गृहपृष्ठ राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा आयोग

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा आयोग

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदै छ ।

रिक्त सदस्यको पदपूर्ति गर्न संघीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रिय सभाको निर्वाचन सक्नुपर्नेछ ।’ राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पद भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । फागुन २० गते दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना छन् ।

राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा गरिनेछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रिय सभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् । (रासस)

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु