गृहपृष्ठ दुवै खनालको काँधमा प्रहरी संगठनको नेतृत्व, रमेश खरेल राजीनामा दिंदै
दुवै खनालको काँधमा प्रहरी संगठनको नेतृत्व, रमेश खरेल राजीनामा दिंदै
काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीले बुधबार नयाँ नेतृत्व पाएका छन्। नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल आइजिपीमा नियुक्त भएका हुन्।
नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले अहिलेकै प्रहरी नियमावली अनुसार २२ महिना संगठनको नेतृत्व सम्हाल्नेछन्। उनी २०४६ साल माघ २९ गते इन्सपेक्टर पदबाट प्रहरी सेवामा भर्ना भएका हुन्। प्रहरी नियमावलीमा ३० वर्षमा अनिवार्य अवकाशको प्रावधान छ। सो अनुसार २०७६ साल माघ २९ गतेसम्म उनी आइजिपी हुनेछन्।
सशस्त्र प्रहरीका महानिरीक्षकमा नियुक्त भएका शैलेन्द्र खनालले भने ४ वर्ष संगठन चलाउनेछन्। उनी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीमा इन्सपेक्टरबाट भर्ना भएका हुन्। उनी २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा सशस्त्रमा स्थानान्तरण भएका थिए।
के के काम गरे सर्वेन्द्र खनालले ?
प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए।
प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन्। महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट अवकास पाउँदैछन्।
प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धी थिए। २०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए। नेपाली फुटबल इतिहासमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी लगायतलाई कानूनी कठघरमा ल्याएका थिए।
अपराध महाशाखाको जिम्मेवारी सम्हालेको हप्तादिनमै उनले सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई जगदीश चन्दलाई पक्राउ गरे। २०६० सालमा ललितपुरको एकै परिवारको ५ जनालाई हत्या गरेर फरार भएका चन्द्रबहादुर पहारीलाई उनले नियन्त्रणमा लिएका थिए।
नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्नेहरुलाई पक्राउ, गरे। यूनीटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुलाई विष्णुबहादुर र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गर्न सफल भएका थिए।
नेपाल प्रहरीको प्रवक्ता हुँदै उनी महानगरीय ट्राफिक प्रहरी प्रमुखमा कार्यरत थिए।
नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेर करिअर सुरु गरेका थिए।
सहब्याची रमेश खरेलद्वारा राजीनामा दिंदै
सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । उनले भने, “आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । बुधबारदेखि बिदा हुँदै छु । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु । म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।”
प्रकाशित समय ०८:१४ बजे

















