गृहपृष्ठ सात सरकारविरुद्ध डा. केसीका १५ अनसन
सात सरकारविरुद्ध डा. केसीका १५ अनसन
सहमति तोड्नेमा कांग्रेस अगाडि, देउवाले नै झुक्याए चारपटक
डा. गोविन्द केसी पटक–पटक अनसन बस्छन् । उनको मागमा सहमति हुन्छ अनि अनसन तोडिन्छ । तर, सहमति कार्यान्वयन हुँदैन । पुनः अनसन बस्छन् । बितेका ६ वर्षमा अनसन बस्ने र सहमति गर्ने काम पटक–पटक भए तर सहमति कार्यान्वयनमा सरकार कहिल्यै गम्भीर बनेन ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको मागसहित अहिलेसम्म डा. केसी सात सरकारविरुद्ध १५ पटक अनसन बसिसकेका छन् । तर, सबै सरकारले उनलाई पङ्गु बनाएका छन् । अहिले डाक्टर केसीका पक्षमा देशव्यापी आन्दोलनमा होमिएको कांग्रेसले नै सबैभन्दा धेरैपटक डा. केसीलाई झुक्याएको छ ।
सहमति कार्यान्वयन गर्न वर्तमान केपी शर्मा ओली नेतृत्वका दुईवटा सरकारमात्र होइन, अन्य पाँचवटा सरकारसमेत तयार भएनन् । कांग्रेसका दुई प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाको सरकारको पालामा मात्रै डा. केसी सातपटक अनसन बस्न बाध्य भएका छन् ।
२०६९ साल असार २१ गतेदेखि अनसन सुरु गरेका डा. केसी पहिलो र दोस्रोपटक अनसन बस्दा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । तेस्रो र चौथो अनसन खिलराज रेग्मी अनि पाचौं, छैटौं र सातौं अनसन सुशील कोइरालाको पालामा थियो ।
डा. केसी आठौं अनसन बस्दा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए । अहिले १५औं अनसन पनि उनै ओलीले खेपिरहेका छन् । डा. केसी नवौं र दशौंपटक अनसन बस्दा मुलुकको बागडोर पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा थियो । यस्तै, सबैभन्दा बढी अनसनको दबाब खेप्ने प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा थिए । उनले डा. केसीका एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसनको सामना गरे ।
डा. केसीको आठौं अनसनका माग पूरा गर्न सहमति गरेका प्रधानमन्त्री ओली यतिखेर दुई तिहाईको दम्भले थिचिएका छन् । अहिले १५औं अनसनका क्रममा चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलित केसीविरुद्ध खनिनुको मुख्य कारण यही पनि हुनसक्छ । सरकारले डा. केसी कसैको लहडका भरमा अनसन बसेको टिप्पणी गरिरहेको छ ।
कतिपयले सरकारविरुद्ध डा. केसीलाई उचालिएको तर्क पनि गरिरहेका छन् । तर, गम्भीर प्रश्न के छ भने सत्तामा रहँदा सहमति गर्ने र पालना गर्न बेवास्ता गर्ने सबै राजनीतिक दलले सत्ताबाहिर रहँदा केसीको सत्याग्रहमाथि आन्दोलनको बाछिटा छर्ने गरेका छन् । विश्लेषकहरुले भने यसलाई डा. केसीको निष्ठामाथिको प्रहारका रुपमा लिएका छन् ।

प्रधानमन्त्री : डा. बाबुराम भट्टराई
स्वास्थमन्त्री : राजेन्द्र महतो
शिक्षामन्त्री : दीनानाथ शर्मा
२०६९ असार २१ देखि २४
२०६९ साउन २७ देखि भदौ १

खिलराज रेग्मी ‘मन्त्रिपरिषद्का अध्यक्ष’
स्वास्थमन्त्री : विद्याधर मल्लिक
शिक्षामन्त्री : महादेवप्रसाद पौडेल
२०७० पुस २७ देखि माघ १०
२०७० माघ २५ देखि फागुन ३

प्रधानमन्त्री : सुशील कोइराला
स्वास्थमन्त्री : खगराज अधिकारी
शिक्षामन्त्री : चित्रलेखा यादव
२०७१ फागुन ८ देखि १२
२०७२ भदौ ७ देखि २०
२०७२ असोज २ देखि १२

प्रधानमन्त्री : पुष्पकमल दाहाल ‘प्रचण्ड’
स्वास्थमन्त्री : गगन थापा
शिक्षामन्त्री : धनीराम पौडेल
२०७३ असोज १० देखि २२
२०७३ कात्तिक २८ देखि मंसिर १९

प्रधानमन्त्री : शेरबहादुर देउवा
स्वास्थमन्त्री : दिपक बोहरा
शिक्षामन्त्री : गोपालमान श्रेष्ठ
२०७४ साउन ९ देखि ३१
२०७४ असोज ९ देखि ११
२०७४ असोज १९ देखि कात्तिक १
२०७४ पुस २४ देखि ३०

प्रधानमन्त्री : केपी शर्मा ओली
स्वास्थमन्त्री : रामजनम चौधरी ‘आठौं अनसन’
स्वास्थमन्त्री : उपेन्द्र यादव ‘पन्ध्रौं अनसन’
शिक्षामान्त्री : गिरिराजमणि पोखरेल
२०७३ असार २६ देखि साउन १०
२०७५ असार १६ असारदेखि जारी
प्रकाशित समय १९:१९ बजे

















