)

काठमाडौं– समय बित्दै जाँदा विमानस्थल सुनकाण्डका धेरै तथ्य बाहिर आइरहेका छन् । तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो । हत्यामा संलग्न रहेको भनिएका र सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ सँगका केही तथ्य अपत्यारिला पनि छन् । गोरले सुनकाण्डको मुख्य नाइके आफू नभएको र सुनकाण्डमा ठूला नेता रहेको बयान दिइसकेका छन् । हत्याको जानकारी पाएपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थलतर्फ जाँदै गर्दा घटनाबारे खबर गर्ने गोरे भारततिर भागे । डीएसपी प्रजित केसीको नेतृत्वमा घटनास्थल गएको टोलीले सनमको शव भेटेर मुचुल्का तयार पार्‍यो । त्यसपछि गोरेसँग डीएसपी केसी र सई बालकृष्ण सञ्जेलले फोनमा कुरा गरेका छन् ।

फोनमा सुरुमा गोरे र सर्इ सञ्जेलबीच कुरा हुन्छ र पछि सञ्जेलले डीएसपी केसीलाई फोन दिएका छन् । गोरे, सञ्जेल र केसीबीचको टेलिफोन वार्ता जस्ताको तस्तै :

गोरे : हलो, हजुर मामा ।

सञ्जेल : हजुर भान्जा, अहिले भान्जी (गोरेको श्रीमती)ले फोन गर्नुभएको थियो । अब हाम्रो प्लान क्यान्सिल भयो हैन भान्जा, मलाई धोकै–धोका, तिम्रो मोहनेसोहने सबै चोरहरु हुन्, मालका बारेमा उनीहरुलाई पनि थाहा छ । हिजो तिमीले फोन गरेका बेला उनीहरुले सुनेका रैछन् । तिमीहरूलाई पनि ट्रयापमा पार्ने र मलाई पनि पार्ने रहेछन् । मैले मिलाए पनि उनीहरूले तिमी हामीलाई ट्रयापमा पार्ने रहेछन् । यिनीहरूले मिलाउने भए केही छैन । भोलि किटानी पर्छ । गोरेले होइन भने भने तिमी त बाँच्यौ नि त । हाम्रो प्लानअनुसार नमिले पनि, जस्तो मुचुल्का गरेर तिमीलाई छोड्ने थियो । सरले तेरो भान्जाले धोका दियो, पैसा पनि गरेन भन्नुभयो । मैले पैसाको कुरा मिलाएँ, सर अहिले गाह्रो छ भनेर मैले मिलाएँ ।

गोरे : पैसाको चिन्ता नलिनु, अहिले ५० लाख जति लिनु ।

सञ्जेल : हैनहैन भान्जा, त्यसो हैन मैले पैसाको कुरो मिलाएँ । यो मोहनेहरू हरामी रैछ । हाम्रो प्लान यस्तो थियो भनेर अरूलाई सेयर गरिसकेका रहेछन् । नम्बर लिने र हामीलाई अप्ठेरो पार्ने योजना गरेछ । तिमी यहाँ भएको भए सबै कुरा मिलिसक्थ्यो । मुचुल्का गरेर हामी कागज लिएर जान्थ्यौं । तिमी आफ्नो साइड लाग्थ्यौ । पछि पनि तिमीलाई बचाउने ठाउँ छ । उनीहरुको योजना तिमीलाई फसाउनेछ । अब पछि पनि तिमीलाई बचाउने ठाउँ छ, के छ भने तिमीले फकाएर यो थिएन भन्दिए भने । तर उनीहरुको प्लान तिमीलाई फसाउनेछ, सामानहरु त यिनीसँग छ । यिनीहरुलाई सँगै राखेर ल्याप्चे राखेको भए हुन्थ्यो ।

गोरे : अब के गर्ने त ?

सञ्जेल : अब मैले तेत्रो भनेको । विश्वासघात भयो । भान्जीले मसँग रुँदै फोन गरिन् । तिमीले सबै चिनेको रहेछौ सबैले कुरा आउट गरिसके ।

गोरे : नाइँ मामा नाइँ । अरुलाई भनेको छैन ।

सञ्जेल : त्रिशुलीमा हालेको भए के हुन्थ्यो भन त । (सनमको लास त्रिशुलीमा फाल्ने योजना) त्यो कुरा पनि मोहनेले भनेको, कुनचाहिँ डिएसपी हो कि एसपीले भनेको रे ।

गोरे : दुर्इ–तीनवटा अप्सन भएका थिए । त्यो प्लान मेरो होइन, म त्यस्तो पनि गर्दिनँ ।

सञ्जेल : मोहने तिम्रो मान्छे होइन, सबै कुरा गोरेले गरेको भनेको । तिमी अएको भए, सूचना दिने तिमी हो भनेर बचाउने थियौं, तिमी नआएर सबैले बिगारे । त्यसमा तिम्रो नाम राख्न लागेका थियौं ।

गोरे : अपराधी म होइन, अलिअलि झापड हान भनेको हो । मैले मारेको त होइन नि ।

सञ्जेल : होइन । त्यो यिनीहरुले पनि भनिराछन् । उसको बफादारी देखाएको हो, योजना बनाउने तिमी हो भनेका छन् । पानी पनि खान नदिइकने मार्ने उसको आदेश हो भनेका छन् । उसले नहान् भन् भनेको भए हान्थेन पनि भनेका छन् ।

ल ल सरसँग कुरा गर । गोरे र सञ्जेलले यति कुरा गरेपछि सञ्जेलले फोन डिएसपी केसीलाई दिन्छन् ।

गोरे : हलो केसी ! हलो केसी ! तिमीले थाहा पाइहाल्यौ होला, तिमीहरुको भित्री कुराहरु के के भएको छ, त्यो हामीलाई थाहा हुदैन । तिमी यहाँमात्र भएको भए सबै कुरा कन्ट्रोल हुन्थ्यो । अहिले त कहिँ पनि नाम राखेको छैन, तिमीले नै हामीलाई सूचना दिएर भन्थ्यौं । कस्तो राम्रो प्लान फुत्कायौ । ठिकै छ, तिमीले खबर दिएको, इन्डियनहरू आएर यसो गरेको रहेछ, भनेर खबर गरिरको छु । सुन ल्याएर आउनुमा उसको हात छ, भनेको छु । तर मारेको हैन भनेको छु । सबै कुरा ढाट्नु हुदैन के । के गर्ने सबै बिगार्यौ ।

गोरे : त्यसले मलाई सिध्याउनै खोजेको रहेछ ।

केसी : अनि त । सबै कुरा भनिराछ, मुला । तिम्रो त्यो एसपीसँग भएको कुरा हामीलाई के थाहा हुन्छ, त्यो कुरा मोहनले भनेको ।

यति कुरा पछि गोरेले खाना खाएर कुरा गर्ने भन्छन् । डिएसपी केसीले पनि ल ल खाउ अनि कुरा गरौला भनेर फोन राख्छन् । केहीबेरमा फेरि कुरा हुन्छ ।

गोरे : हलो हलो केसी ! हलो ! अघि नै फोन गरेको मिसकल भएछ ।

गोरे : भन्नु न ।

केसी : अघि नै कुरा भयो त्यही त हो नि ।

गोरे : अँ, त्यसो भए केही अप्सन छैन ।

केसी : अरु के अप्सन चाहिन्छ ? सबै कुरा मिलेकै त छ नि । केही कुरा बिग्रेको छैन ।

गोरे : मिलिसक्यो ?

केसी : मिलिसक्यो, तिमीहरूले के–के कुरा बिगारे भन्थे । थाहा छैन ।

गोरे : मामाले के कुरा मिलेको छैन भन्दै छन् त ।

केसी : मामाले के भने र ?

गोरे : सञ्जेल मामाले मोहनेले खै के भन्यो भन्दै…. ।

केसी : तिनीहरूले के के भने । त्यो त मलाई पनि राम्रोसँग थाहा छैन । हामी तिमीलाई प्रतिवादी बनाउदैनौं, हामीले तिम्रो नाम फरारमा राख्दैनौं के । तिमीलाई प्रतिवादी बनाएर मुद्दा चलाउँदैनौं । यिनीहरूले के के भन्छन् मेरो ग्यारेन्टी भएन । तर हामी गर्दैनौं, ढुक्क बन ।

गोरे : अलि मजाले सम्झाइदिनु त ।

केसी : मजाले सम्झाउँदा कस्तो हुन्छ भने मुद्दा चलाउँदा सरकार वादी र अर्को प्रतिवादी हुन्छ । जसलाई मुद्दा चलाइन्छ । त्यसमा प्रतिवादीको नाम हालिँदैन, नहाल्ने त्यसमा । भनेपछि तिम्रो विरुद्धमा मुद्धा चलेको होइन । बुझ्यौ कुरा त्यही गर्ने भनेको हो । तिमी यहाँ भएको भए सबै सकाइदिन्थे, आऊ न पछि बसेर कुरा गरौंला ।

गोरे : फरारमा हालेको छैन ?

केसी : छैन भन्या । तिमी कुरै बुझ्दैन रैछौ यार । फरार भनेको प्रतिवादी नाम हालेर मान्छे भेटेन भने त्यो फरार हुन्छ क्या ।

गोरे : फरारमा हाल्देको छ ?

केसी : छैन, तिमी नेपाली बुझ्दैनौ क्या हो । प्रतिवादीमा पनि हालेको छैन त कसरी फरार हुन्छ ? बुझेनौ कुरा ?

गोरे : मामाले त तिम्रो मान्छेले के के भन्यो भन्दै थिए त ।

केसी : तिम्रो मान्छेले के के भन्यो बयान लिएको छैन अहिले । तिम्रो मान्छेले बढ्ता कुरा त गरिरहेको छ, नचाहिने कुरा । तिम्रो नाम प्रतिवादीमा हालेको छैन के । तिमीलाई विपक्षी बनाएको छैन, तीनीहरूले के कसो भने मलाई थाहा छैन तर हामीले मुद्दा चलाउनेमा तिम्रो नाम हालेका छैनौं । तर फरक पर्दैन पछि मिलिहाल्छ । पछि तिम्रो वकिल राम्रो भए तिनीहरुले मिलाइ हाल्छन् केही फरक पर्दैन । फोनमा कुरा गरेर भएन के, तिमीसँग एक पटक भेट्नुपर्यो । एकपटक भेटौं, कता भेट्ने हो फोन गर्नू । तिम्रो मामा र म आउँला । भेटेरै कुरा बुझाउँला यस्तो कुरा फोनमा धेरै नगरौं । अब बुझ्यो कुरा ।

गोरे : तपार्इं राम तिवारीलाई चिन्नुहुन्छ ?

केसी : को ?

गोरे : काठमाडौंमा तपाईलाई भेट्न लगाउँछु ।

केसी : को मान्छे हो भनन त ! मलाई नम्बर मेसेज गर । उसको नाम नम्बर पठाउ न । पहिले हेर्छु, को मान्छे हो, के गर्छ सबै हेर्नु पर्यो नि ! मलाई त्यसको नाम र नम्बर पठाऊ ।

गोरे : राम्रो मान्छे हो ।

केसी : राम्रो मान्छे हो ? ल ल कल गर न त । ल कुरा गर । म सुत्छु । मोबाइल साइलेन्समा राख्छु । बेलुका कुरा गर्छु । ल बाई ।

गोरे : ल ल । केसी : ल बाई ।

प्रकाशित समय २२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु