गृहपृष्ठ कलंकी-महाराजगन्ज सडक विस्तारको तयारी

कलंकी-महाराजगन्ज सडक विस्तारको तयारी

चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलंकी-महाराजगन्ज सडकमा तयारीको काम सुरु भएको छ । यस सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायत आवश्यक तयारीका काम भइरहेका छन् ।

चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम सुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो । उनले भने, ‘विभिन्न निकायसँगको समन्वयमा सडकको क्षेत्र खाली गराउन लागिएको हो ।’

सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको छ । झन्डै ४ सय पोल सारिएका प्रमुख थापाले बताए । उनका अनुसार विद्युत् प्राधिकरणले पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । उनले भने, ‘खानेपानीका पाइप सार्न हामीले रकम दिइसकेका छौँ, केयुकेएल ठेक्का सम्झौतामा गएको छ ।’

सडकको अधिकार क्षेत्रमा रहेका घरहरू हटाउन बाँकी छ । विभिन्न स्थानमा गरी २२ घर सडक निर्माण गर्ने स्थानमा रहेका प्रमुख थापाले बताए । सो घरको अधिग्रहणका लागि मूल्यांकनको काम भइरहेको छ । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण भएपछि नै हामीले उक्त स्थानमा काम गर्न पाउनेछौँ ।’

सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायतका संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुन सक्ने देखिएको छ । स्वयम्भू, ठूलो भर्‍याङ, महाराजगन्ज चोकलगायतका स्थानमा सडक छेउका संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर-कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका ररूपमा कलंकी-महाराजगन्ज सडक विस्तारमा चासो देखाएको थियो ।

भूकम्प पहिले नै कोटेश्वर-कलंकी सडक विस्तारको काम सुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युतका पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला समस्या निम्त्याएका कुरा पहिले सल्टाएर मात्रै काम सुरु गर्न चिनियाँ टोलीले चाहेको छ ।

उक्त सडकमा दुई ‘अन्डर पास’, प्रत्येक एकएक किलोमिटरमा अकासे-पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झन्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतसम्ममा सडक हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको हो । पहिलो चरणको विस्तार (कोटेश्वर-कलंकी) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर-कलंकी सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने प्रमुख थापाले बताए । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उनले भने, ‘पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।’

बालाजुचोकमा ‘ओभर पास’ र महाराजगन्ज चोकमा ‘अन्डर पास’  निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अन्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगन्ज चोकमा कलंकी चोकमा जस्तै अन्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको प्रमुख थापाले जानकारी दिए । बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक एक/एक किलोमिटर एउटा अकासे-पुल निर्माण हुने थापाले जानकारी दिए । जम्मा नौ अकासे-पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ । (रासस)

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु