गृहपृष्ठ कर्णाली प्रदेश : उद्योग पर्यटनको पुँजीगत बजेट शून्य खर्च
कर्णाली प्रदेश : उद्योग पर्यटनको पुँजीगत बजेट शून्य खर्च
मन्त्री नन्दसिंह बुढा भन्छन्- दोस्रो चौमासिकमा ४५ प्रतिशत खर्च गर्छौं
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रथम चौमासिकमा विकास बजेट खर्च शून्य छ । चालूतर्फ बजेट खर्च भए पनि पुँजीगत खर्च भने मन्त्रालयले गर्न नसकेको हो ।
संरचना र कर्मचारी अभावका कारण आर्थिक वर्ष ०७६/०७७ को प्रथम चौमासिकमा बजेट खर्च गर्न नसकिएको मन्त्री नन्दसिंह बुढाले बताए । जनशक्ति अभावमा पुँजीगत खर्च गर्न नसकेको सामान्य जवाफ उनको छ । ‘मन्त्रालयमा कर्मचारी अभाव छ,’ उनले भने, ‘प्राविधिक कर्मचारी नहुँदा बजेट कार्यान्वयनमा चुनौती थपिएको छ ।’
प्रथम चौमासिकमा बजेट खर्च गर्न नसके पनि दोस्रो चौमासिकमा मुख्यमन्त्रीको निर्देशनबमोजिम ४५ प्रतिशत बजेट कार्यान्वयन गर्ने उनले दाबी गरे । काम गर्न सहजताका लागि १० वटै जिल्लामा संरचना निर्माण भएको मन्त्री बुढाले बताए । ‘दोस्रो चौमासिक चुनौतीपूर्ण छ,’ उनले थपे, ‘तर सबैभन्दा बढी बजेट कार्यान्वयन गर्ने तयारी हामीले गरेका छौं । मुख्यमन्त्रीको निर्देशनबमोजिम काम पनि गर्नुछ ।’
प्रथम चौमासिकमा केही क्रमागत बजेटको काम देखिए पनि संरचनाकै अभावमा पुँजीगत बजेट शून्य देखिएको उनले बताए । केही स्थानमा डिपिआर र सर्भेको काम थालनी भएको भन्दै मन्त्री बुढाले भुक्तानी दिन नपाएका कारण पनि खर्च नदेखिएको जानकारी गराए ।
मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले मन्त्रालयले कार्यालय प्रयोजनको लागि पुँजीगत खर्च गरेको बताए । ‘हामीले विकासे काम गर्न यो प्रथम चौमासिकमा सकेनौं,’ उनले भने, ‘कार्यालयमा आवश्यक पर्ने फर्निचर खरिददेखि मर्मत सम्भारमा केही बजेट खर्च भएको छ ।’
कार्यालयको प्रयोजनको खर्च पुँजीगतमा देखिए पनि विकासे काममा भने यो प्रथम चौमासिकमा बजेट खर्च नभएको उनले बताए । केही सानो रकम खर्च भए पनि समयमै भुक्तानी गर्न नपाएकाले खर्च नदेखिएको उनको भनाइ छ । गत वर्षको क्रमागत रकम यो आर्थिक वर्षको प्रथम चौमासिकमा खर्च भएको तर विकासे बजेट खर्च भने शून्य भएको उनले स्वीकार गरे ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष ०७६÷७७ मा विनियोजन भएको जम्मा बजेट २ अर्ब ४५ करोड ६ लाख ७८ हजार रुपैयाँमध्ये चालूतर्फ १ करोड ७० लाख ६७ हजार ४९६ रुपैयाँ खर्च भएको रोकायले जानकारी दिए । उनका अनुसार पुँजीगत तर्फ २० लाख ६ हजार २ सय ९७ रुपैयाँ खर्च भएको छ ।
पुँजीगततर्फको उक्त बजेट कार्यालयमा सामग्री र अघिल्लो वर्षको क्रमागतअन्तर्गतको बजेट रहेको रोकायले बताए । मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा विनियोजित बजेटको ४ प्रतिशत मात्रै खर्च गरेको छ ।
प्रकाशित समय ११:४४ बजे

















