गृहपृष्ठ नेपालमा संसदीय व्यवस्था असफल हुने निश्चित छ : मोहन वैद्य
नेपालमा संसदीय व्यवस्था असफल हुने निश्चित छ : मोहन वैद्य
कम्युनिस्ट हुँ भने पनि सत्तारुढ नेकपा कम्युनिस्ट होइन

मोहन वैद्य ‘किरण’ नेपालका पुराना कम्युनिस्ट नेता हुन् । वैद्य अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव छन् । राणाकाल, पञ्चायत, शाहवंश हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गरेका उनमा नेपालमा जनवादी क्रान्ति गर्ने आँट अझै मरिसकेको छैन । उनी सर्वाहारा वर्गको अधिनायकत्व स्थापनाका लागि अनवरत संघर्ष गर्ने पात्र हुन् । कतिपयले शास्त्रीयवादी नेता (जडसूत्रवादी) भनेर आरोप लगाउँदै आए पनि वैज्ञानिक समाजवादसम्म पुग्ने उनको उत्कट अभिलाषा अझै मरिसकेको छैन । नेपाली राजनीतिका तिनै बेदागी र कतिपय कम्युनिस्ट नेताका गुरु वैद्यसँग नेपाली राजनीति, कम्युनिस्ट आन्दोलन र अबको बाटोमा केन्द्रित रही विनोद दाहाल र रघुनाथ बजगाँईले गरेको कुराकानी :
अहिले कम्युनिस्टकै शक्तिशाली सरकार छ । उसका गतिविधि कत्तिको जनमुखी छन् ?
अहिलेको सरकार कम्युनिस्ट सरकार होइन । यो यथास्थितिवादी र संसदवादी सरकार हो । यसले पुरानै पुँजीवादी वर्ग र सामन्ती वर्गका हकहितको संरक्षण गर्छ । त्यही गरिरहेको छ ।
सरकारले केही राम्रा काम थालनी गरेको छ, जनपक्षीय काम गरे त भइहाल्यो नि होइन ?
केही राम्रा काम राणाहरुले पनि गरेका थिए । केही राम्रा काम पञ्चायतमा पनि भए । कांग्रेसले पनि गर्यो । केही राम्रा काम गर्नु, केही काममा सुधार ल्याउनु ठिकै हो । त्यसलाई अन्यथा लिनु भएन । तर, कम्युनिस्ट भनेपछि त क्रान्तिकारी छलाङ मार्नुपर्यो । त्यही पनि राम्रा भनिएकाहरु राम्रा हुन् कि हैनन्, त्यो पनि हेर्नुपर्छ । आमूल परिवर्तनका लागि गुणात्मक काम गर्नुपर्यो । त्यो भएको छैन ।
चुनावको उपयोग गरिएला, त्यो अलग कुरा हो । पञ्चायतको चुनाव पनि उपयोग गरिएकै थियो । तर, त्यसलाई स्वीकार गरेर जाने कुरा अलग हो ।
के हुनुपर्थ्याे ? के भइरहेको देख्नुहुन्छ ?
कम्युनिस्ट सरकार हो भनेपछि पुरानो राज्यसत्ता फालेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ । पुरानो राज्यसंरचना भत्काएर जनताको शासन आएको अनुभूत गराउनुपर्छ । तर, त्यो भएको छैन । चुनावबाट कहिल्यै कम्युनिस्ट सरकार आउँदैन । यो त संसदीय व्यवस्थाको चुनावबाट आएको सरकार भयो । त्यसकारण यो फजुल र पुरानो राज्यसत्ताकै निरन्तरतामात्र हो । यो पुरानै सत्ताको संरक्षक हो । केही काम गरेको होला, त्यो ठिकै छ । तर, आमूल परिवर्तन हुनुपर्थ्याे । सन् १९५० लगायतका सन्धी–अभिसन्धी सबै खारेज गर्नुपर्छ । कोसी, गण्डकीजस्ता जति पनि सम्झौता भएका छन् सबै खारेज गरेर नयाँ बनाउनुपर्छ । देश र जनताको हितमा हुनेगरी नयाँ सन्धी–सम्झौता गर्नुपर्यो । अहिले यी कुरा केही पनि भएका छैनन् । संकेतसम्म देखिएको छैन । पुरानैको निरन्तरतामात्र छ । त्यसकारण यो पुरानै सत्ताको संरक्षक हो ।
निर्वाचनबिना सर्वहारा वर्गको राज्यसत्ता कसरी आउँछ ?
चुनावमा जानुपर्छ । तर, जनताको संविधान बनाएपछि चुनावमा जाने हो । अहिलेको संविधान जनताको संविधान नै होइन । यो पुरानैखालको संविधान हो । भारतको संविधान हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र छ । संघीयता पनि छ । त्यो संविधान र नेपालको संविधानमा के फरक छ ? सारमा केही फरक छैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान त फ्रान्सले क्रान्ति गरेर उहिल्यै बनाएको थियो । त्योभन्दा हाम्रोमा के फरक भो र !
फेरि कम्युनिस्ट सरकार आयो कसरी भन्ने ? सधैंभरिका लागि होइन । पाँच वर्षका लागि त हो । त्यसपछि चुनाव हुन्छ । कांग्रेस आउन सक्छ । अरु पनि आउन सक्छन् । कम्युनिस्ट सरकार भनेपछि त यस्तो नहुनुपर्ने ! मलाई लाग्छ, राज्यसत्तामा कुनै प्रकारको क्रान्ति नै भएको छैन । पुरानै राज्यसत्ता छ ।
संसदीय चुनावमा हामीले पनि भाग लिएका हौं । चुनावको उपयोग गरिएला । त्यो अलग कुरा हो । पञ्चायतको चुनाव पनि त उपयोग गरिएकै थियो । तर, त्यसलाई स्वीकार गरेर जाने कुरा अलग हो ।
नगरिकले यो कुरा बुझेका छैनन् वा पत्याएका छैनन् । भोट नपाएपछि कराउँछ भन्ने पनि भन्छन् नि !
यो संसदीय व्यवस्थामा भोट आउँदैन । जनतामा भ्रम छ । उहाँहरुले चुनावमा वाम गठबन्धन भनेर गठबन्धन बनाउनुभयो । त्यसैले उहाँहरुलाई कम्युनिस्ट भनेर भोट गएको हो । जनताले यिनीहरु कम्युनिस्ट हुन् भनेर भोट दिए । तर, हामीले यी यस्ता हुन् भनेर प्रचार गर्नै सकेनौं । जनतामा रहेको भ्रम चिर्न सकेनौं । त्यसैले भोट दिएनन् भन्ने चिन्ता पनि छैन । तर, कुरा के हो भने यिनीहरु कम्युनिस्ट होइनन् ।
नेपाली कांग्रेसले सरकारको विरोध गर्छ । कांग्रेसले यिनीहरु कम्युनिस्ट होइनन् भनेर बुझ्न जरुरी छ । कांग्रसले गरेको विरोधको तरिकै भएन भन्ने लाग्छ । यिनीहरु कम्युनिस्ट हुन् भनेर विरोध गरेर हुन्छ ? अधिनायकवादी भयो भन्छ, कांग्रेस नै अधिनायकवादी हो । ऊ सरकारमा गएपछि गर्ने त्यही हो । फेरि के बुझ्नुपर्छ भने अधिनायकवाद नभएको सत्ता हुँदैन । जब राज्यसत्ता हुन्छ भने त्यहाँ अधिनायकवाद हुन्छ । तर, अधिनायकवाद कसले कसमाथि भन्ने प्रश्न महत्वपूर्ण हो । अहिलेको अधिनायकवाद भनेको ५ प्रतिशतले ९५ प्रतिशतमाथि शासन गर्नेखालको छ । हामीले भनेको समाजवादमा ९५ प्रतिशतले ५ प्रतिशतमाथि अधिनायकवाद लगाउने काम हुन्छ । सत्य कुरा यो हो । अहिले त धनी–गरिब भन्ने छ, हामीले भनेको समाजवादमा त्यो हुँदैन । ५ प्रतिशतसँग पैसा छ, उसैले शासन गर्छ । त्यो त जनताको नाममा झार्नुपर्यो, खै ?
तपार्इंहरुले भनेजस्तो परिवर्तन पनि नहुने, त्यसखालको आन्दोलन पनि उठ्न नसक्ने भन्दा त अहिलेकै कम्युनिस्ट धार बलियो हुँदा जनतालाई राहत हुनसक्छ, पार्टी छोडेर तपाईंहरु लागेको पनि धेरै भयो, कहिलेसम्म हुन्छ त यहाँहरुले खोजेको परिवर्तन ?
तपार्इंले गरेको प्रश्न राम्रो हो । हामीले १० वर्षे सशस्त्र जनयुद्ध राज्यसत्ता पल्टाउनकै लागि गरेको हो । तर, पल्टिएन । त्यसो गर्न सकिएन । जसको नेतृत्वमा जनयुद्ध लडियो ऊ नै संसदीय व्यवस्था मान्न गएपछि हाम्रो उद्देश्यले धक्का खायो । त्यसकारण अहिले सुधारका कुरा कसैले गर्छ भने ठीक छ । तर, कम्युनिस्ट भनेर भाँड्न पाइएन । सुधारलाई मात्रै मानेर आफ्नो अन्तिम लक्ष्यलाई छोड्नु हुँदैनथ्यो ।
त्यसकारण हामीले भने जस्तो राज्यसत्ता ल्याउन तयारी गरिरहेका छौं । अहिले भताभुंग भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र व्यवस्थित गर्ने तयारी गरिरहेका छौं । नेपालका धेरै कम्युनिस्ट आन्दोलनले लक्ष्य भेट्टाउन सकेनन् । झापा विद्रोह पनि बीचमै तुहियो । १० वर्षे जनयुद्ध पनि त्यस्तै भयो । अब कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारीलाई एकीकृत गर्दै नयाँ ढंगको क्रान्तिको आवश्यकता छ ।
दोस्रो कुरा, देश र जनताका लागि काम गर्नुपर्छ । सरकारका गलत कामको भण्डाफोर गर्दै जानुपर्छ । त्यसपछि जनताले स्थिति के हो बुझ्छन् । राष्ट्रियता र जनजीविकाका सवालमा काम गरेपछि जनताले मूल्याङ्कन गर्छन् । अनि जनताले साथ दिन्छन् भनेर लेलिनले भन्नुभएको छ । यही दिशामा जाँदा हामीले पनि जनताको बलियो साथ पाउँछौं ।
सुरुमा आफैँले पार्टी फुटाउनुभयो, त्यसबाट बिप्लव समूह छुट्टिए । अहिले कम्युनिस्ट एकताको कुरा गर्दै हुनुहुन्छ । कसरी मिलाउनुहुन्छ ?
गाह्रो त गाह्रो छ । बिप्लवजीहरु जानुभयो तर उहाँहरु पनि खास ढंगले अगाडि बढ्न सक्नुभएको छैन । उहाँहरु जानुपर्ने स्थिति थिएन भन्ने लाग्छ । तैपनि, फेरि एक हुने कुरा भइरहेकै छ । राजनीतिक, सैद्धान्तिक, वैचारिक बहस गरेर कम्युनिस्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन सकिन्छ कि भन्ने प्रयास भएका छन् । बिप्लवजीहरुसँग मात्रै नभएर हामीले अन्य पक्षसँग पनि एकताको प्रयास गरेका छौं । नेकपामै पनि क्रान्तिकारी साथी छन् । तर, त्यसका लागि समय लाग्छ । जनयुद्ध हाक्ने कमान्डरबाट धक्का खाएका छौं । हुन त संघीयता, गणतन्त्र, समावेशिता जनयुद्धकै फल हुन् । संसदीय व्यवस्था नमान्देको मात्रै भए पनि हुन्थ्यो । त्यसकारण केही अप्ठ्यारो छ, विस्तारै अगाडि बढ्छौं ।
अगाडि बढ्छौं त भन्नुभयो तर संघर्ष गर्न सकेजस्तो देखिन्न । एक्सनमा पनि जान नसक्ने अनि भइरहेकोलाई पनि स्वीकार्न नसक्ने भएपछि अन्यमनस्कतामा फसेको छ भन्छन्, तिनीहरुलाई के भन्नुहुन्छ ?
पुरानो राज्यसत्ता उल्टाउन संघर्ष आवश्यक छ, संघर्ष हुन्छ । विकास निर्माणका कुरा आएका छन् । समृद्धिका कुरा आएका छन् । त्यसबारे जनताले मूल्यांकन गर्लान् । हाम्रो इच्छाले मात्रै त क्रान्ति हुने होइन । जनताको इच्छा, आकांक्षा र हाम्रो लाइन मिलेपछि न क्रान्ति हुने हो । हामी राष्ट्रियता र जनजीविकाको सवालका मुद्दा उठाइरहेका छौं । त्यसका निम्ति क्रान्तिको तयारी गर्ने र वैज्ञानिक समाजवादमा जाने हाम्रो मूल ‘लाइन’ हो । त्यसका निम्ति वैदेशिक हस्तक्षेप रोक्न, देशभित्रै उद्योग कलकारखाना खेल्न, स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्छाैं । हाम्रा मागअनुसार काम नभए जनता निराश हुन्छन् र हाम्रो क्रान्तिमा होमिन्छन् ।
नेपालको संविधान नै समाजवाद उन्मुख छ । तपाईंहरुले भनेको र कांग्रेस, ‘नेकपा’ ले भनेको समाजवादमा के फरक छ ?
समाजवाद धेरै किसिमका हुन्छन् । प्रतिक्रियावादी समाजवाद, सुधारवादी समाजवाद, काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद तीमध्येका पनि प्रमुख हुन् । हामीले भनेको समाजवाद वैज्ञानिक समाजवाद हो । अहिले नेकपाले भनेको समाजवाद प्रतिक्रियावादी छ । काल्पनिक समाजवादसम्म पनि होइन । काल्पनिक समाजवाद त प्रगतिशील हुन्छ । बढीमा सुधारवादी समाजवाद भन्न सकिएला तर त्यसखालको संकेत पनि देखिएको छैन । सुधारलाई हामी मान्छौं । गरे भने त मान्नुप¥यो नि ! तर, अहिलेकै तरिकाले नेकपाले भनेको समाजवाद प्रतिक्रियावादी समाजवादभन्दा अरु केही होइन । यही सत्ता, यही व्यवस्था भएसम्म र सामन्ती वर्गको हातमा राज्यसत्ता रहेसम्म नयाँ समाजवाद कसरी हुन्छ ? विश्वका धेरै मुलुकमा काल्पनिक समाजवादको पनि अभ्यास भएका छन् । तर, हामीले देश र जनताका लागि वैज्ञानिक समाजवादको लाइन अगाडि सारेका छौं । यो नै उपयुक्त हो ।
प्रसँग बदलौं, नेकपासँग तपाईंहरुको सम्बन्ध कस्तो छ ? छलफल/परामर्श कत्तिको हुन्छ ?
छैन । उहाँहरु आफ्नो लाइनमा हुनुहुन्छ । हामी आफ्नो लाइनमा छौं । अब, छलफल त के हुने हो र !
राय सुझाव लिने-दिने कुरा कत्तिको हुन्छ ?
अहँ, कुनै प्रकारको राय सुझाव लिने-दिने केही भएको छैन । उहाँहरुले लिने कुरा पनि भएन, हामीले दिने कुरा पनि भएन ।
वैज्ञानिक समाजवाद उतैबाट ल्याउन सकिन्छ भनेर पहिले तपाईंलाई साथ दिनुहुने ‘बादल’लगायतको टिम उतै मिसिएको छ, किन यस्तो भयो ?
त्यो बादलजी को कुरा हो । उहाँ प्रचण्डलाई बदल्न जाऊँ भन्नुहुन्थ्यो, आफैँ बदलिनुभयो । के कुरा ख्याल गर्नुपर्छ भने पुरानो राज्यसत्ताबाट वैज्ञानिक समाजवाद आउँदैन ।
प्रचण्डसँग कुरा हुन्छ होला, विगतको क्रान्तिका कुरा होलान् । तपाईं नयाँ क्रान्ति भन्दै हुनुहुन्छ, विगत सम्झनुहुन्छ होला । कस्तो लाग्छ ?
अहिले मसँग उहाँले त्यस्तो सेयरिङ गर्ने कुरा भएन । मैले पनि भन्ने कुरो भएन । बाटो नै फरक परिसक्यो । तर, विगतका कुराको समीक्षा त भइहाल्छ । एउटा राम्रो साथी गएको भनेर चिन्ता गर्ने कुरा पनि भएन । गन्तव्य तय गरिसकेपछि अन्तिमसम्म टिकेर पुग्न कठिन हुन्छ । यहाँ प्रचण्ड जीको कुरामात्र भएन । क्रान्तिका केही धारहरु छु्ट्टिए । नयाँ परिस्थिति बन्यो ।
फेरि एकता हुने सम्भावना बाँकी छ कि टुंगियो ?
म त्यस्तो सम्भावना देख्दिन, बादलजीले जाने बेलामा प्रचण्डलाई बदल्न जाउँ भन्ने प्रस्ताव राख्नुभएको थियो । तर, त्यो सम्भव हुने कुरै थिएन ।
ठूलो कम्युनिस्ट पार्टी बनेको छ, सँगै मिलेर गए हुन्न ?
यो फैलाइएको भ्रममात्र हो । कम्युनिस्ट भनेपछि जनताले पत्याइदिए । त्यत्ति हो । जनता शब्द प्यारो छ, जनताका विरोधीले पनि जनता भन्छन् । जनता, कम्युनिस्ट भन्ने शब्द भजाउने काममात्रै हो । उहाँहरुले कम्युनिस्ट नाम राखेकोमात्रै हो, कम्युनिस्ट होइन ।
बिप्लवसँगको एकताचाहिँ कहाँ पुग्यो ?
विभिन्न चरणका छलफल भएका छन्, ठोस उपलब्धि भइसकेको छैन ।
सत्तारुढ नेकपालाई काउन्टर दिने अर्को कम्युनिस्टको सम्भावना छ ?
छ, तत्काल त्यो नदेखिएला तर भविष्यमा राम्रो कम्युनिस्ट पार्टी बन्ने सम्भावना प्रबल छ ।
संसदभित्रका गतिविधिका कुरा गरौं । संसदमा कांग्रसको उपस्थिति कमजोर छ । सरकारले संसदलाई महत्व दिइरहेको छैन । तपाईंहरुले भनेजस्तै यो व्यवस्था फेलियर त हुँदै छैन ?
संसदीय व्यवस्था विश्वमै असफल हुँदै गएको छ । तर, नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर भइदियो । संसदीय व्यवस्था बलियो भएर टिकेको होइन, कम्युनिस्ट कमजोर भएका कारण टिकेको हो । हुन त कम्युनिस्ट भन्नु र कांग्रेस भन्नुमा खास फरक देखिन्न ।
संसदीय व्यवस्थामा संसदबाहिरका आवाज सुनिँदैन । संसदभित्र जो–जो छन् तिनैका कुरा सुनिन्छन् । विकल्प भनेको के हो भने फेरि चुनाव । सके कांग्रेस आउँछ, नसके यही नेकपा दोहोरिन्छ । जनता वाक्कदिक्क हुन्छन् । एउटा भएन भन्छन्, अर्को रोज्छन्, फेरि त्यो भएन भन्छन् । सत्ताको टोपी एउटाले लाउँछ । अर्को पाएनौं भनेर उफ्रन्छ । त्यसैले यो व्यवस्था ठीक छैन । र, यो विश्वभर असफल बन्दै गएको छ । नेपालमा पनि यो संसदीय व्यवस्था असफल हुने निश्चित छ । हामीले यही व्यवस्था फालेर अर्को व्यवस्था ल्याउने भनेर क्रान्ति गरेका हौं तर सकेनौं । हामी असफल भयौं । यो एउटा क्षणिक असफलता हो । यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।
संविधानले सबैलाई समेट्न सकेन भन्ने हो भने मधेसकेन्द्रित दलहरु सत्ताकै वरिपरि छन्, कसरी लिइरहनुभएको छ ?
मधेस केन्द्रित दल कुनै पोजिसनका दल होइनन् । उनीहरुमा धेरै नेपाली कांग्रेसबाट गएकाहरु छन् । अर्को कुरा, जनताको मुक्तिका लागि खासै भूमिका छैन । उनीहरु स्पष्ट चरित्र भएको दल होइन । यो संविधानलाई नमान्ने भन्ने कुराहरुमा हाम्रो मत मिल्छ तर उनीहरु संसदीय व्यवस्थाकै पक्षपाती हुन् । त्यसले देशलाई निकास दिनेवाला छैन ।
अर्को विषय, कम्युनिस्टहरु आन्तरिक लोकतन्त्रलाई स्वीकार गर्दैनन् भन्ने आरोप छ । फुटपछि बनेको तपाईंको पार्टीमा पनि अर्को नेतृत्व आउन सकेको छैन । कम्युनिस्ट पार्टी, कम्युनिस्ट राज्यसत्ता भनेको लामो समयसम्म एकल नेतृत्व भन्ने हो ?
त्यसो होइन । नेतृत्वमा परिवर्तन आउनुपर्छ । नेतृत्व लिन तयार हुनुपर्छ । मेरो हकमा त्यो लागू हुँदैन । मैले त उहिल्यै छोडेर प्रचण्डलाई नेतृत्व दिएकै हुँ । अहिले पनि पार्टीमा साथीहरुलाई भनिरहेकै छु ।
नेपालमा संसदीय व्यवस्था बलियो भएर होइन, कम्युनिस्ट कमजोर भएका कारण टिकेको हो ।
विश्वास नभएर हो कि !
कुरा के हो भने अरु हुन सजिलो छ, कम्युनिस्ट हुन गाह्रो छ । कम्युनिस्टको ट्रयाक छोडेपछि जे हुन पनि सकिन्छ ।
बिप्लवजी हुँदा तपाईंलाई अलि सजिलो हुन्थ्याे कि !
त्यो सम्भावनाको कुरा हो । सर्त राखेर हुँदैन । एउटै पार्टी भएको अवस्थामा पार्टीभित्रै छलफल हुन्छ । यस्ता कुरालाई इतिहासबाट समेत हेरेर विचार गर्नुपर्ने हुन्छ । नेतृत्व कसैले दिएर लिने पनि होइन । लिन खोजेरमात्रै पाइने भन्ने पनि हुँदैन ।
(तस्बिर : सुनिल प्रधान)
प्रकाशित समय १५:२३ बजे