गृहपृष्ठ राष्ट्रिय बीमा संस्थान ५२औं वर्षमा प्रवेश
राष्ट्रिय बीमा संस्थान ५२औं वर्षमा प्रवेश
समयानुकूल प्रविधि र सेवा प्रवाहमा ध्यान केन्द्रित गर्नुस् : उपप्रधानमन्त्री पोखरेल
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५२औं वर्ष प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धlलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
प्रतिस्पर्धी बन्दै गएका बीमाका योजनालाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु संस्थानले आफूलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समयसापेक्ष अपडेटेड हुँदै अगाडि बढ्न आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफूलाई विकास गर्नुपर्नेमा पनि जोड दिए ।

नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकूल प्रविधिको विकास, संगठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रन आग्रह गरे ।
अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच वृद्धि र सुरक्षित बचतका लागि बीमा व्यवसायको माध्यमद्घारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिए । उनले संस्थान प्रतिस्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता वृद्धि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने र लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थानलाई आग्रह गरे । राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावका बाबजुद संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको बताए ।
राष्ट्रिय बिमा संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी १८ करोड १० लाख २० हजार छ । हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित छन् । यो वर्षबाट करिब तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा थप गरिएको छ ।
संस्थानले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेको छ भने १ अर्ब ५१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड छ । संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख सेयर पुँजी र दुई अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकास कम्पनीमा एक अर्ब सेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक सेयर लगानी गरेको छ ।
कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।
२०२४ साल पुस १ गते सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुरुप २०२५ साल पुस १ गते संस्थानमा परिणत भएको संस्थान शनिबार स्थापनाको ५१औं वर्ष पार गरी ५२औं वर्षमा प्रवेश गरेको हो । संस्थानमा सरकारको २७.७८, नेपाल राष्ट्र बैँकको ५५.५५ र नेपाल बैंकको १६.६७ प्रतिशत संस्थापक सेयर छ ।
प्रकाशित समय १६:४९ बजे

















