गृहपृष्ठ हाम्रो अर्थतन्त्रले ठूलो लगानी मागिरहेको छ, त्यो ठूलो बैंकले दिनसक्छ : अर्थमन्त्री
हाम्रो अर्थतन्त्रले ठूलो लगानी मागिरहेको छ, त्यो ठूलो बैंकले दिनसक्छ : अर्थमन्त्री
‘१० वर्षअघि ४५ वटा बैंक बन्द गर्नुपर्ने अवस्थामा थिए’
खुसी लाग्यो तपाईंहरु ठूलो बैंक हुनुभयो । राष्ट्रिय वाणिज्य बैंकको खर्बमा निक्षेप हुँदा खुसी लागेको थियो । त्यसपछि अरु बैंक हुने बेलामा तपाईंहरु २ सय अर्बमाथिको बैंक हुनुभयो । ठूलो हुँदा राम्रै हुन्छ । बैंकहरु पहिले पहिले अग्ला अग्ला भवन बनाउँदैनथे अरे । अहिले किन यस्ता भवन बनाउन थालेछन् भनेर हेर्दा ठूला ठूला भवन बनाएर ठूलो हुन खोजेका होलान् भनेर लाग्थ्यो । विश्वमा तपाईंहरु जानुभयो भने एचएसबिसी, सिटी बैंक, एमएक्स, हङकङ सांघाई आदि बैंकका ठूला ठूला बिल्डिङ छन् । अनि आफ्नो आकारको भवन बनाएको होला भनेर ठान्थे मैले । ग्लोबल आइएमई बैंकको भवन त हेर्न पाएको छैन मैले । तर, ब्यालेन्स भने ठूलै भयो ।
ठूलो भवन पनि किन चाहिँदो रहेछ भनेर मैले पनि बुझ्न चाहेको थिएँ । मैले बुझ्दा बैंकको भवन ठूलो हुँदा निक्षेपकर्ताको विश्वास हुने रहेछ । यति ठूलो भवन छ, पैसा खाएर भाग्दैन होला, सम्पत्ति धेरै भएको छ भनेर निक्षेपकर्ताको विश्वास जित्नका लागि रहेछ । यो पनि निक्षेपकर्ताको मन जित्ने भएको हुँदा ठूलै भएको हो । धन्यवाद तथा शुभकामना ।
ठूलो हुँदैमा विश्वास जितिन्छ भन्ने होइन तर त्यसले एउटा आधार भने दिन्छ । त्यसै पनि ३ हजारभन्दा बढी कर्मचारी, लाखौंको संख्यामा सेयर होल्डरहरु, दोस्रो बजारबाट सेयर किन्नेसमेतले अनि त्यत्रो पुँजी भएको बैंकले विश्वास त बढाउने नै भयो । त्यो विश्वासको आधारमा तपाईंहरुले अझै स्रोत परिचालन गरेर ठूलो लगानी गर्नेसम्मको क्षमता विकास गर्नुहोस् । यो अवसरमा म तपाईंहरुलाई शुभकामना दिन चाहन्छु ।
बैंक मर्जरको परिस्थिति कसरी सिर्जना भयो भनेर एकपटक स्मरण गराउन चाहन्छु । २०६५/०६६ को बीचमा बैंकहरुको संख्या पर्याप्त थियो । केही बैंकहरुमा लाइन लाग्दै थिए । छिटो छिटो निक्षेप भित्रिने र केही वित्तीय संस्थाहरु मुद्दती निक्षेप राख्ने ग्राहकसँग हात जोड्दै थिए । कुनै बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु विभिन्न समस्यामा परेर भागदौडमै थिए । त्यसै बेलामा विश्व बैंकले नेपालमा अध्धयन गरेको थियो । त्यसबेला करिब ४५ वटा वित्तीय संस्था बन्द गर्नुपर्ने अवस्थामा छन्, ती बन्द गरेपछि मुलुकको वित्तीय प्रणाली स्थिर हुन्छ भन्ने प्रतिवेदन आयो । म राष्ट्र बैंकको गभर्नर हुँदा त्यो प्रतिवेदन मेरो हातमा परेको थियो । त्यस बेलामा ती ४५ वटा बैंक बन्द गरेको भए अहिले तपाईंहरुमध्ये कतिपय यहाँ देखिनु पनि हुने थिएन ।
मैले के भनेको थिएँ भने पहिला अरु उपचार खोजौं । त्यो भनेको मर्जर । बैंकहरु मर्जरमा गएनन् भने अरु उपचार पनि गर्नुपर्छ भनेँ । प्रारम्भिक उपचार नगरी अन्तिम उपचारमा जानु हुँदैन भन्ने भयो । ती संस्थाहरु कसैले राम्रो बनाएर लिएर जान्छ भने जानुहोस्, त्यसका लागि स्वेच्छिक मर्जर सबैभन्दा सजिलो हुन्छ भन्यौं । त्यही क्रममा अहिले वित्तीय संस्थाहरु मर्ज हुँदै आएका छन् ।
प्रतिस्पर्धा कोसँग गर्ने अथवा व्यावसायिक ज्ञान अभाव भएको अवस्थामा पनि बैंकको संस्थापक, प्रवर्धक, सञ्चालक हुन साथीहरुलाई मौका पनि दिइएको थियो । बैंक भनेको रहरले, घमण्डले, देखासिकी वा म पनि बैंक खोल्छु भनेर देखाउने भन्ने भावनाले चल्ने अवस्था हुँदैन । यसमा एउटा व्यावसायिक दक्षता चाहिन्छ ।
एउटा बैंकमा आर्थिक अनियमितता भयो भनेर सञ्चालक समितिका साथीहरु म कहाँ आउनु भयो । कसरी यस्तो भयो भनेर सोधेँ । बैंकका सिईओहरुले ल्याए, खुरुखुरु हस्ताक्षर गरियो । अन्तिममा उनीहरुले गलत पो गरेका रहेछन् भने । उहाँहरुलाई मैले सोधे, ‘अनि बैंक किन खोल्नु भयो त ?’ उहाँहरुले भन्नुभयो, ‘सबै साथीहरुले रहर गरे, खोलिहाल्यौं ।’ हामीले लगानी गर्यौं, अरुले नै चलाए भन्नुभयो । यद्यपि, अहिलेका यी दुई बैंककहरु त्यस्ता छैनन् । दुईवटै राम्रै चलेका बैंकहरु हुन् ।
राम्रै चलेका बैंकहरु एक आपसमा गाभिनुभएको छ, एकदम राम्रो कुरा हो । ठूलो बैंक हुँदाका केही प्रभाव पनि छन् । हाम्रो मुलुकको लगानीको आवश्यकता जुन हो, त्यो ठूला आयोजनामै हो । हाम्रो अर्थतन्त्रले पनि ठूलो लगानी मागिरहेको छ ।
कुनै बेला १० वटा बैंकहरुबाट अर्बौं रुपैयाँ जम्मा गर्न पनि कठिन थियो । दुई अर्ब पुँजी भएका बैंकमा २५ प्रतिशत रकम कुनै ठाउँमा लगानी गर्न चारवटा बैंकहरु मिल्नुपर्थ्यो । अहिले एउटै बैंकले कुनै उद्योग अघि बढाउन गाह्रो छैन । अहिले १०/१२ अर्बका आयोजनामा एउटै बैंकले कारोबार गर्न सक्ने स्थिति बनेको छ । यसले हाम्रो आर्थिक स्थितिलाई मजबुत बनाउँदै लगेको छ । हामी लगातार आर्थिक उच्च वृद्धिको बाटोमा छौं । अघिल्लो वर्षको तथ्यांकअनुसार अत्यन्त तीव्र आर्थिक विकास भएका मुलुकमध्ये एक नेपाल पनि हो । यो वर्ष झनै हामीले उच्च आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने छ । त्यसका लागि सानो लगानीले ठूलो हैसियत राख्न सक्दैन ।
पाँच वर्षसम्मका लागि ठूला परियोजनामा लगानी गर्नसकेमा अर्थतन्त्र मजबुत बन्दै जान्छ । त्यतातिर लाग्न हामीलाई ठूलो पुँजी चाहिन्छ । ठूला पुँजी भएका बैंक हामीलाई चाहिन्छ, जसले ठूलो पुँजी परिचालित गर्न सकुन् । बैंकले वैदेशिक पूँजी परिचालित गर्न सकुन् । अब तपाईंहरुले पनि हामी यति मिलियन डलरको बैंक हौं । हामीलाई ऋण देऊ, हामी तिर्न सक्छौं, हाम्रा योजना यस्ता छन् भनेर विदेशी पुँजी परिचालन गर्न सक्नुहुन्छ भन्ने मेरो बुझाइ हो । त्यो सोचेपछि दीर्घकालीन लगानी गर्न सकिन्छ ।
दोस्रो कुरा, तपाईंहरुले गर्न लागेको राम्रो काम के हो भने अहिले विभिन्न माध्यमबाट दीर्घकालीन लगानी अथवा मध्यकालीन लगानीका लागि स्रोत परिचालन गर्नु । यो राम्रो नीति हो ।
कुनैबेला यस्तो संस्था थियो, जुन बेला म सञ्चालकमा थिए । त्यसमा १३ प्रतिशत ऋण लिएर साढे १२ मा लगानी गरेँ, त्यो आज छैन । त्यो टिकेन । त्यसैले हामीले लगानीकर्ता र बचतकर्ताको बीचमा एकआपसमा सम्बन्ध बढाएर थोरै ब्याजदरमा लिएर अलि मात्र बढाएर लगानी गर्न सके संस्था पनि टिक्छ । सबै पक्षलाई लाभ हुन्छ ।
दुईवटा बैंकिङ संस्था एकआपसमा मिल्दा सबैलाई सहज पनि हुन्छ । ग्राहक थपिए पनि शाखा, सिइओलगायत दोब्बर हुने भन्ने हुँदैन । त्यो सबै सीमित हुन्छ । दोहोरो मर्का पर्दैन । तर, धेरै ठूलो भएर भद्दा पनि हुन्छ । धेरै भद्दा भए स्मार्ट नहुन सक्छ । मोटाउनलाई सजिलो छ, तौल घटाउनलाई गाह्रो पनि छ । अप्ठ्यारो नपर्ने गरी स्मार्ट बैंकिङ सेवा प्रदान गर्न सक्ने क्षमता विकास गर्न जरुरी छ । ठूलो भएको कारणले कर्मचारीतन्त्र लथालिंग, काम गर्ने वातावरण बिग्रने, बोर्डले सबैतिर हेर्न नसकिने, व्यवस्थापन पक्षले धेरैतिर हेर्न नसकिने, कर्मचारी चिन्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले खासखास ठाउँमा स्थायी कर्मचारीको व्यवस्था गर्नुहोस् । त्यो भएको कारणले कर्मचारीको मनोवृत्ति, मनोविज्ञान बुझेर काममा लगाउन सक्नुस् आशा छ । यसरी नै काम भएको होला ।
ठूला बैंकहरु एक भइरहँदा कर्मचारी तथा जनतासँग सहज तरिकाले भिज्ने काम नगरेमा साना व्यवसायी मर्ने र ठूला व्यवसायी झन् झन् ठूला हुँदै जाने अवस्था आउन सक्छ । त्यसलाई सन्तुलन गर्न सेवा संकुचन गर्न नपाइने भन्ने सोच बनाउनुपर्छ । मर्जरको नीति आइसकेपछि बैंकका शाखा सञ्जाल जुन तरिकाले बढ्यो त्यसले के देखाउँछ भने मर्जरले शाखा संकुचन हुने होइन रहेछ र दोस्रो कुरा मर्जरपछि ठूला व्यवसायीले मात्र ऋण पाउँछन् भन्ने कुरा पनि सत्य रहेनछ ।
ठूला व्यवसायीलाई व्यवसाय गर्न मात्र होइन, साना व्यवसायीलाई पनि कर्जा र सेवा प्रवाह गर्न थप सहज हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको बैंक चलाउन रहन नभएका, बाध्यताले, रहरले आएका साथीहरुलाई पनि मर्जर उन्मुक्ति पाउने राम्रो बाटो भएको छ । यो सबै बैंक मर्जरको विषयले गर्दा हो ।
एउटा तितो कुरा, कुनै बैंकमा आठौं तहमा रहेको व्यक्ति अर्को बैंकमा जाँदा त्यो भन्दा माथिल्लो तहको र अर्को बैंकमा जाँदा सिईओ भएको हुन्छ । एक ठाउँमा ५० हजार तलब खाने सिईओ अर्को ठाउँमा ३ लाख, ५ लाख तलब खाने हुँदै १० वर्षमा त १० गुणा नै तलब खाने भएर उदय भएपछि नेपालमा यति छिटोछिटो आम्दानी भएर धनी हुने भए त समृद्ध नेपाल सुखी नेपाली पोहोरपरार नै भइहाल्थ्यो नि । व्यक्ति समृद्ध भएर मात्रै मुलुक समृद्ध हुँदैन नि । व्यवसायी, लगानीकर्ता, निक्षेपकर्ता सबै समृद्ध हुनुपर्छ, त्यो सोच्ने कहिले ?
अहिले केही आर्थिक सूचकमा समग्र लगानीको अवस्था पनि सुध्रिँदै छ । हामीले जतासुकै गरेको लगानीको प्रतिफल नबढ्ला तर रेमिट्यान्सको कारणले बैंकका ग्राहकको संख्या बढ्दै गएको छ । सरकारले खर्च बढाउँदै छ । सरकारको कोषमा पैसा जम्मा भएर बैंकमा कमी नआओस् भनेर हामीले स्थानीय तहको कोष बैंकमै राख्ने वातावरण बनाएका छौं । ५० प्रतिशत बैंकमा जम्मा गर्ने गरेका छौं ।
मैले बैंकका साथीहरुसँग कुरा गरेको छु तपाईंहरु दुई वटा बिधिबाट अगाडि बढ्नुहोस् । कुनै एउटा दर फिक्स गर्नुहोस्, १०/५ वर्षका लागि । त्यो अहिलेको दरभन्दा माथि पनि हुनसक्छ । आवश्यक प¥यो भने तल पनि पर्न सक्छ । तर, एउटा निश्चित परिवर्तनीय ब्याजदर हुन्छ । त्यो बजारको मागअनुसार परिचालन हुन्छ ।
हाम्रो उद्देश्य बैंकलाई नाफा कमाउनका लागि मात्र होइन । यतिमात्र नाफा कमाउनुस् जो सबैलाई सुविधा देओस्, आकर्षण बैंकिङ प्रणाली कायम राख्न पर्याप्त होस् । त्यसका लागि तपाईंहरुले अस्वाभाविक फि, चार्ज लिइराख्नुपर्छ भन्ने मलाई लाग्दैन । ब्याजदर नै तपाईंहरुका लागि आकर्षक छ । बैंकहरु ग्राहकको अभिभावकत्व लिनुपर्ने र संरक्षण दिनुपर्ने संस्था हुन् भन्ने सोचेर काम गर्नु भयो भने तपाईंहरुलाई कुनै गुनासो आउँदैन । यो मर्जरले अरु ठूला बैंकहरुलाई मर्जर गर्न सहज पनि हुन्छ, यो एउटा उदाहरण बन्ने अपेक्षा छ ।
(अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार ग्लोबल आईएमई बैंकर जनता बैंक नेपालको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)
प्रकाशित समय १७:४६ बजे

















