गृहपृष्ठ प्रचण्डका घरबेटीको अर्काे बदमासी
प्रचण्डका घरबेटीको अर्काे बदमासी
कालोपत्रे गरेको भोलिपल्टै उप्कियो
राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउँदै आएका ठेकेदार शारदा अधिकारीले फेरि अर्काे बदमासी गरेका छन् । सरकारी ठेक्कापट्टा हात पार्दै कम गुणस्तरीय काम गरी राज्यलाई ठग्दै आएका उनले त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकखण्डमा कमसल कालोपत्रे गरेका छन् । अधिकारीकाे निर्माण कम्पनी ‘शैलुङ कन्ट्रक्सन’ले शनिबार र आइतबार गरेको कालोपत्रे दुई-तीन दिन नबित्दै भत्किएको छ ।
कालोपत्रे गरिएको सडक बीचबीचमा भासिएको छ भने कतै भत्किएको छ । बाटोमा धुलो उडेकोले धुलोमात्र छोप्न पिच गरेको जस्तो देखिन्छ ।
कलंकी-नागढुंगा सडकभित्र ठाउँ-ठाउँमा रोडा राखेर कालोपत्रे गर्ने तयारी छ । केही ठाउँमा पिच गरिसकिएको छ । सतुङ्गलस्थित चौधरी ग्रुपको गेटबाट गुर्जुधाराको सानो मन्दिरसम्म करिब ४ समय मिटर कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको सडक बीच-बीचमा भासिएको छ भने कतै भत्किएको छ । यस्तै दूरसञ्चार कार्यालयको माथिल्लो गेटबाट दाउराडिपो चेकपोस्टसम्म करिब ४ समय मिटर कालोपत्रे गरिएको क्षेत्रमा पनि विभिन्न ठाउँमा भत्किनुको साथै पिच भासिएको छ । बाटोमा धुलो उडेकाले धुलोमात्र छोप्न पिच गरेको जस्तो देखिन्छ, सामान्य मानिसले हेर्दा पनि गुणस्तरीय काम नभएको सडक प्रयोगकर्ता बताउँछन् ।
घर दिएर प्रचण्डलाई प्रभावित पारेका अधिकारीले राजनीतिक शक्तिकै आडमा ठूलो रमकका ठेक्का पट्टा हात पार्दै आएका छन् । काममा ढिलासुस्ती गर्ने र गरिएका काम पनि कम गुणस्तरीय गर्दै खुलेआम ठगी गर्दै आएका उनलार्ई आजसम्म कसैले कारवाही गर्ने हिम्मत गरेको छैन ।
को हुन् अधिकारी ? किन कारबाही हुँदैन उनलाई ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी अधिकारी राजनीतिक पहुँचका आधारमा ठूला ठेक्कापट्टा हात पार्दै आएका ठेकेदार हुन् । उनी प्रचण्ड र नेता जनार्दन शर्माको अति निकटतम व्यक्ति हुन् । नेकपा एमाले र माओवादी केन्द्रको एकताअघि निर्णायक वार्ताको लागि आफ्नो घर उपलब्ध गराएपछि उनी चर्चामा आएका थिए । अर्बपति ठेकेदार अधिकारीको पृष्ठभूमि विपन्न तर बिबादास्पद रहेको जानकारहरु बताउँछन् । विद्युत प्राधिकरणबाट गरिने कैयन काममा जनार्दन शर्माको सहयोगमा एजेण्टको भूमिका समेत अधिकारीले निर्वाह गर्दै आएका छन् । माओवादी बन्नुअघि मारवाडीको पसलमा कामदार रहेका अधिकारी माओवादीमा लागेपछि दशक भित्रै अर्बौंको मालिक बन्न सफल भएका व्यक्ति हुन् ।
अहिले उनले खुमलटार हाइटमा रहेको आफ्नो एउटा घरमा प्रचण्डलाई निःशुल्क बस्न दिएका छन् । घर दिएर प्रचण्डलाई प्रभावित पारेका अधिकारी राजनीतिक शक्तिकै आडमा ठूलो रमकका ठेक्का पट्टा हात पार्दै आएको स्रोतको दावी छ । काममा ढिलासुस्ती गर्ने र गरिएका काम पनि अत्यन्तै कम गुणस्तरीय गर्दै खुलेआम ठगी गर्दै आएका उनलार्ई आजसम्म कसैले कारवाही गर्ने हिम्मत गरेको छैन । उनी गृहमन्त्रालयको कालो सूचीमा परेका व्यक्ति पनि हुन् । गृहमन्त्रालयले काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्ने अभियान चलाएसंगै अधिकारीलाई पनि पक्राउ गरी कारवाही गर्ने गृहको तयारी थियो । प्रचण्डकै घरबेटी भएकाले अधिकारीलाई उन्मुक्ति दिन नसक्ने बताएपछि, केहीदिनअघि प्रचण्डले थापालाई घरमै बोलाएर ‘सिंघम बन्न खोजेको हो ?’ भन्दै हप्काएका थिए ।
आफुलाई घरमा सित्तैमा बस्न दिएको गुन र कमिसन समेत दिने गरेकाले प्रचण्डले अधिकारीलाई बचाएका भन्दै सदनमासमेत विरोध भएको थियो । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले त्यसबिरुद्ध आवाज उठाएका थिए । बिभिन्न सडकको ठेक्का लिएर समयमा काम नगर्ने उनै अधिकारीलाई प्रचण्डले उन्मुक्ति दिएको भन्दै सुवालले आक्रोस पोखेका थिए । गृहमन्त्रीले कारवाही गर्ने कुरा उठाउदा प्रचण्डले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भनेर आदेश दिएको समाचारमा आएको भन्दै सुवालले सदनलाई जानकारी दिन समेत माग गरेका थिए ।
‘सडक निर्माण नहुँदा पानीको मुहानमा वर्षातको पानी परेर दूषित भएको छ, जसबाट सिंगो भक्तपुरमा महामारीको खतरा छ’
काठमाडौं उपत्यकाको कलंकी–नागढुङ्गालगायत नगरकोट सडक तथा अरु थ्रपै सडक समेत ठेक्का लिई सरकारसँग भुक्तानी लिएका अधिकारीले वर्षौंदेखि काम गरेका छैनन् । अधिकारीको ‘क’ बर्गको शैलुङ कन्स्ट्रक्सनले विशालनगर–चण्डोल सडक, सुन्दरबस्ती–आदर्शनगर चुनिखेल सडक, एसआएस–एएयुआरएस सडकको ठेक्का पाएर सबैजसो भुक्तानी लिईसकेको छ । यस्तै उनको कन्स्ट्रक्सनले शर्मिला मार्ग–चपली बुढानीलकण्ठ सडक, मिलनचोक–तेन्जिङ कपन सडक, बोहोराटार हुँदै बनस्थली स्कुलसम्मको सडक निर्माणको ठेक्का पाएको छ । तर, तीमध्ये अधिकांशको ६० प्रतिशत पनि काम पूरा गरेको छैन । पुरा भएका सडकमा पनि लापरवाही ढंगबाट काम गरिएको स्थानीयको गुनासो छ ।
भक्तपुर नगरकोट सडकको निर्माण नहुँदा खानेपानीको मुहान समेत वर्षातमा हिलो भएर जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको नेमकिपाका सांसस सुवाल बताउछन् । ‘सडक निर्माण नहुँदा पानीको मुहानमा वर्षातको पानी परेर दूषित भएको छ, जसबाट सिँगो भक्तपुरमा महामारीको खतरा छ ’ सुवाल भन्छन् ।
नुवाकोट तुप्चेका अधिकारी माओवादी सशस्त्र द्वन्द्वको समयदेखि नै माओवादीप्रति झुकाव राख्थे । शसस्त्र द्वन्द्वको समयमा माओवादीका नाममा चन्दा उठाएर खाएको आरोप समेत खेपेका उनले बिभिन्न चुनावमा माओवादीका उम्मेदवारलाई मोटो रकम चन्दा दिँदै आएका छन् । गत निर्वाचनमा उनी आँफै माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीका उम्मेदवार बनेका थिए ।
सडक निर्देशनालय भन्छ : पिच कस्तो छ हामीलार्ई थाहा छैन
कालोपत्रेको काम नसकिँदै भत्किएपनि तालुकदार निकाय यसबारे बेखबर छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटाले कलंकीदेखि ४ किलोमिटर कालोपत्रे भईरहेको बताउँदै गुणस्तरमा ध्यान दिन पहिल्यै आग्रह गरेको बताए । शैलुङ कन्ट्रक्सनले ठेक्का संझौता गर्नुअघि कालोपत्रेकोे नमुना स्तरीय दिएको र सोही अनुसार ठेक्का पाएको सापकोटाको भनार्ई छ ।
अब हामी अनुगमनमा जान्छौं र हेर्छौं, कमसल काम गरेको भेटिए सुधार्न निर्देशन दिन्छौं : सडक निर्देशनालय
तर, अहिले कालोपत्रे भईरहेको ठाउँको गुणस्तरबारे आफु जानकार नरहेको उनले बताए । ‘ढुंगा गिटी बालुवाको बेस बलियो नबनाउँदा पिचमा खाल्डो पर्ने हुन्छ भने पिच गर्ने मेटिरियल कम गुणस्तरिय हुँदा वा मात्रा नपुग्दा पिच भत्कने हुन्छ’ सापकोटाले भने, ‘हामी अनुगमनमा जान्छाैं र हेर्छाैं, यदी कमसल काम गरेको भेटिए सुधार्न निर्देशन दिन्छाैं ।’
शैलुङ भन्छ – भत्किएको ठाउमा पुन: कालोपत्रे गर्छाैं
कालोपत्रे गर्ने काम नसकिँदै सडक खाल्डा परेको विषयमा जानकारी माग्दा शैलुङ कन्ट्रक्सनले भने भत्किएको ठाउँमा पुनः कालोपत्रे गर्ने जनाएको छ । शैलुङ कन्ट्रक्सनले भने अहिले कालोपत्रे गरेको सडकमाथि पुनः अर्काे पटक पनि गर्ने काम बाँकी रहेको जनाउँदै बेस बलियो भएको जिकिर गरेकाे छ । यद्यपी कन्ट्रक्सनका टेक्निकल सुपरभाईजर विनोद लामिछानेले समेत पानीका पाईप तथा, टेलिफोनको तार बिछ्याईएका सडकमाथि कमजोर कालोपत्रे भएको हुन सक्ने स्वीकार गरे । लामिछानेले न्युज कारोबारसंग भने, ‘पानीका पाईप तथा, विजुलीका तार, टेलिफोनको तार तथा अप्टिकल फाईबरमाथी कमजोर पिच भएको हुनसक्छ हामी सुधार गर्छाैं।’
पानीका पाईप तथा, विजुलीका तार, टेलिफोनको तार तथा अप्टिकल फाईबरमाथी कमजोर पिच भएको हुनसक्छ हामी सुधार गर्छाैं : शैलुङ कन्ट्रक्सन
अहिले सडक खाल्डो भएको ठाउँमाथी पुनः कालोपत्रे गरेपनि, सडकको बेस अर्थात ढुंगा गिटी बालुवाको आधार कमजोर भएकाले दोहोर्याएर गरिने कालोपत्रे पनि धेरै समय नटिक्ने ईन्जिनियरहरु बताउछन् । अहिले गल्ती ढाकछोप गर्न खाल्डो पुरेपनि पछि केही समयमै भत्किने र कमजोर बेस बनाएर पिच गरिएकाले अरु ठाउँमा समेत पिच भत्कने खतरा रहेको विज्ञहरु बताउछन् ।
प्रकाशित समय ११:५२ बजे


















