गृहपृष्ठ अर्थमन्त्री खतिवडा स्वदेश फिर्ता
अर्थमन्त्री खतिवडा स्वदेश फिर्ता
फाइल तस्बिर ।
अमेरिकाको वासिङ्टनमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई अर्थमन्त्री डा. युवराज खतिवडा आज स्वदेश फर्किएका छन् ।
बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, व्यापारमा संरक्षणवाद तथा भूराजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशीलताहरू र जलवायु परिवर्तनजस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवं अनिश्चितताको विषयमा छलफल भएको थियो ।
बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पारे । उनले यस क्षेत्रको निरन्तर आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तर्देशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड दिएका थिए ।
विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हाट्र्विक सेफर, चिफ इकोनोमिस्ट तथा नेपालको सहायता कार्यक्रम हेर्ने उच्च तहका पदाधिकारीहरु तथा Practice Manager हरु समेत सम्मिलित बैठकमा सहभागी हुँदै अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान विकासका चुनौतिहरु तथा अवसरको विषयमा चर्चा गरेका थिए ।
सो अवसरमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा भएको थियो । बैठकमा क्षेत्रगत नीति सुधारमा आधारित बजेट सहायता परिचालन बढाउन पर्यटन, उर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न बैंक समूहले काम सुरु गर्ने सम्झदारी भएको थियो ।
विश्व बैंकले नेपालमा सहायता सुरु गरेको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति र प्राथमिकताहरुको विषयमा समिक्षा तथा टिप्पणी गरेका थिए ।
प्रकाशित समय १६:२३ बजे

















