गृहपृष्ठ आन्दोलन गर्ने डाक्टरलाई कारबाही हुने

आन्दोलन गर्ने डाक्टरलाई कारबाही हुने

अनसनरत चिकित्सक गोविन्द केसीको माग पूरा गर्न दबाब दिन भन्दै चिकित्सक आन्दोलनमा उत्रिएपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिँदै कारबाहीको चेतावनी दिएको हो ।

केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा स्वास्थ सेवा बन्द गर्नेसम्मका कार्यक्रम भएपछि स्वास्थ मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै प्राकृतिक प्रकोपको अहिलेको समयलाई देखाउँदै कार्यस्थल नछाड्न भनेको हो । ‘वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न तथा कुनै पनि बन्द हड्ताल तथा घेराउ प्रर्दशन जस्ता कार्य नगर्न तथा नगराउन आग्रह गरिन्छ ’ निर्देशनात्मक पत्रमा भनिएको छ ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्धारा देशभरका स्वास्थ्य संस्थाका नाममा जारी निर्देशनात्मक पत्रमा निर्देशन अवज्ञा गरेमा कारबाही हुने चेतावनी दिइएको छ । पत्रमा भनिएको छ ‘उल्लेखित क्रियाकलाप गरेको र गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने छ ।’

यता, नेपाल चिकित्सक संघ डा केसीको जीवन रक्षाका लागि भन्दै आकस्मिक बाहेकका सेवा ठप्पको आन्दोलनमा छ । चिकित्सक संघ शुक्रबारदेखि वहिरंग विभाग ओपीडी सेवा समेत बन्द गर्दै आन्दोलनमा उत्रिएको हो ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु