गृहपृष्ठ भिमादको वातावरणमैत्री नमुना गाउँ सखेपमा चिस्यान केन्द्र निर्माण

भिमादको वातावरणमैत्री नमुना गाउँ सखेपमा चिस्यान केन्द्र निर्माण

मुख्यमन्त्री वातावरणमैत्री नमुना गाउँका रुपमा छनोट भएको जिल्लाको भिमाद नगरपालिका-९ सखेपमा चिस्यान केन्द्र निर्माण गरिएको छ । गाउँमा उत्पादन भएका कृषिजन्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न चिस्यान केन्द्र निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १३ लाख ३७ हजार रुपैयाँ, भिमाद नगरपालिकाको ९६ हजार रुपैयाँ र स्थानीयवासीको श्रमदान गरी १८ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको मुख्यमन्त्री नमुना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार गाउँमा उत्पादित सुन्तला, तरकारी, अदुवालगायत कृषिजन्य सामग्री सुरक्षित रूपमा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।

चिस्यान केन्द्र निर्माण भएसँगै यहाँका कृषकहरु हर्षित भएका छन् । यहाँ वार्षिक करोडौँ मूल्यबराबरको सुन्तला उत्पादन हुने गरेको र उक्त सुन्तला चिस्यान केन्द्रमा भण्डारण गरेर किसानाले बेमौसममा बेच्न पाउने वडाध्यक्ष इमानबहादुर थापाले बताए । ‘चिस्यान केन्द्र निर्माणपछि किसानले बेमौसममा सुन्तला बिक्री गरी दोब्बर आम्दानी लिन सक्छन्,’ थापाले भने, ‘अदुवा, पिँडालु, आलुलगायत कृषिजन्य सामग्रीको बीउ संरक्षण गर्न पनि चिस्यान केन्द्रको आवश्यकता खड्किएको थियो ।’

सोही ठाउँस्थित शेराबेंसी आमा समूहका अध्यक्ष सुकमाया थापाले चिस्यान केन्द्र निर्माणपछि आलु उत्पादन गर्ने कृषकलाई राहत मिलेको जानकारी दिइन् । आमा समूहले गत वर्ष सामूहिक रुपमा उत्पादन गरेको आलु कम मूल्यमा बिक्री गर्नुपरेको जानकारी दिँदै उनले भनिन्, ‘कुहिने डरले प्रतिकिलो २० रुपैयाँमा आलु बेच्न बाध्य भयौँ, चिस्यान केन्द्रमा राखेर पछि बेच्न पाएको भए राम्रै आम्दानी हुन्थ्यो ।’

चिस्यान केन्द्र निर्माणसँगै यो वर्ष भने आलुको राम्रै मूल्य पाउने आशा गरिएको छ । ‘चिस्यान केन्द्रमा राखेर बेमौसममा बिक्री गर्दा राम्रै नाफा लिन सकिन्छ,’ थापाले भनिन् । भिमाद नगरपालिका-९ कै असपाङ्दीकी सुन्तला कृषक धनकुमारी आलेले यसअघि चिस्यान केन्द्र नहुँदा कम मूल्यमा नै सुन्तला बिक्री गर्नुपरेको गुनासो गरिन् ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँका रूपमा छनोट भएको यस गाउँमा  गण्डकी प्रदेश सरकारले गत वर्ष २५ लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त रकमबाट घाँसको बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधारलगायतका काम सम्पन्न भएको बताइएको छ । यहाँका १६१ घरधुरी नमुना कृषि गाउँमा आबद्ध छन् । (रासस)

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु