गृहपृष्ठ कर सत्ता परिवर्तनको औजार पनि हुनसक्छ : उपाध्यक्ष कँडेल
कर सत्ता परिवर्तनको औजार पनि हुनसक्छ : उपाध्यक्ष कँडेल
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले कर ‘संवेदनशील’ विषय भएकाले यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने बताएका छन् । कर सत्ता परिवर्तनको औजारका रुपमा समेत प्रयोग भएको उल्लेख गर्दै उपाध्यक्ष कँडेलले यसको प्रयोगमा विचार पुर्याउनुपर्ने बताएका हुन् ।
‘कर ज्यादै संवेदनशील विषय हो,’ जिल्ला समन्वय समिति सिन्धुलीले आयोजना गरेको अन्तक्र्रियामा कँडेलले भने, ‘यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारका रूपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।’ कर लगाएपछि जनतालाई सेवा दिनुपर्नेमा उनको जोड थियो ।
पछिल्लो समय स्थानीयत तहले अस्वाभाविक कर लिएको भन्दै चर्काे आलोचना भइरहेको छ । सोही कारण आम जनतामा संघीयताप्रति वितृष्णा बढ्दै गइरहेको सन्दर्भमा मुलुकको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय योजना आयोगका उपध्यक्षले यस्तो बताएका हुन् ।
स्थानीय तहले अस्वाभाविक कर लगाएको र त्यसको व्यापक आलोचना भइरहेकोप्रति संकेत गर्दै उपाध्यक्ष कँडेलले स्रोतसाधन कसरी जुटाउने, जनतालाई समस्या नपर्ने गरी कसरी कर निर्धारण गर्ने र देशलाई कस्तो बनाउने भन्ने कुरा स्थानीय तहको कार्यशैलीमा भर पर्ने बताए । उनले पर्याप्त अध्ययन र आधारविना हचुवाका भरमा कर लगाइँदा त्यसले मुलुकभर हंगामा मच्चाएको दावी गरे ।
सिन्धुलीमा निर्माण हुने ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण पनि गरेका कँडेलले ती आयोजना समयमै सुरु गरेर समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । त्यसक्रममा उनले सुनकोसी–मरिण डाइभर्सन, खुर्काेट–चियाबारी सुरुङमार्ग, मध्यपहाडी लोकमार्ग, हेटौंडा चतरा खण्डको अवलोकन गरेका थिए ।
उनले हेटौंडा–चतरा खण्डको मरिण खोलामा निर्मित ४ सय मिटर लामो पुलको उद्घाटन गर्दै तोकिएको समयभन्दा डेढ वर्षअगावै सम्पन्न भएकामा निर्माण कम्पनीलाई धन्यवाद दिए । त्यस्तै मरिणमा सुरु कृषि क्याम्पसको अवलोकन गर्दै सिन्धुली रणनीतिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे ।
प्रकाशित समय ०९:०२ बजे