गृहपृष्ठ पर्यटकको चहलपहलसँगै सडकको स्तरोन्नति
पर्यटकको चहलपहलसँगै सडकको स्तरोन्नति
पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सडकको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा कच्ची सडक पुगेको छ ।
सडकको स्तरोन्नति भए १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने देखिन्छ भने कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दूरी घट्ने देखिन्छ । दैलेख र कालीकोटको सिमानासम्मका लागि सहज यातायात सुविधा प्रदान गर्न १० वर्षअघि यो पर्यटकीय सडकको निर्माण सुरु गरिएको हो । पर्यटकीय गन्तव्य मानिएको कच्ची सडक अबका केही वर्षमै ४ हजार २ सय मिटर उचाइमा रहेको माहाबुधाममै पुर्याएर छोड्ने योजनाका साथ निरन्तर लागिरहेको प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताए ।
तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालन भएको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दैलेखदेखि महाबुसम्मको ४२ किलोमिटर सडक निर्माण कार्यका लागि करिब १० करोड रुपैयाँ खर्च भइसकेको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ ।
अहिले कच्ची सडकमार्फत दैलेखदेखि कालीकोटको गाल्जेसम्म यात्रा गर्न सकिन्छ । साना जिप र ट्रयाक्टर आवतजावत हुने गरेका छन् । कच्ची सडकमा धेरैजसो रातो माटो भएकाले सामान्य पानी पर्दा पनि सवारी साधन चिप्लने समस्याले यो सडकमा यात्र गर्ने पर्यटक र यात्रुहरूले निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता भए पनि यो वर्षबाट सरकारले सडकको स्तरोन्नति गर्ने भएपछि यहाँको व्यापार व्यवसायमा समेत निकै सकारात्मक प्रभाव पर्ने दैलेख उद्योग वाणिज्य संघले जनाएको छ ।
नेपाल सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेशको सुर्खेत-दैलेख सदरमुकाम महाबुलेक कालीकोट जुम्ला, हुम्ला, मुगु हुँदै चीनको नाकासम्म जोड्ने त्रिदेशीय सडकका लागि यो वर्ष विनियोजन भएको ५२ करोड रुपैयाँमध्ये दैलेखको काँडाचौरबाट सडक स्तरोन्नतिको काम सुरु हुने प्रदेशसभा सदस्य अमरबहादुर थापाले जानकारी दिए । यसका लागि आफू लगातार मन्त्रालयसँग समन्वय गरिरहेको र यो विनियोजित योजना भित्र्याएका केही समयभित्र ठेक्का खोल्ने जानकारी थापाले दिए ।
दैलेख र कालीकोटको सिमानाको महाबु सडकको स्तरोन्नति भए ४ हजार २ सय मिटर अग्लो स्थानमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमहाबु धामको सुन्दरता हेर्न सबै सिजनमा पर्यटकको आगमन हुने देखिन्छ । हरियाली फाँट भएकाले पाटनमा भेडा चरनसँगै विभिन्न जातका जडीबुटीको उत्पादनबाट स्थानीयवासीले मनग्ये आम्दानी लिन सक्ने जिल्ला समन्वय समिति दैलेखका प्रेमबहादुर थापाले जानकारी दिए ।
दैलेख सदरमुकाम महाबु र कालीकोटको गाल्जे हुँदै जुम्ला जोडिन सके अहिले कर्णाली राजमार्गको जोखिम घट्नुका साथै ७९ किलोमिटर सडक छोटो हुने थियो । सडक छोटिँदा सबैको समय र आर्थिक बचत हुने देखिन्छ । पर्यटक दिनप्रतिदिन बढ्दै गएकाले यो सडकको स्तरोन्नति छिटो हुनुपर्ने देखिन्छ । (रासस)
प्रकाशित समय १५:४९ बजे
















