गृहपृष्ठ ओली चीनमा, किम पनि जाँदै

ओली चीनमा, किम पनि जाँदै

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट्ने भ्रमण तालिकासहित प्रधानमन्त्री केपी ओली चीनमा रहेकै समयमा उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन चीन जाने भएका छन् । बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएको जानकारीअनुसार किम बुधबार बेइजिङ पुग्नेछन् । प्रधानमन्त्री ओली मंगलबारदेखि चीनको भ्रमणमा छन् । त्यहाँ रहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति सि बीच भेटवार्ता हुने कार्यक्रम छ ।
चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएअनुसार मंगलबार चीन जान लागेका किम बुधबार बोइजिङ पुग्नेछन् । पछिल्लो समय किमको चीन यात्रा बाक्लिएको छ । यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा ‘ऐतिहासिक’ वार्ता गरेका किम त्यसको केही दिनपछि चीन जान लागेका हुन् । वार्ता हुनु केही समय पहिला पनि उनी चीन पुगेका थिए ।
किमले ग्रेट हल अफ पिपुल्समा सि सँगको भेटमा उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरिया प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणको विषयमा छलफल गर्ने अनुमान छ । उत्तर कोरिया चीनको सहयोगी राष्ट्र हो । त्यसैले किमको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु