गृहपृष्ठ पाम आयलको आयात-निर्यात व्यापारमा उच्च वृद्धि
पाम आयलको आयात-निर्यात व्यापारमा उच्च वृद्धि
चार महिनामा ७.४९ अर्बको पाम आयल आयात, ८.३७ अर्बको निर्यात, गत वर्षभरमा १०.३३ अर्बको निर्यात
नेपालको निर्यात व्यापारमा मुख्य हिस्सा ओगट्ने पाम आयलको आयात-निर्यात ह्वात्तै बढेको छ । भारतले मलेसियाबाट आयात रोकेपछि नेपाली व्यापारीले पाम आयल निर्यात बढाएका हुन् ।
गत आर्थिक वर्षभरमा १० अर्ब ३३ करोड ३० लाख ५१ हजार रुपैयाँको पाम आयल निर्यात भएकोमा चालू आवको पहिलो चार महिनामै ८ अर्ब ३६ करोड ८५ लाख ८ हजारको निर्यात भएको छ । गत वर्षको पहिलो चार महिनाको तुलनामा पाम आयल निर्यात ९३४.५ प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा ८० करोड ८९ लाख २२ हजार रुपैयाँको पाम आयल निर्यात भएको थियो ।
पाम आयल आयातको ग्राफ पनि निकै उकालो लागेको छ । गत वर्षभरमा ११ अर्ब ८६ करोड १८ लाख ९३ हजार रुपैयाँबराबरको कच्चा पाम आयल आयात भएकोमा चालू आवको पहिलो चार महिनामै ७ अर्ब ४९ करोड १९ लाख २२ हजार रुपैयाँबराबरको पाम आयल आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २००.३ प्रतिशत बढी हो । गत वर्षको पहिलो चार महिनामा २ अर्ब ४९ करोड ४८ लाख १३ हजार रुपैयाँको कच्चा पाम आयल आयात भएको थियो ।
नेपालमा उत्पादन नहुने पाम आयल विभिन्न देशबाट आयात गरी प्याकेजिङ गरी भारत निर्यात गर्ने गरिएको छ । गत चार महिनामा नेपालमा इन्डोनेसिया, मलेसिया, पपुवा न्यु गिनी, सिंगापुर र थाइल्यान्डबाट कच्चा पाम आयल आयात भएको छ । सबैभन्दा धेरै ७ अर्ब १२ करोड रुपैयाँबराबरको कच्चा पाम आयल आयात भएको भन्सार विभागको तथ्यांकका उल्लेख छ । मलेसियाबाट १८ करोड, पपुवा न्यु गिनीबाट १४ करोड र सिंगापुरबाट ३ करोड ४४ लाख रुपैयाँको कच्चा पाम आयल भित्रिएको छ । चीन, भारतसहित ती देशबाट प्रशोधित पाम आयल केही परिमाणमा आयात भएको छ ।
नेपालका लागि पाम आयलको निर्यातक राष्ट्र भारत मात्र हो । नेपालले चार महिनामा २ करोड ७१ लाख ५१ हजार रुपैयाँको कच्चा र ८ अर्ब ३६ करोड ८५ लाखको प्रशोधित पाम आयल भारत निकासी गरेको छ ।
विगतमा विदेशबाट आयात गरी वनस्पति घ्यु अत्यधिक निर्यात गरेपछि भारतले परिमाणात्मक बन्देज नै लगाएको थियो । कर सुविधाबाट फाइदा लिन व्यापारीले पाम आयलको निर्यात व्यापारमा नयाँ धन्दा सुरु गरेको अनुमान गरिएको छ ।
पाम आयलका फाइदा
पाम आयललाई नेपालीमा ताडीको तेल भनिन्छ । पाम आयल खानाले हर्मोन सन्तुलन हुन्छ र शरीरमा ऊर्जा पैदा हुन्छ । यो तेल आँखा र मुटुका लागि फाइदाजनक छ । क्यान्सर प्रतिरोधक र गर्भवतीका लागि फाइदाजनक पाम तेलमा भिटामिन ए, डी र ई पाइन्छ । उच्च रक्तचाप र कलेजोसम्बन्धी रोग हुनेले पाम तेल खान नहुने चिकित्सकहरु बताउँछन् । धेरै ततायो भने पाम तेल पचाउन गाह्रो पर्छ ।
यो पनि पढ्नुहोस्
निर्यात व्यापारमा नयाँ धन्धा : पाम आयल ल्याउँदै विदेश पठाउँदै
प्रकाशित समय १३:४५ बजे

















