गृहपृष्ठ चन्द्रको चामत्कारिक छलाङ

चन्द्रको चामत्कारिक छलाङ

chandra dhakal main

प्रगतिका कतिपय ग्राफहरु यति भिराला हुन्छन् कि फर्केर हेर्दा स्वयंलाई नै रिंगटा छुट्न सक्छ । यस्तै ग्राफ बनाउँदै उक्लिरहेका उद्यमी हुन् चन्द्रप्रसाद ढकाल । करिब २३ वर्षको अवधिमा उनको ग्राफ अध्ययन गर्ने हो भने ‘७५ डिग्री’ले उचालिएको महसुस हुन्छ । यसको एउटा कारण हो‑ उनको मिजासिलो र सरल व्यवहार ।

चन्द्र ढकालले राष्ट्रिय वाणिज्य बैंकको चौथो तहको जागिर छाडेर सन् १९९६ बाट कार्गो व्यवसाय सुरू गरेका थिए । सन् २००२ मा इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) को जिम्मेवारीसहित सुरु भएको व्यावसायिक यात्राले उनलाई माथि उचाल्यो ।

बागलुङको साविक अमलाचौर गाविसमा २०२२ साल असार ९ गते जन्मिएका ढकालको दुई दशकको उद्यम यात्राले थुप्रै आरोह­‑अवरोह पार गरिसकेको छ । तर उनको शैलीमा खासै ठूलो बदलाव आएको छैन । उनको कनेक्सनमा अप्रत्यासित वृद्धि भएको छ तर पुराना सम्बन्धलाई दिने भ्यालुमा कुनै फेरबदल आएको छैन । उनको पहुँच निकै माथिसम्म छ तर उनीसँग जोकोहीले सहज भेटघाट गर्न सक्छ अर्थात् उनी सरल र सहज छन् । उनको आम्दानीमा सयौ गुणा वृद्धि भइसकेको छ तर हरेक रुपैयाँको मूल्य राख्छन् ।

परिणामस्वरुप, नेपालकै सर्वाधिक ठूलो बैंकको अध्यक्ष बन्न सफल भएका छन् । क्षेत्रीय स्तरको ग्लोबल बैंक खोलेर २०६३ सालमा उनी वाणिज्य बैंक सञ्चालकका रूपमा अगाडि आएका हुन् । त्यसयता १० कम्पनीलाई उनले ग्लोबल आईएमईमा गाभिसकेका छन् । मंसिर २० गते शुक्रबार जनता बैंकलाई ग्लोबल आईएमई बैंकमा गाभ्दै चन्द्र ढकाल १९ अर्ब चुक्ता पुँजी भएको बैंकको अध्यक्ष बनेका छन् । जनता बैंक पनि अन्य ६ वटा वित्तीय संस्थालाई गाभेको कम्पनी हो ।

स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ । मर्जसँगै बैंकको कुल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । बैंकका ७७ जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटीएम, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर र विदेशमा प्रतिनिधि कार्यालय तीनवटा गरी कुल सञ्जाल ८३८ पुगेका छन् । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

बैंकको निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमईले कमर्ज एन्ड ट्रस्ट बैंकलाई सुरुमा आफूमा समाहित गरेको थियो । त्यसयता आईएमई फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्सलगायत एक दर्जन बैंक तथा वित्तीय संस्था ग्लोबल आईएमईमा गाभिइसकेका छन् ।

Chandra-Dhakal

जागिरलाई तिलाञ्जली

२०४५ सालमा चन्द्र ढकाल राष्ट्रिय वाणिज्य बैंकको चौथो तहका जागिरे थिए । सँगै उनले ठमेलमा कार्गो व्यवसाय चलाइरहेका थिए । सन् १९९६ तिर वाणिज्य बैंकको जागिर छाडेर उनी पूर्ण रुपमा व्यवसायमा होमिए । व्यवसायका सिलसिलामा उनी टोकियोमा आयोजित व्यापार मेलामा सहभागी हुन पुगे । नेपाल फर्किएको केही समयपछि उनी मलेसिया गए । मलेसियामा भर्खर रोजगारीको अवसर सुरु भएको थियो । उनलाई मलेसियामा रहेका नेपालीले कमाएको रकम सहज ढंगबाट नेपाल लैजाने उपाय फु‑यो । त्यसैको जगमा खुल्यो आईएमई । नेपालीहरू बिदेसिने क्रम बढेसँगै आईएमई पैसा पठाउने मुख्य माध्यमको रूपमा स्थापित हुँदै गयो ।

पहाडी जिल्ला बागलुङको सामान्य परिवारमा जन्मिएका ढकाल अहिले वित्तीय क्षेत्रमा जमिसकेका छन् । रेमिट्यान्स कम्पनीबाट उदाएका उनको सञ्जाल आईएमई ग्रुपको नामबाट सवारीसाधन बिक्री, जलविद्युत् उत्पादन, ट्राभल एन्ड टुर्स, बैंक, पर्यटन, औषधि, सूचना प्रविधि र व्यापारसम्म फैलिएको छ।

सफलताका सूत्र

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बिग मर्जर ल्याउने कुरा भइरहँदा नै ग्लोबल आईएमईको जनतासँग ‘अफेयर’ सुरू भइसकेको थियो । बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आईएमईले जनता बैंकसँग मर्ज गर्ने प्रस्ताव मौद्रिक नीति आउनुअघि नै बुझाए ।

chandra dai

चन्द्र ढकालमा सबैसँग राम्रो सम्बन्ध राख्नसक्ने क्षमता छ । अर्थात् सम्बन्ध स्थापित गर्न माहिर छन् । सकारात्मक सोच छ उनमा । सबैसँग नम्र भएर बोल्छन् । कसैलाई बिझाउँदैनन् । विवादमा आउन चाहँदैनन् । सरकारको नीति कार्यान्वयमा सहयोग गर्नुपर्छ भन्ने धारणा राख्छन् । यही विशेषताका कारण जनता बैंकसँगको मर्जर सफल भएको अधिकांश व्यवसायी बताउँछन् ।

सम्मान तथा आबद्धता

ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको छ । रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आईएमईले लगातार तीन पटक ठूला करदाताको रुपमा सम्मान पाएको छ ।

प्रवल जनसेवाश्री (चौथो) बाट सम्मानित ढकाल सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूत छन् । उनी लगानी बोर्डमा सदस्य छन् । ढकाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष हुन् भने रोजगारदाता परिषदका संयोजक हुन् ।

इन्टरनेसनल चेम्बर अफ कमर्स नेपालका उपाध्यक्ष पनि छन् । ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई ट्राभल्स एन्ड टुर्स प्रालि, माउन्ट पुमोरी एयर कार्गो प्रालि, सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालि, आईएमई अटोमोबाइल्स र आईएमई मोटर्स प्रालि, हिमालयन पावर पार्टनर र माउन्टेन इनर्जी लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेड ढकालको नेतृत्वमा सञ्चालित सफल कम्पनी हुन् ।

प्रकाशित समय २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु