गृहपृष्ठ बिमा समितिले भन्यो‑ सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउनुस्
बिमा समितिले भन्यो‑ सरकारी अस्पतालमा पीसीआर परीक्षण गराउनुस्
बिमा समितिले निजी स्वास्थ्य संस्थाको पीसीआर रिपोर्टका आधारमा कोरोना बिमा दाबी भुक्तानी गर्ने या नगर्ने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । बिमा समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा अर्थ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने गरी अनुदान व्यवस्थापन समिति गठन गरेको हो ।
निजी स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरिएको रिपोर्टमाथि प्रश्न उठाएको बिमा समितिले दाबी भुक्तानीका लागि दिइएका निवेदनको अध्ययनपछि बुझाइने प्रतिवेदनका आधारमा मात्र बिमितले भुक्तानी पाउने/नपाउने निर्णय हुने बताएको छ । कार्यकारी निर्देशक पौडेलले दिन त सबैलाई भुक्तानी दिइने तर दुरुपयोगको आशंका भएकाले अध्ययन गर्नुपर्ने देखिएको बताए । यद्यपि, निजी स्वास्थ्य संस्थाबाट दाबी भुक्तानीका लागि कतिवटा निवेदन परेको छ भन्नेमा स्वयं बिमा समिति जानकार छैन ।
छानबिन समिति गठन भएसँगै दाबी भुक्तानीमा ढिलाइ हुने निश्चित भएको छ । समितिले सरकारी स्वास्थ्य संस्थाको पीसीआर रिपोर्ट ल्याउनेलाई भने सात दिनभित्र दाबी भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
समितिले कोरोना बिमा मापदण्ड २०७७ को संशोधन प्रक्रिया अघि बढाउने विषयमा पनि सोही छानबिन समितिको सुझाव पर्खिने भएको छ । ‘मापदण्ड स्पष्ट नभएसम्मका लागि हामीले भोलि (भदौ २२)बाट कोरोना परीक्षण सरकारी अस्पतालमा मात्र गराउन अनुरोध गरेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘यो हाम्रो अनुरोधमात्र हो । मापदण्ड नबनेसम्म सरकारीमा परीक्षण गराउँदा दाबी भुक्तानीमा समस्या नहोस् भन्नका लागि यस्तो आग्रह गरेका हौँ ।’
यो पनि पढ्नुहोस्
कोरोना बिमाका विषयमा बिमा समितिबाटै अन्योल सिर्जना
प्रकाशित समय १६:४९ बजे



















