गृहपृष्ठ पर्यटन प्रवर्द्धन गर्न माछा र चामल ‘जोन’ बनाइने

पर्यटन प्रवर्द्धन गर्न माछा र चामल ‘जोन’ बनाइने

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ ।

अंग्रेजी नयाँ वर्ष सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो । वडा नं १ घ्याङफेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरबेंसीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै सुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम चलाउन लागिएको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् ।

उनका अनुसार तादी खोलाको तालुकसेरीबाट आगामी पुस अन्तिममा २० हजार ट्राउट माछाका भुरा छाडेर हुर्किएपछि पर्यटकले आफैंले माछा मार्न पाउने व्यवस्था मिलाउने र त्यसको साथमा समुन्द्रफिनी चामलको खाना खुवाउन नयाँ स्वादमा पर्यटक लोभ्याउन लागिएको छ । ‘तालुकसेरीबाट तादी खोलामा छाडिएका भुरा माछा आफैँ हुर्किएर करिब १० महिनाको अवधिमा मिश्र भन्ज्याङदेखि समुटारसम्म पर्यटक आफैँले माछा मार्न पाउने सन्देश दिएर जिल्लामा पर्यटक भित्र्याउन लागिएको छ,’ उनले भने, ‘गाउँपालिकाले माछा र चामलमार्फत पर्यटकलाई नयाँ स्वाद दिने र धार्मिक तथा पर्यटकीयस्थलको प्रचारलाई पनि सँगसँगै अघि बढाउन आवश्यक तयारी थालिएको छ ।”

पर्यटन प्रवर्द्धन गर्न गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको संयोजकत्वमा समिति गठन गरेर नुवाकोटमा पर्यटक भित्र्याउन अन्य स्थानीयतहसँग समेत समन्वय गर्ने योजना बनाएको छ । अध्यक्ष तामाङका अनुसार समितिले दुप्चेश्वर महादेव, बच्छलादेवी, गाउँखर्कको मिनी-दुप्चेश्वरलगायत मुख्यमुख्य धार्मिक स्थल, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड पदमार्ग, घ्याङफेदीको घरवासमा बसेर तामाङ बस्ती, सागरकुण्ड, कुटुमसाङलगायत स्थलको प्रचारप्रसार गरेर भ्रमण वर्ष सफल बनाउन महत्व दिइएको छ । (रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु