गृहपृष्ठ अन्तत: ओली पक्ष रक्षात्मक, नेकपाको सचिवालय बैठक सुरू
अन्तत: ओली पक्ष रक्षात्मक, नेकपाको सचिवालय बैठक सुरू
फाइल तस्बिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सम्भावित ‘दुर्घटना’ तत्कालका लागि टरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष मत्थर बनेपछि पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठकमा ओलीसहित ९ जना सचिवालय सदस्य सहभागी छन् ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए । उनले आजको बैठक नराख्न दबाब दिँदै आएका थिए । तर प्रचण्ड समूहले कुनै पनि हालतमा बैठक बस्ने तयारी गरेपछि ओली पनि बैठकमा सहभागी हुन बाध्य भएका हुन् ।
यसअघि, सचिवालय बैठकको पूर्वनिर्धारित समयसँगै जुधाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए । त्यससँगै आन्तरिक विवादमा फसेको नेकपाभित्र थप मुडभेठको सम्भावना बढेको थियो । तर अन्तिम समयमा ओलीले मन्त्रिपरिषद बैठक एक घण्टापछि दिउँसो २ बजेका लागि सारेका छन् ।
मंगलबार ओलीले चिनियाँ राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । यस्तै प्रचण्डले पनि मंगलबार राष्ट्रपतिसँग भेट गरेका थिए । ओली बुधबार बिहान पनि राष्ट्रपतिसँग भेटका लागि शीतल निवास गए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला खुमलटार, बालुवाटार तथा कोटेश्वरमा नेताहरुको मंगलबार दिनभर सक्रियता बढेको थियो । ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले पनि आन्तरिक छलफल र तयारी व्यापक बनाएका थिए ।
प्रकाशित समय १३:२४ बजे
















